काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि सुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन्।
फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन्।
शुभकामना सन्देशमा भनिएको छ, “फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको सात बुँदे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ। मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान गर्यो।”
फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गरेको गरेकाले समाजमा शान्ति कामय गर्न महत्वपूर्ण योगदान पुर्याएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ। यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन्।
समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो। किराँत धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्छन्। रासस