
काठमाडौँ : सन् २०२० मा हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोली स्वदेश फर्किएको छ।
पहिलो चरणको छनोटअतर्गत म्यानमारमा भएको समूह सी को खेलमा तेस्रो स्थानमा रहँदै नेपाल दोस्रो चरणमा पुगेको हो।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्लसिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
पहिलो पटक ओलम्पिकको छनोट प्रतियोगिता खेलेको नेपालले तीन खेलमा अपराजित रहँदै ऐतिहासिक उपलब्धी हात पारेको थियो। समूह सी मा नेपालले भारत, घरेलु टोली म्यानमार र बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो।
नेपाललाई पहिलो सहभागितामै दोस्रो चरण पुरयाउन सफल भएपछि प्रशिक्षक हरी खड्काले चीनमा भएको तीन मैत्रीपूर्ण खेलले छनोटमा धेरै सहयोग पुगेको बताए। चीनमा खेल्दा देखिएको कमिकमजोरीलाई सुधार गर्दै म्यानमार खेलेको उनले बताए।
एन्फा नयाँ नेतृत्व आएपछि महिला फुटबल पनि प्रथामिकतामा परेको बताउदै खड्काले यस उपलब्धीले नयाँ जेनेरेसनका लागि फुटबलमा लाग्न हौसला मिल्ने समेत बताए।
यस्तै पहिलो पटक नेपालको सिनियर टोलीको कप्तानी सम्हालेकी निरु थापाले आफूले जे सोचेर गएको त्यसमा सफल भएको प्रतिक्रिया दिइन्।