PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

नेपथ्यको पूर्वदेखि पश्चिमसम्म संगीत यात्रा



पहिलोपोस्ट

नेपथ्यको पूर्वदेखि पश्चिमसम्म संगीत यात्रा

काठमाडौं: लोकरक ब्याण्ड नेपथ्यले मुलुकको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरि तराइ मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ। मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट यात्रा सुरु हुनेछ। जुन धरान, बुटवल हुँदै कैलालीको धनगढीमा पुगेर टुंगिने छ।

ब्याण्ड स्थापनाको २५ औं वर्षमा नेपथ्य देशका विभिन्न भागमा प्रस्तुति लिएर हिड्दैछ। मंसिर ४ गते झापाको बिर्तामोडमा, मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढीमा कार्यक्रम तय भएको छ।

योपटक ब्यान्डले दसौं एल्बममा समावेश हुने गीतहरु समेत गाउने बताइएको छ।  

‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरुलाई हलुका पार्न खोजेका थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यति बेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि मुलुकभरका दर्शकहरुसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ।’ देशको जटिल र सहज सबै परिस्थितीमा देशवासीको साथ पाउँदा आफुलाई खुशी लागिरहेको गुरुङ सुनाउँछन्।

नेपथ्य यात्रा अन्तर्गत सबै ठाँउहरुमा कार्यक्रम बेलुकी पौने छ बजेदेखि सुरु हुनेछ र कार्यक्रम स्थलको लागि स्थानिय रंगशालाहरु चयन गरिएको छ। नेपथ्यले बिर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell