PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

किरातीको चियापानका आकर्षण मोहन वैद्य, 'प्रचण्डले बिचल्ली पारेकालाई जम्मा पार्दैछौं'



विधुर ढकाल

किरातीको चियापानका आकर्षण मोहन वैद्य, 'प्रचण्डले बिचल्ली पारेकालाई जम्मा पार्दैछौं'

काठमाडौं: मंगलवार नेकपा (माओवादी केन्द्र) दशैंतिहार, छठसहितका नेपाली पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्‍यो। प्रचण्डसहितको मुल नेतृत्व नेकपा एमालेसँग एकीकरण गर्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) गठन गरेर गएपछि पार्टीलाई पुनःगठन गरेका गोपाल किरातीले आयोजना गरेको कार्यक्रमका मुख्य आकर्षक भने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ बने।

कार्यक्रमका उपस्थित अन्य साना राजनीतिक दलका नेताहरुले ‘किरण’ सत्ता बाहिर रहेका क्रान्तिकारी कम्युनिस्टहरुलाई एकता गरी नेतृत्व गर्न आग्रह गरे।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै किरातीले भने, ‘किरण माओवादी आन्दोलनका अग्रणी अभिभावक हुनुहुन्छ। विप्लवजी पनि माओवादी आन्दोलनका हामी भन्दा अग्रज हुनुहुन्छ यो माओवादी आन्दोलन लाई एकतावद्ध बनाउन पहल गर्न आग्रह गर्दछु,’ उनले यति भन्दा हलमा उपस्थित कार्यकर्ताले ताली पिटे।

किरातीले विचार, भावना र इतिहासको निरन्तरताको लागि माओवादी केन्द्रको पुनःगठन गर्नु परेको बताए।

‘प्रचण्डले क्रान्तिलाई विसर्जन गरे। प्रचण्ड बनाउन योगदान दिएको माओवाद छाडेर नाम बदलिएको एमालेमा विलय भए। हामी त्यहाँ जान नचाहेर माओवादी केन्द्र पुनःगठन गर्यौँ,’ उनले भने, ‘जनयुद्धका शहीद घाइते अपांगलाई माओवाद छाडेपछि के जवाफ दिने? हिजो राजनीतिमा इतिहास नभएका मानिसहरु लागेर हामीले राजनीतिक परिवर्तन गर्यौ। हामी राजनीतिक ईतिहास नभएकाले परिवर्तन ल्याएको इतिहास त्याग्न सक्दैनौं।’

किरातीले माओवादका विरोधी जसरी जुटे जस्तै माओवाद मान्नेहरु पनि  जुट्न जरुरी रहेको बताए। ‘वैद्य विप्लवसँग छलफल भईरहेको छ। प्रचण्डले विचल्लि बनाएको संगठनलाई जुटाउँदै छौँ,’ उनले भने।

कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य पदम राईले वैद्यको नेतृत्वमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरु एक जुट हुनुपर्ने बताए। ‘मैले किरातीजीलाई पनि यो भनेको छु। किरणजी पनि यहीँ हुनुहुन्छ। देशलाई सच्चा कम्युनिस्टको आवश्यकता छ,’ उनले भने, ‘किरणजीको नेतृत्वमा सरकार बाहिर रहेका कम्युनिस्टहरु एक हुनुस्।’

कार्यक्रममा बोल्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिले पनि जनताले कम्युनिस्टहरुको एकता चाहेको भन्दै मुल नेतृत्वले पहलकदमी लिनुपर्ने बताए। उनले त्यसका लागि किरणलाई आग्रह गरे।

हामी एकीकरणको अभियानमा छौँ : किरण

यसैबीच क्रान्तिकारी माओवादीको महासचिव किरणले सरकार बाहिर रहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकीकरणका लागि छलफल भइरहेको बताए।

‘हाल सत्तामा रहेका आफूलाई कम्युनिस्ट भन्नेहरुले कम्युनिस्टलाई बदनाम गरेका छन्,’ उनले भने, ‘हामीलाई पनि यसले गाह्रो परेको छ। जनतामा कम्युनिस्ट भनेका यस्तै हुन भन्ने परेको छ। यसलाई चिर्नुछ। हामी एकताका लागि छलफलमा छौँ। तत्कालै एकता भईहाल्छ भन्ने पनि होइन।’

उनले तत्काल छलफल गर्दै मुद्दा मिल्ले विषयमा कार्यगत एकता गर्दै अगाडि बढ्नुपर्ने बताए। ‘हामीले एक हुने अभियान सुरु गर्नुपर्छ। यसका लागि छलफल चलरिहेको छ।’

अहिले ‘कम्युनिस्ट’हरु सरकारमा रहेको अवस्थामा जनताको अवस्था झन विग्रिएको बताए। ‘कम्युनिस्टहरु सरकारमा छन्। त्यो पनि दुई तिहाईको। तर काम भने केही भएको होइन्,’ उनले भने, ‘उनीहरु कम्युनिस्ट नै होइनन्। उनीहरुले कम्युनिस्टको बदनाम नै गरे।’

चुनावपछि नेपालमा कम्युनिस्टको नाममा विगविगी बढ्यो–सिपी मैनाली

यसैबीच नेकपा मालेका महासचिव सिपी मैनालीले चुनावपछि देशमा कम्युनिस्टको नाममा विगविगी बढेको बताए।

‘बाम गठबन्धन बन्यो आकर्षक नारा दियो जनताको मत लुट्यो। जनतालाई विचल्लिमा पार्यो। ओली प्रधानमन्त्री बनेपछिका घटनाक्रमले यही देखाएको छ,’ उनले भने, कञ्चनपुर घटनामा दोषी पत्ता लगाउन माग गर्दै बाआमा अनसन सुरु गरेका छन्। तर सरकारले अपराधि बचाएको छ। प्रधानमन्त्री नै अपराधीको मानव अधिकारको कुरा गर्छन। तिनको भोलि विहे गर्नुपर्ला भन्छन् अनि कसरी अपराध कम हुन्छ।’

राष्ट्रवादको रोटी सेकेर भोट लिएका ओलीले चीन जाँदा लिपुलेक हाम्रो हो भनेर दावी किन नगरको भन्दै प्रश्न गरे।

‘कान छेडेर सिन्को नराखे बुझिन्छ। चीनले तिम्रो हो भने प्रमाण देउ भन्यो तर ओलीले प्रमाण दिन सकेन। उनलाई दक्षिणको डर भयो। कुर्सीको टेको दक्षिणले लगाएको छ। फुस्किन्छ भन्ने डर भयो,’ उनले भने।

सत्तारुढ दलले आफूलाई कम्युनिस्ट भने पनि उनीहरु (ने क पा) कम्युनिस्ट नभएको बताए। ‘उनीहरु माक्र्सवादी रहेनने। उनीहरुले समाजवाद ल्याउने भन्दैछन् तर उनीहरुले समाजवादको न्युनतम मान्यता पनि अंगालेका छैनन्,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell