PahiloPost

May 26, 2020 | १३ जेठ २०७७

हजुरबाको अन्तिम इच्छा पूरा गर्दै ज्यासन, ४० भन्दा बढीलाई बनाए डाक्टर



सागर बुढाथोकी

हजुरबाको अन्तिम इच्छा पूरा गर्दै ज्यासन, ४० भन्दा बढीलाई बनाए डाक्टर

सन् १९९० को जुन महिना।

हेटौडाको कुनै एउटा घर।

गर्मी मौसम।

डाक्टर रघुवर वैद्य बिरामी थिए। मर्ने निश्चित ठहर्याउँदै रघुवर आफैँले अस्पताल जान मानेनन्। उनको हेरचाहमा बसेका थिए छोरा जयदेव।

रघुवरले जयदेवलाई भने, 'तँ डाक्टर बनिनस्। नाति झन् बन्ला जस्तो छैन। तीन लाख जम्मा गर्देको छु, गरिबका छोराछोरीलाई डाक्टर पढाउनु।' 

नेपालका पहिला एलोपेथिक डाक्टर रत्नदास वैद्यका छोरा थिए रघुवर। रघुवरका भाइ भरतराज नेपालको पहिलो सर्जन थिए। त्यसैले होला आफ्नो खानदान डाक्टर नै भएको हेर्न चाहे रघुवरले। आफ्नो छोरा नै डाक्टर नबनेपछि निराश रघुवरले सायद परिवारलाई ढाडस दिन यसो भनेका थिए। 

त्यतिबेला जयदेवका छोरा ज्यासन बुवासँगै थिए। त्यतिखेर उनी ९ कक्षामा पढ्दै थिए। उनका हजुरबा रघुबर केही दिनपछि बिते। 

हजुरबाको अन्तिम दिन। अन्तिम इच्छा। र, जाँदाजाँदैको दृश्य सबै याद छ ज्यासनलाई। 'नाति झन् डाक्टर बन्ला जस्तो छैन' भन्दा खिस्रिक्क परेका थिए उनी। यही वाक्यले हजुरबाको अन्तिम इच्छा पूरा गर्न ढाडस दिएको थियो। त्यसैले हजुरबाको अन्तिम इच्छा पूरा गर्ने प्रण त्यतिबेला नै गरे उनले।

त्यतिखेरको तीन लाख रुपैयाँ। जग्गा किनेको भए पनि एउटा गाउँ नै आउँथ्यो। तर,  रघुवरको अन्तिम इच्छा भएकाले ज्यासनका बुवा जयदेवले उक्त रकम खर्च गरेनन्। 

५ वर्षसम्म त्यतिकै बित्यो। ३ लाखले धेरै डाक्टर पढाउन सकिन्नथ्यो। दीर्घकालीन रुपमा केही गर्ने सोचमा थिए जयदेव। जयदेव चाहन्थे - धेरै भन्दा धेरै विद्यार्थी डाक्टर पढुन् र पछिसम्म डाक्टर पढाइरहन पाइयोस्।'

रघुवरको अन्तिम इच्छा पनि त यही थियो।

बल्ल ५ वर्षपछि योजना फुर्‍यो। जयदेवले नेपाल मेडिकल एसोसियसनसँग सहकार्य गरे। उनीहरुको जग्गामा घर बनाएर भाडामा दिए। त्यसबाट आएको पैसाको अक्षय कोष खडा गरे। केही रकम आफूले थपे। प्रदर्शनीमार्गको दुइतले घरको भाडा, केही आफ्नो रकम र तीन लाखको अक्षयकोषबाट डाक्टर पढाउन सुरु गरे।

सन् १९९८ मा नेपालको पहिलो सर्जन डाक्टर भरतराज वैद्यले डाक्टरी पढाउने कामको आधिकारिक घोषणा गरेका हुन्। भरतराज ज्यासनका काका बाजे थिए। अक्षय कोषबाट छात्रवृत्ति दिने तय भयो। छात्रवृत्तिको नाम मथुरा रत्न राखियो। ज्यासनका हजुरआमाको नाम थियो, मथुरा।

सन् २००३ मा पुष्प पौडैल छात्रवृत्ति पाएर डाक्टर बने। उनी मथुरा रत्न छात्रवृत्ति पाउने पहिलो विद्यार्थी हुन्। त्यसपछि हरेक वर्ष उक्त कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाइरहेका छन्। अहिलेसम्म ४० जना भन्दा बढी डाक्टर बनिसके। 

बीचमा बुवाको अन्तिम इच्छा पूरा गर्ने जिम्मा जयवीरले आफ्नो छोरा ज्यासनलाई दिए। नाति ज्यासनले त्यो कामको निरन्तरता दिइरहेका छन्। 
'हजुरबाको अन्तिम इच्छा पूरा गर्नु हाम्रो कर्तव्य हो,' ज्यासन सुनाउँछन्।

ज्यासनका बुवा जयवीरका हजुरबा रत्नदासको कथा छुट्टै छ।

सन् १९५९ श्रावण २० डाक्टर रत्नदास वैद्यले कलकत्ताबाट डाक्टरी पास गरेको समाचार गोरखापत्रले छाप्यो। गोरखापत्रको समाचार अनुसार त्यो भन्दा अघि नेपालमा एलोपेथिक डाक्टर थिएनन्। गोरखापत्रमा समाचार छापिएलगत्तै उनी चन्द्र शमशेरको निजी डाक्टरमा नियुक्त भए। पछि उनी वीर अस्पतालमा समेत जागिरे भए।

रत्नदासका चाहना अनुसार रघुवर डाक्टर नै बने। उनका भाइ भरतराज पनि डाक्टर बने। तर, रघुवरका छोरा जयदेवले बुवाको चाहना पूरा गर्न सकेनन्। रघुवरले छोरा जयदेवलाई डाक्टर पढ्न इङल्यान्ड पठाए। तर, छोरा इन्जिनियर भएर फर्के। ज्यासन सानैदेखि पढ्नमा तेज थिएनन्। त्यसैले नाति डाक्टर बन्ला भन्ने उनको आशा थिएन। 

किताब देख्दा टाउको दुख्थ्यो ज्यासनलाई। सामान्य पढाइले डाक्टर नबनिने भएकाले परिवारले उनीबाट अपेक्षा राखेको थिएन। हजुरबा रघुवरले पनि कर गरेका थिएनन्।

ज्यासनका बुवा जयदेवले विदेशमा पढ्न छात्रवृत्ति पाएका थिए। उनी इङल्यान्ड पूग्दा डाक्टर पढ्ने भर्ना सकिएको थियो। एक वर्ष कुर्नुपर्थ्यो। उनले कुरेनन्। टेक्सटाइल इन्जिनियरिङ पढेर नेपाल फर्के। हेटौडा कपडा कारखानामा महत्वपूर्ण पदमा बसेर काम गरे।

छोरा टेक्सटाइल इन्जिनियर बनेपछि रघुवर खुशी थिएनन्। आफ्नो पेशा नअंगालेको भन्दै जयदेवसँग गुनासो गरिरहन्थे। त्यसैले अन्तिम इच्छा व्यक्त गरेका थिए, 'गरिबका जेहेन्दार छोराछोरीलाई डाक्टर पढाउनु।'

त्यही अन्तिम इच्छाका कारण गरिबका जेहेन्दार छोराछोरीहरु डाक्टर पढ्न पाएका छन्। डाक्टर पढाउने खर्च घरभाडाबाट आएको पैसाले पुगिरहेको छ। वर्षमा दुई जनाले मात्र पढ्न पाउँछन्। अन्य नपुगेको खर्च आफ्नो व्यापार व्यासायबाट थप्छन् उनले।

ज्यासन व्यावसायी हुन। उनको व्यासायिक इतिहासको कथा छुट्टै छ। परिवारको इतिहास राणा र राजा खानदानसँग जोडिएको छ। ज्यासन दाबी गर्छन्, 'सन् १०१७ का राजा नान्यदेवको वंश हौं हामी।' उनले मल्ल वंशको इतिहास बताइरहेका थिए। नान्यदेवका कान्छा छोराले वैद्य चिकित्सा अभ्यास गरेकाले वैद्य थर रहन गएको हो। 

***
हजुरबाले भनेजस्तै ज्यासनले डाक्टर पढ्न सकेनन्। तर, मन नभएको भने हैन। हाँस्दै भने, 'सक्ने कुरा पो पढ्ने यार। डाक्टरको किताबको ठेली देख्दै डर लाग्थ्यो। मन भए पनि पढिनँ।'

ज्यासन सन् १९९२ मा एसएलसी सकाएर रसिया गए। त्यहाँ आर्किटेक्ट इन्जिनियरिङको कोर्ष गरे। त्यसपछि फिलिपिन्सबाट म्यानेजमेन्ट सकाए। फिलिपिन्सबाट फर्किएपछि व्यापार व्यवसायमा आवद्ध छन्। १६ वर्षको उमेरमा विदेश गएका उनी २६ वर्षमा नेपाल फर्किएका थिए।

विदेशबाट फर्किएपछि हजुरबाको इच्छामुताबिक चलिरहेको छात्रवृत्ति प्रदान गर्ने जिम्मेवारी ज्यासनकै काँधमा आयो। उनले काम थाले। काम गर्दाको अनुभव - छात्रवृत्तिमा पढाउने विद्यार्थी छनोट गर्ने काम सबैभन्दा गाह्रो लाग्छ ज्यासनलाई। 

धेरै पटक गलत विद्यार्थी छनोट भएका छन्। धनीका छोराछोरी नै गरिब बनेर अन्तर्वार्ता दिन आएर हैरान पारेका छन्। आर्थिक स्थिति कमजोर भएका विद्यार्थी चिन्न गाह्रो छ। भन्छन्, 'गरिब भन्दै नेताको छोराछोरी आएर नि पढे। कोही छात्रवृत्तिमा पढेर अमेरिका पुगे।'

सबै त्यस्ता मात्र छैनन्। कतिपय छात्रवृत्तिमा पढेका विद्यार्थीहरु मुलुकको विकट भेगमा गएर पनि काम गरेका छन्। काठमाडौंका अस्पतालमा धेरैपटक भेटेका छन् उनले डाक्टरहरु जसलाई पठाउन सहयोग गरिएको थियो। त्यस बेला खुशी लाग्छ उनलाई। सन्तुष्ट हुने आधार नै त्यसलाई मान्छन्।

कसले पाउँछन् त मथुरा छात्रवृत्ति?

आर्थिक अवस्था कमजोर भएकाले मथुरा छात्रवृत्तिमा आवेदन दिन सक्छन्। डाक्टर पढ्न सक्ने जेहन्दार विद्यार्थीले मात्र अन्तर्वार्तामा भाग लिन पाउँछन्। सरकारी स्कुल पढेकालाई विशेष प्राथमिकता छ। नेपाल मेडिकल एशोसियसनले विज्ञापन गरेपछि विद्यार्थीहरुले आवेदन दिन्छन्। छात्रवृत्ति पाएर डाक्टर पास भएपछि भने कुनै शर्तहरु लागू हुन्न।

ज्यासनले डाक्टर मात्र पढाइरहेका छैनन्। निम्न आय भएकाहरुको जीवन यापनका लागि पनि सहयोग गर्दै आएका छन्। कहिले खर्च नभएकाले उपचार गरिदिन्छन्। कहिले कपडा बोकेर विकटको बस्तीमा पुग्छन्। गाउँका साना स्कुलका विद्यार्थीहरुलाई कम्प्युटर दिएर सहयोग गरेका छन्। तर, कुनै संस्था दर्ता गरेका छैनन्। कुनै कुराले मन छोयो भने मात्रै आफ्नो व्यावसायको मुनाफाबाट सक्ने सहयोग गर्छन्। समाजसेवीको 'ट्याग' भिरेर हिँड्न 'इन्जोय' गर्दैनन्, उनी।

कुनै व्याक्ति वा संस्थाले मात्रै केही गरेर कायापलट नहुने विश्वास गर्छन्। देश र मानिसको जीवनस्तर सुधार्न राज्य नै लाग्नुपर्ने बताउँछन्। भन्छन्, 'व्यक्ति र संस्थाले त आफूले सक्ने थोरै गर्ने हो। समस्याको पहाड भएको देशमा राज्य नलागी केही हुन्न।'

उनले नेपाली डाक्टरहरु दक्ष नभएको धेरैपटक अनुभव गरेका छन्। कतिपय डाक्टरहरुको 'एटिट्यूड' मन नपर्ने सुनाउँछन्। रोग पत्ता लगाउँदा नै सर्वश्व सकेका व्यक्तिहरु धेरै भेटेका छन् उनले। आफैँ नेपाली अस्पताल र डाक्टरबाट पीडित भएको पनि सुनाउँछन्। सामान्य व्यवहारमै नेपाली स्वास्थ्य क्षेत्र चुकेको उनको अनुभव छ।

'विदेशमा हुने उपचार नेपाली अस्पतालमा किन हुन्न? व्यवहार किन नराम्रो?,'  उनी प्रश्न गर्छन्।

उनी आफूले उत्पादन गर्ने डाक्टरलाई आगामी दिनमा यस्ता कुराहरु सिकाउने बताउँछन्। 'रेस्पोन्स्बिलीटी' र 'सिरियसनेस' नभएकै कारण नेपाली चिकित्सा क्षेत्र बदनाम भएको सुनाउँछन्। देब्रे खुट्टाको अपरेसन गर्नुपर्ने मान्छेको दाहिने खुट्टाको गरेपछि गर्नुपर्ने अपरेशन फ्रि मा गर्दिन्छु भन्नु नै गलत रहेको उनको कथन छ।

स्वास्थ्यको व्यापारमा ठूलो नाफा र स्वार्थ राख्नु नहुने उनको कथन छ।

व्यावसाय गर्दाका नमिठा अनुभव पनि छ उनीसँग। उनले चितवनमा 'प्लास्टिक रिसाइक्लिङ फ्याक्ट्री' चलाएका थिए। फोहोर काठमाडौंदेखि लैजान्थे। फ्याक्ट्री राम्रो चलेको थियो। पछि माओवादीहरुले दु:ख दिए। चन्दा माग्नेदेखि सामान उठाएर लानेसम्मका चर्चितकला भयो। माओवादीसँग पैठेजोरी खेल्न सकेनन्।

त्यसपछि उनले सबै बेचबाच गरे। व्यवसायमा प्रगति गरिरहेको परिवारले ऋण बोक्नुपर्यो। काठमाडौं आएर सामान्य व्यासाय गर्न थाले। बल्लतल्ल उक्सिँदैछन् उनी। भन्छन्, 'आफूले मात्रै राम्रो गर्छु भनेर हुन्न रै'छ। देशको वातावरणले ठूलो लगानी तहसनहस गर्दो रै'छ।'

हजुरबाको अन्तिम इच्छा पूरा गर्ने 'मास्टर प्लान' छ उनीसँग। नेक्स्ट लेभलमा जान लागेको बताउँछन्। आगामी दिनमा डाक्टर बन्न छात्रवृत्ति लिन आउनेलाई शर्तहरु लागू गर्ने तयारी गरेका छन्। अब मथुरा छात्रवृत्तिमा पढ्नेहरुले अनिवार्य रुपमा आर्थिक अवस्था कम भएको अर्को विद्यार्थीलाई पढाउनुपर्ने हुन्छ। भन्छन्, 'मैले ३० जनालाई पढाए भने ती ३० जनाले अर्को ३० जनालाई पढाउँछ। अर्कोले अर्कोलाई।'

यो बताउँदा उनी सन्तुष्ट देखिए। यो शर्त लागू भए इच्छा हुने तर पैसा नहुनेले डाक्टर बन्न अवसर पाउने उनको कथन छ। सानो सोचले धेरै ठूलो काम बन्ने बताउँछन्। भन्छन्, 'यो गर्न सके एउटा व्याक्तिको सामान्य प्रयासले धेरै जेहेन्दार विद्यार्थीहरु डाक्टर बन्ने सपना पूरा गर्न सक्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell