PahiloPost

May 15, 2025 | २ जेठ २०८२

वीरगंजको घडीअर्वामा छठको तयारी पुरा हुँदै, सुरक्षामा १५ वटा सिसिटिभी



राधेश्याम पटेल

वीरगंजको घडीअर्वामा छठको तयारी पुरा हुँदै, सुरक्षामा १५ वटा सिसिटिभी

वीरगंजः आउँदो मंगलवार परेको आस्थाको छठ पर्वको अवसर पारी आर्थिक नगरी वीरगंजको घडीअर्वा छठ घाट पोखरीको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरीको सजावटको काम आज बिहान ११ बजे सम्म ८० प्रतिशत तथा भोलि साँझसम्ममा सकिने छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानुले बताए।

२०५६ देखि सञ्चालनमा आएको करिब ३ बिघा क्षेत्रको पोखरीको किनार तथा सूर्य मन्दिरलाई सिँगार्ने काम तीव्र रूपमा भइरहेको उनले बताए। १० हजार व्रतालु एवं १ लाख ४० हजार श्रद्धालु भक्तजन आउने अनुमान गरिएको पोखरीको सजावटको काममा यस वर्ष गत वर्षभन्दा अढाई लाख रुपैयाँ बढी खर्च गरिएको बताए। गत वर्ष १३ लाखको हाराहारीमा खर्च भएको थियो भने यस वर्ष १५ लाख भन्दा बढीको खर्च हुने जनाइएको छ। 

‘दिनप्रतिदिन सजावटको दाम र डिजाइन फरक पर्दै आएकोले यस वर्ष थप आकर्षक बनाउन अढाई लाख बढी खर्च परेको छ,’ अध्यक्ष कानुले भने, ‘यसपाली सुरक्षा प्रबन्ध पनि थप प्रभावकारी बनाउने योजना छ।’


सुरक्षा उपसमितिका संयोजक प्रभाकर गुप्ताकाअनुसार यस वर्ष ६० जना सशस्त्र, ५० जना नेपाल प्रहरी एवं डेढ सय जना तीन वटा क्लबका स्वयंसेवक गरी अढाई सय जना सुरक्षाकर्मी परिचालन गरिने तयारी छ। साथै पोखरीको चार वटा गेटमा २÷२ वटा का दरले ८ वटा र बाहिर भित्र थप ७ वटा गरी १५ वटा सिसिटिभी क्यामेराको बन्दोबस्त मिलाइएको छ। सझिया घाटे र विहनीया घाटेको ४÷५ घण्टाको लागि पोखरीमा प्रवेश र निकास द्वारमा पनि सुरक्षा प्रबन्ध चुस्त पार्ने तयारी रहेको छ। 


घडीअर्वा स्पोर्टस क्लब, अशोकवाटिका युथ क्लब र राधेमाई युवा क्लबका गरी डेढ सय जना स्वयमसेवकहरु खटाइने छ। पूजा व्यवस्थापन समितिले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने कार्यक्रम छ। यसैवीच, छठ पर्वको सामग्री खरिदबिक्रीको लागि वीरगंजको माइस्थान, घण्टाघर चोकमा व्रतालु भक्तजनको घुइँचो लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell