PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

अझै बनेन कर्णाली प्रदेश केन्द्रको नमुना बसपार्क :  साँघुरो बसपार्कमा सास्ती खेप्दै सेवाग्राही



पी बी खड्का

अझै बनेन कर्णाली प्रदेश केन्द्रको नमुना बसपार्क :  साँघुरो बसपार्कमा सास्ती खेप्दै सेवाग्राही
फोटो: प्रदेश राजधानी सुर्खेतमा निर्माणाधीन सिटी बसपार्क र अस्थायी बसपार्क।

सुर्खेत: प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन सिटी बसपार्कको काम सुस्ताउँदा अस्थायी बसपार्कमा यात्रुले सास्ती खेप्दै आएका छन्। प्रदेशको प्रवेशद्वार वीरेन्द्रनगरमा निर्माणाधीन नमुना सिटी बसपार्क कामको सम्झौता मिति भन्दा झण्डै डेढ वर्ष नाघिसक्दासमेत अझै पुरा हुन सकेको छैन। 

सिटी बसपार्कको निर्माण कार्य हालसम्म करिव ८० प्रतिशत काम पूरा भएको निर्माण कम्पनी चाङ्मिला÷नरसिंह जेभीले जनाएको छ। विविध समस्याले आवश्यक सामग्री ढुवानी गर्न समस्या देखाउँदै काममा ढिलाई गरेको जेभीको दाबी छ। ठेकेदार नरसिंह धामीले भने अहिले उपत्यकामा विकास निर्माणको लहर चलेको बताउँदै फोरलेन सडक, हटलाईन जस्ता कामले निर्माण कार्यले ढिलाई भएको बताए। 

‘अहिले उपत्यकामा विकासको लहर चलेको छ। हटलाइन, फोरलेन सडक जसले हाम्रो काममा पनि असर गरेको छ,’ उनले भने,‘निर्माण जति सक्यो छिटो पुरा गरी नगरपालिकालाई हस्तान्तरण गर्ने गरी लागेका छौँ। अधिकांश काम सकिसकेको छ। अबको एक महिनामा सक्ने गरी काम गरिरहेका छौँ।’

बसपार्क निर्माणको ठेक्का सम्झौता २०७२ को माघमा नगर विकास समितिसँग भएको थियो। भ्याटबाहेक ६ करोड ८३ लाखमा जेभीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौता भए लगत्तै कम्पनीले निर्माण कार्य सुरु गरेको थियो। 

चाङमिलाले निर्माण पूरा गरी ०७४ असार मसान्तमा हस्तान्तरण गर्ने सम्झौता गरेको थियो। काम नसकिएपछि कम्पनीको ०७४ असोजमा सम्पन्न गर्ने लक्ष्य थियो। तर, अहिलेसम्म काम अलपत्र जस्तै छ। 

बसपार्क क्षेत्रमा ५६ वटा सटरको अस्थायी टहरा बनाइएको छ। यात्रुलाई बस्न बेग्ला बेग्लै टर्मिनल, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, शौचालय निर्माण भइसकेका छन्। निर्माणाधीन बसपार्ककाको क्षमता भने ९० वटा ठुला बस र २० वटा मिनी बस अट्न सक्ने छ। बसपार्कको क्षेत्रफल करिव ४ हजार ५ सय वर्ग मिटर रहेको छ।
 
यता, वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जति सक्यो छिटो निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरेको बताईन्। ‘दशैँ अगाडि नै सक्ने हाम्रो लक्ष्य थियो तर, अझै सम्भव भएन, सम्झौता मिति सकिएर पनि करिव डेढ वर्ष पुग्यो।’ उनले भनिन्,‘हामीले निर्माण कम्पनीलाई पटक पटक भनेकै छौँ काम छिटो सक्नु पर्‍यो भनेर। आशा गरौँ अब करिव एक महिनाभित्र काम सकेर जति सक्यो छिटो बसपार्क सञ्चालन गर्ने प्रक्रियामा लागि रहेका छौँ।’

साँघुरो बसपार्कले सास्ती

वीरेन्द्रनगरको मुख्य बजारको मंगलगढी चोकमा भएको अस्थायी बसपार्कमा चालकदेखि पैदलयात्रुले हैरानी खेपिरहेका छन्। अस्थायी बसपार्कमा गाडी पार्किङको समस्या छ भने, यात्रुलाई समेत कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ। पछिल्लो समय बढ्दै गएको सवारी साधनको चाप र सर्वसाधारणको चापले साँघुरो बसपार्क खचाखच भरीभराउ हुने गरेको छ। यसरी सवारी र यात्रुको चापले बजारको मुख्य चोक नै अस्तव्यस्त बनेको छ। 

बसपार्कमा भेटिएका चालक यामु शाहीले पार्किङ नहुँदा निकै समस्या भएको बताउँछन्। ‘बसपार्क सानो छ । ८/१० वटा गाडी राख्यो भने राख्ने ठाउँ नै हुँदैन,’ उनले भने,‘छेउछाउका सडकमा राख्दै आएका छौँ। अहिले धुलो धुँवा र वर्षातमा हिलोले निकै समस्या बनाएको छ।’

फेरि थपे,‘गाडीको भिडभाड भएर गाडी तर्काउनै समस्या हुन्छ। बसपार्कमा आवतजावत गर्ने पैदल यात्रु उत्तिकै हुन्छन्।’

बसपार्क जति सक्यो छिटो बने गाडी चालकदेखि यात्रुलाई सहज हुने उनी बताउँछन्। ‘बसपार्क छिटो बने सबैलाई सजिलो हुने थियो।’ उनले भने,‘बसपार्क फराकिलो भए दुर्घटनाको जोखिम पनि कम हुन्छ।’

त्यस्तै, कांक्रेविहार यातायात व्यवसायी संघ सुर्खेतका सचिव रमेश सापकोटाले अहिले अस्थायी बसपार्कमा गाडी व्यवसायीले निकै दुःख भोग्नुपरेको दुखेसो पोखे। ‘बसपार्क व्यवस्थित भएको भए व्यवसायीले गाडी ढुक्क भएर चलाउन पनि सजिलो हुन्छ। अहिले डराई डराई गाडी चलाउनु पर्ने बाध्यता छ।’ उनले भने,‘दुर्घटना हुने जोखिम छ एका तिर भने गाडीका ऐना फुट्छन्, गाडीभित्र बाहिर गर्दा समेत गाडी ठोक्किने हुन्छ। बसपार्क साँघुरो हुँदा निकै समस्या भएको छ।’

अब निर्माणाधिन सिटी बसपार्क निर्माण कार्य सकेर छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने उनी बताउँछन्। ‘बसपार्क बनाउने धेरै काम भइसकेको छ। अव बाँकी काम छिटो भन्दा छिटो सकेर सञ्चालनमा ल्याउन सरोकारवाला लाग्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell