कान्तिपुर गाथा-
#मीटू अभियान तुहियो कान्तिपुरमा।
केही युवतीहरुले हल्ला मच्चाउन खोजेका हुन्। एक युवतीले मन्दिरका टुँडालमा खोपिएका यौन चित्रहरुको तस्विर ट्वीट गरेपछि अन्य युवतीहरुले त्यसैको आनन्द लिए। कनिका परी जिल्लाराम ।
उसले सोची, टुँडाल चित्र कोर्ने चित्रकारलाई #मीटू भन्ने कसले? यो ऐतिहासिक र सांस्कृतिक देशमा हजारौँ मन्दिरका लाखौँ टुँडालमा यौन चित्रहरू खोपिएका छन्। कस-कसको हिसाब राख्नु? पाटनको कृष्ण मन्दिर परिसरमा बिहान, साँझ मानिस भेला हुन्छन्। कृष्ण मन्दिर मानिसका लागि अनुरागको स्रोत हो। मानिसका भगवान नै कृष्ण भएपछि रासरंग र रतिरागको त के नै कुरा भयो र?
कनिका सम्पादकको ‘सुझाव’ मा कान्तिपुरका गाउँघरमा #मीटू अभियानको प्रभाव हेर्न पुगेकी थिई। किटिनी गाउँमा एकजना भद्र महिला रिटिक्क रटकेर हिँडेकी दस बाह्र वर्षकी कन्यालाई अलि कडा लवजमा अर्थ्याउँदै थिइन, ‘समय राम्रो छैन। धेरै नक्कल पारेर लखरलखर नहिँड् है केटी। निर्मला बनाइ देलान्। आफ्नै बाउ र दाइको पनि विश्वास गर्न नहुने समय आएको छ। कलिजुग मैमत्त भएर उम्लिएको छ।’
+++
कनिकाले भद्र महिलासँग सोधी, ‘तपाईँकी को हुन यी नानी?’
उनले जवाफ दिइन, ‘नातिनी हो मेरी।’
कनिका विश्वस्त हुन खोजी, ‘आफ्नै नातिनी?’
भद्र महिलाले जवाफ दिइन, ‘अर्काकी नातिनी भए मलाई किन बोल्नु पर्याथ्यो र? यो जेठा छोराकी जेठी छोरी। नौमा पढछे।’
त्यसपछि केही बेर अड्किएर उनले फेरि सोधिन, ‘किन र? के का लागि सोध्नु भो नानीले? कुनै एनजीओबाट आउनु भएको हो कि?’
कनिकाले जवाफ दिई, ‘होइन आमा, म पत्रकार हुँ। यता तपाईँका गाउँतिर बलात्कारका घटना भएका छन् कि छैनन्?’
भद्र महिलाले जवाफ दिइन, ‘किन नहुनु नानी। केटीहरू सारै उत्ताउला भए। उत्ताउला केटी देखेपछि उरन्ठेउला केटाहरू किन रोकिन्थे र? भनी साध्य भए पो र नानी।’
+++
त्यसपछि कनिका नजिकको पुलिस थानातिर लागि। रमाइलो कुरा, विगत छ महिना यता थानामा कसैको कुनै उजुरी परेको थिएन। थाना प्रमुखले बताए, ‘यो ठाउँ देश विदेशबाट आएका टुरिष्ट घुम्ने ठाउँ भएकोले यहाँका मानिस निकै सोमतिला र सभ्य छन्। बलात्कार–सलात्कार, चोरी–चकारी, कुटपिटका घटना थानामा ल्याउने चलन नै छैन। आपसमा छलफल गरेर जनताले नै सल्टाउँछन।’
कनिका त्यहाँबाट निस्किई। उसलाई करिष्मा केसीसँग भेट्न मन लागेको थियो। उ करिष्माको घर अगाडि पुगेर उभिई। लामो घर। कनिकालाई लाग्यो वातावरण निकै रमाइलो होला यहाँको। करिष्मा घरमा थिइनन्। उनी कलेज गएकी थिइन्। डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा लागेपछि उनको कायाकल्प भएको थियो। एकाएक नेता बनेकी थिइन । पार्टीका राजनीतिक कार्यक्रमहरूमा नियमित भाग लिन्थिँन।
गाउँमा झण्डै दुई घण्टा बिताएर कनिका आफ्नो इलेक्ट्रोनिक कारमा अफिसतिर फर्किई। अफिस पुग्न उसले दुई वटा जाम छिचोल्नु थियो। एउटा जाम सात दोबाटोमा र अर्को जाम कोटेश्वरमा। कसो कसो, उ सात दोबाटोको जाममा त फँसिन। तर, कोटेश्वर पस्ने सडकमा भने उ नराम्रोसँग फँसी। त्यता ग्वार्कोको पुलदेखि नै सडक जाम थियो। एकपटकमा पाँच/सात वटा गाडी सर्दथे। फेरि रोकिन्थे। चिप्लेकीराको गतिमा थिए गाडी। पुलको मुखमा चार बजे पुगेकी कनिका कोटेश्वर चोकमा पुग्दा पाँच बजिसकेको थियो।
+++
कनिकाले मनमनै सोची ––पुलिसका हाकिम निकै जोसिला र जान्ने सुन्ने छन्। उनलाई त राम्रै थाह छ ट्राफिकमा समस्या कहाँ छ। सवारी बढेको बढेकै छन्। सडक सुविधा थपिएका छैनन्। कम्तीमा पनि सबै ट्राफिक पोस्ट र इन्टर सेक्सनहरूमा ट्राफिक लाइटको व्यवस्था गर्न सके ट्राफिक प्रहरी र सवारी चालक दुबैलाई सुविस्ता हुन्थ्यो। देशको यति ठूलो राजधानी शहरका सवारी मालिकहरू कसैमा पनि सभ्यताको ज्ञान र समझ छैन। ट्राफिक पोस्टमा राखिएको माइकमा ट्राफिक सूचना घन्किन्छ, जेब्रा क्रसिङबाट मात्र सडक पार गरौँ। सभ्य नागरिकको परिचय दिउँ। त्यहीँ छेउछाउमा उभिएको ट्राफिक पुलिस गाडी नचढ्नेलाई सभ्य नागरिक मान्दै मान्दैन।
कान्तिपुरको सडकजाममा #मी टू अभियानका कलाकार बढी नै भेटिने अनुभव भयो कनिकालाई। उसको दायाँपट्टि उभिएको टेम्पुमा एक जना केटो एउटी केटीलाई जिस्क्याउँदै थियो। बायाँपट्टि उभिएको बसभित्र पनि त्यस्तै केही हंगामा हुँदै थियो। कनिकालाई जामले दिकदार बनाएको थियो। उसको मन चञ्चल थियो, के गरौँ र कसो गरौँको छटपटी। अलिकति व्याकुल अवस्था।
कनिकाले अलि बढी नै उग्र सोची, ‘सडकका दोबाटो–चौबाटोमा ट्राफिक बत्तीसम्म राख्न नसक्ने सरकार के को सरकार? ट्राफिक पुलिसको काम दुनियाँलाई हप्काउने र सरकारी मालिकहरूको सवारी चलाउने मात्रै हो र? एम्बुलेन्समा राखेर अस्पताल लान लागेको बिरामी ट्राफिक जाममा नै मर्दछ। एम्बुलेन्ससम्मले बाटो नपाउने यो कस्तो सडक हो?
कनिकालाई लाग्यो, यस्तो रोदन–क्रन्दनले केही हुनेवाला छैन देशमा। हतियार उठाउनेहरूले त केही नाप्न सकेनन् भने अखबारमा लेख्नेले के पो गर्न सक्लान् र?
+++
उसको ध्यान एक पटक फेरी #मी टू अभियानतिर फर्कियो। कान्तिपुरमा प्रतिदिन केही नभए पनि सयौँ युवतीमाथि पुरुषहरूको आँखा गड्ने गरेको बताउँछन् अनुसन्धानविद्हरू। त्यसरी आँखा गाडिएका र हातले मुसारिएका केटीहरू कसैले पनि त्यो घटनाबारे कसैसँग केही बताउँदैनन्। चुपचाप सहेर बस्छन्। यसरी सहेर बस्नु नै काल भएको छ किशोरी, युवती र महिलाको। यो दुर्दशालाई सरकारले होइन, समाजले रोक्ने हिम्मत गर्नु पर्दछ। कनिका अफिस पुग्दा साँझ झमक्क परिसकेको थियो। सुदिप्ती आफ्नो च्याम्बरमा थिइन्। कता लागि होला? सोच्दै निस्किई कनिका क्याफेतिर।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट्री र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)