PahiloPost

Jan 7, 2026 | २३ पुष २०८२

ओलम्पिक छनोट : बंगलादेशसँग महत्वपूर्ण खेल खेल्दै नेपाल, जित हात पारे दोस्रो चरणमा!



पहिलोपोस्ट

ओलम्पिक छनोट : बंगलादेशसँग महत्वपूर्ण खेल खेल्दै नेपाल, जित हात पारे दोस्रो चरणमा!

काठमाडौँ : पहिलो पटक ओलम्पिक फुटबलको छनोट प्रतियोगितामा सहभागिता जनाएको नेपालले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गर्‍यो। यद्यपी दुवै खेलमा नेपालले अग्रता लिएर पनि बराबरीमा चित्त बुझाउनुपर्‍यो।

सन् २०२० मा जापानमा हुने ओलम्पिकको महिला फुटबल अन्तर्गत एसियन जोनको पहिलो चरणको छनोटमा प्रतिस्पर्धा गरेको नेपालले भारत र घरेलु ६ली म्यानमारसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

दुइवटै खेलमा नेपालले सुरुमै अग्रता बनाएपनि पहिलो हाफमै गोल खाएको थियो।

दुई खेल बराबरीपछि नेपालले २ अंक मात्र जोडेको छ। घरेलु टोली म्यानमार र भारतले अपराजित रहँदै समान ४ अंक जोडेका छन्। दुवै टोलीले नेपालसाग बराबरी खेलेको थियो भने बंगलादेशलाई पराजित गरेको थियो।

समूह सी अन्तर्गत अन्तिम दुई खेल मंगलवार हुँदैछन्। दुवै खेल नेपालको लागि महत्वपूर्ण रहेको छ। नेपालले बंगलादेशसँग खेल्दैछ भने भारत र म्यानमारबीच भिडन्त हुनेछ। नेपाल र बंगलादेशबीचको खेल स्थानिय समयअनुसार दिउँसो ३ बजे र म्यानमार र भारत विरुद्धको खेल बेलुका ६ बजे हुनेछ।

भारत र म्यानमार समूहको शीर्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्ने होडमा रहेको छ भने नेपाल पनि बंगलादेशलाई हराएर शीर्ष दुईमा पर्दै सिधै दोस्रो चरण पुग्ने दाउमा छ।

लगातार दुई बराबरी खेलेपछि नेपालको दोस्रो चरण पुग्ने सम्भावना भने अझै बाँकी छ। अन्तिम खेलमा नेपालले बंगलादेशलाई फराकिलो गोल अन्तरमा पराजित गर्ने अनी म्यानमार र भारतबीचको खेल बराबरीमा सकिए नेपाल समूह विजेता नै हुने सम्भावना भने बाँकी नै छ।

यदी अर्को खेलमा भारत/म्यानमार विजयी हुने र नेपाल पनि विजयी भएमा भारत/म्यानमार पहिलो र नेपाल दोस्रो हुनेछ। यस्तो भए नेपाल उत्कृष्ट दुईभित्र पर्दै दोस्रो चरणमा पुग्नेछ।

यस्तै नेपालले बंगलादेशसँग बराबरी खेलेमा तेस्रो हुनेछ र तेस्रो मध्ये उत्कृष्टमा पर्दै दोस्रो चरण पुग्ने सम्भावना बाँकी नै रहनेछ।

 

एसियाबाट ओलम्पिकमा दुई टिम छनोट हुनेछन्

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक छनोटअन्तर्गत एसियाली क्षेत्रको पहिलो चरणको छनोटमा सहभागी कूल १८ देशलाई ४ समूहमा विभाजन गरिएको छ। चार समूहका विजेता र उपविजेता गरी ८ अनी तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणका लागि छनोट हुनेछन्।

भियतानाम र उज्जेकिस्तान भने उत्कृष्ट वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन्। यी दुईसँगै पहिलो चरणबाट छानिएका १० टोलीले दोस्रो चरण खेल्नेछन्।

दोस्रो चरणमा छनोट भएका १२ टोलीलाई तीन समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ। दोस्रो चरणका खेलहरु सन् २०१९ अप्रिलमा हुनेछ।

तीन वटै समूहको शीर्ष स्थानमा रहने टोली तेस्रो चरणमा पुग्नेछ। उच्च वरियतामा रहेका अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरिया तेस्रो चरणमा छनोट भइसकेका छन्।

यी पाँच र दवस्रो चरणको उत्कृष्ट तीन गरी आठ टोलीबीच तेस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।

यी आठ टिमलाई पुन: दुई समूहमा विभाजन गरेर खेलाइनेछ र दुवै टोलीको पहिलो र दोस्रो हुने टिमले चौथो तथा अन्तिम चरणमा स्थान बनाउनेछन्।

अन्तिम चरणका खेलहरु होम एण्ड अवे प्रणालीमा खेलाइनेछ। त्यसबाट विजयी हुने दुई टोली सन् २०२० मा टोकियोमा हुने ओलम्पिकका लागि छनोट हुनेछन्। जापान भने आयोजकको हैसियतमा ओलम्पिकका लागि छनोट भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell