PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

शान्ति सम्झौताको १२ वर्ष पुग्दैः द्वन्द्वपीडित राष्ट्रिय भेला काठमाडौँमा हुने



पहिलोपोस्ट

काठमाडौँ: दश वर्षे माओवादी द्वन्द्वका पीडितहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ। विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ गते काठमाडौँ घोषणापत्र जारी गर्ने गरी द्वन्द्वपीडित साझा चौतारीको राष्ट्रिय सम्मेलन काठमाडौँमा मंसिर ४ र ५ गते हुने भएको हो।

सम्मेलनमा देशभरबाट २०० जना द्वन्द्वपीडितहरुका प्रतिनिधिहरू काठमाडौँमा आउने साझा चौतारीका अध्यक्ष भागिराम चौधरी र महासचिव जनकबहादुर राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिको बाटोमा रूपान्तरण गर्ने आधारको रूपमा रहेको विस्तृत शान्ति सम्झौताको यही मङ्सिर ५ गते १२ वर्ष पूरा हुँदै गर्दा सङ्क्रमणकालीन न्यायको पक्ष अपूर्ण भएको भन्दै विज्ञप्तिमा उल्लेख छ।

‘यस अवधिमा शान्ति सम्झौताले परिकल्पना गरे अनुसार संविधान निर्माण भई नेपालको राज्य पुनर्संरचनाको कार्य पूरा भएको छ भने शान्ति प्रक्रियाकै महत्त्वपूर्ण स्तम्भको रूपमा रहेको तत्कालीन माओवादी लडाकु तथा हतियारको व्यवस्थापन पनि भइसकेको छ। तर, उक्त प्रक्रियाकै अभिन्न अंग रहेको सङ्क्रमणकालीन न्यायको पक्ष भने हालसम्म पनि अपूर्ण छ,’ वक्तव्यमा उल्लेख छ, ‘नेपालको शान्ति प्रक्रिया पूरा हुन सङ्क्रमणकालीन न्यायका सबै सरोकारवालाहरूलाई स्वीकार्य हुने निष्कर्षसहित यो प्रक्रियाको टुङ्गो लगाउनु पर्दछ।’

विज्ञप्तिमा द्वन्द्व पीडितको दृष्टिकोणमा शान्ति प्रक्रिया हालसम्म पूरा नभएको उल्लेख छ। यसबीच साझा चौतारीले सङ्क्रमणकालीन न्याय प्रक्रियाको बारेमा देशका पाँच स्थानमा प्रादेशिक सम्मेलन सम्पन्न गरेको उल्लेख छ।

साथै देशभरका पीडितहरूले दण्डहिनताको अन्त्य गर्न सत्य जान्न पाउने अधिकारको प्रत्याभूति, पीडितलाई न्याय र परिपूरण, पीडकलाई सजाय, राष्ट्रिय मेलमिलाप तथा पीडितको व्यक्तिगत पहिचान, प्रतिष्ठा, आत्मसम्मान र स्मृतिकरण जस्ता आधारहरुमा सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई टुंग्याउन मागसमेत गरेका छन्।

विज्ञप्तिमा प्रमुख सरोकारवाला पक्षहरु द्वन्द्व पीडित, नेपाल सरकार र प्रमुख राजनीतिक दलसहितको सहमतिमा समग्र प्रक्रिया तय हुनुपर्ने प्रादेशिक सम्मेलनबाट निष्कर्ष निकालिएको उल्लेख छ।

काठमाडौँमा दुई दिनसम्म चल्ने सम्मेलनले प्रदेश सम्मेलनहरूबाट प्राप्त सुझावलाई आवश्यक परिमार्जनसहित काठमाडौँ घोषणापत्र जारी गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell