अहिले एउटा नारा चर्चामा छ -'समृद्ध नेपाल सुखी नेपाली'।
राज्यले नीति कार्यक्रममार्फत लिएको यो नारा पूरा होला वा नहोला? सरकारको कार्यशैली र गति हेर्दा यकिनसाथ भन्न सकिन्न।
तर, कामकाज गर्ने गतिमा परिवर्तन आए दुई वर्षमा एउटा उपहार पक्का पाउनुहुनेछ। त्यो हो -दुई लिफ्ट'सहितको २२ तले धरहरा।
२०७२ वैशाख १२ गतेको महाभूकम्पले ऐतिहासिक ९ तले धरहरा ढल्यो। भूकम्प गएको तीन वर्षसम्म पनि पुनर्निर्माणका अनेक प्रयास भए। २०७२ फागुन २ गते धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'मेरो धरहरा म आफैं बनाउँछु' भन्ने नारा दिई धरहरा नेपालीहरूकै पैसाले बनाउने उद्घोष गरे। प्रधानमन्त्रीको आह्वानसँगै केही समय पैसा जम्मा त भयो तर त्यसले निरन्तरता पाउन सकेन।
पढ्नुस्ः प्रधानमन्त्रीको धरहरा मोडल : लिफ्टबाट चढ्न मिल्ने, जनताको पैसाले बनाउने
दोस्रोपटक प्रधानमन्त्री भएका ओलीले वैशाख ११ गते भत्किएको धरहराअघि उभिँदै धरहरा निर्माणका लागि आफू कोदालो बोकेर आउने बताएका थिए। यसबीच धरहरा कसले बनाउने, कुन स्वरूपमा बनाउने भन्ने विषयमा धेरै छलफल भयो।
पढ्नुस्ः भत्किएको धरहराबाट प्रधानमन्त्रीको आह्वानः म कोदालो र डोको बोक्न तयार छु, तपाईँ पनि आउनुस्
धेरै विवाद र असम्झदारीबीच धरहरा पुनर्निर्माण ओझेलमा पर्दै जाँदा अब भने धरहरा पुनर्निर्माण कार्य सुरु भएको छ।
कस्तो बन्दैछ नयाँ धरहरा?
भीमसेन थापाले निर्माण गरेको धरहरा ११ तले थियो। सन् १९९० मा गएको भूकम्पले त्यो धरहरामा क्षति पुग्यो। क्षति भएको धरहरा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले पुरानै शैलीमा बनाए। तर, ११ तलेको सट्टा ९ तले। यसपटक भने त्यसो हुनेछैन।
यसपटक बन्ने नयाँ धरहरा न ११ तले हुनेछ न त ९ तले। नयाँ नेपालको भूकम्प प्रतिरोधात्मक धरहरा २२ तले हुनेछ। पुरानो भत्किएको धरहराको बाँकी संरचना भने त्यहीँ रहनेछ।
नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिनेछ। २२ तले धरहराको स्वरूप भने भीमसेन थापाले बनाएको ११ तले धरहराको जस्तै हुनेछ। भित्रबाट २२ तला भए पनि बाहिरबाट भने ११ तल्ला जस्तै देखिने नेपाल पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए। धरहरा पुनर्निर्माण भने दुई वर्षभित्र सक्ने लक्ष्य रहेको उनले बताए।
नयाँ धरहराको उचाई करिब ७२ मिटर हुनेछ। गुम्बज र गजुरसहित नयाँ धरहराको उचाई ७७ मिटरको हुनेछ। धरहरामा पहिलाको जस्तै भर्याङसँगै दुईवटा लिफ्ट रहने छन्। त्यसैले अब बन्ने धरहराको मोटाई भने पहिलाको धरहराभन्दा धेरै हुनेछ।
भूकम्पमा भत्किएको धरहराका बाँकी संरचनालाई पानी, हावाहुरीले नबिग्रने गरी संरक्षण गरिनेछ। नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको अवशेष हेर्न पाउने भएका छन्। २०७२ मा गएको भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने मानन्धरले बताए।
ऐतिहासिक धरहराको पुनर्निर्माण ठेक्का जिआइइटिसी-रमन जेभीले पाएको छ। निर्माणस्थलमा अनावश्यक सामग्री हटाएर काम सुरु भइरहेको छ। केही महिनाअघि धरहरा क्षेत्रमा रहेका रेस्टुरेन्ट र पसलहरु भत्काइएका थिए। पुरानो धरहरासँगै बनाइने नयाँ धरहराको जग खन्ने कार्य सुरु भइसकेको छ।
पुरानो धरहरा र नयाँ बन्ने धरहरा क्षेत्रलाई तारबार गरी निर्माण सामग्री राख्न थालिएको छ। धरहरा पुनर्निर्माणका क्रममा निकालिने माटो, इट्टा, डुंगा लगायतका सामाग्रीको व्यवस्थापनका लागि टुँडिखेलको दक्षिण क्षेत्रमा नेपाली सेनाले स्थान उपलब्ध गराएको छ।
तीन अर्ब ४२ करोडको प्रोजेक्ट, कसरी उठ्छ पैसा?
२०७२ सालमा ' मेरो धरहरा म आफैं बनाउँछु' भन्ने नारासहित सुरु गरिएको बैंक खाता पुन: सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ। प्रधानमन्त्री ओलीले एक महिनाको तलब दिएर सुरु गरेको उक्त कोषमा अहिले करिब २४ करोड रुपैयाँ जम्मा भएको छ। विगत दुई वर्षदेखि निष्क्रिय रहेको उक्त कोष फेरि सुरु गर्ने तयारीमा प्राधिकरण छ।
पढ्नुस्ः तीन तल्ला पार्किङ भएको नयाँ धरहरा बनाउन प्रमले एक महिनाको तलब दिने
पहिला नेपाल टेलिकमले धरहरा बनाउने प्रस्ताव गरेको थियो। त्यसमा प्राधिकरण र टेलिकमबीच सहमति समेत भइसकेको थियो। तर पछि टेलिकमले धरहरा बनाउने अभियानबाट हात झिक्यो।
सहसचिव मानन्धरले टेलिकमले धरहरा बनाउने समझदारीबाट हात झिके पनि पुनर्निर्माणका लागि एक अर्ब दिने कमिट्मेन्ट गरिसकेको बताए।
धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरू र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको मानन्धरले बताए।
करिब ३ अर्ब ४२ करोडको लागतमा बन्दै गरेको धरहराका लागि टेलिकमको जस्तै खुलेर अरू संस्था भने अघि आएको छैन।
हुलाक र टक्सारको भवन भत्काइने
अब धरहरा क्षेत्र अब ४२ रोपनी जमिनमा फैलनेछ। त्यसका लागि हाल गोश्वारा हुलाक कार्यालय रहेको भवन र वाणिज्य बैंक रहेको टक्सार भवन भत्काइने भएको छ। उक्त स्थानमा लिफ्टसहितको अत्याधुनिक तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइने भएको छ। त्यसका लागि छिट्टै त्यहाँ रहेका भवनहरू भत्काइनेछ। माथि भने 'वाटर फाउन्टेन'सहितको हरियाली पार्क बनाइनेछ। यसका साथै त्यहाँ संग्राहलय बनाउनेतर्फ पनि प्राधिकरणले काम गरिरहेको छ।
यस्तै, भूकम्पअघि नै लथालिंग अवस्थामा रहेको सुनधारालाई समेत पुनर्निर्माण गरिने मानन्धरले बताए। सुनधाराको दक्षिणपट्टि रहेका व्यावसायिक भवन र होटलहरुका कारण सुनधारामा आइरहेको पानी र बग्ने बाटो बन्द भएको हुनसक्ने भएकाले ती सबै अवरोधहरुलाई हटाएर धारामा पानी ल्याउने र निकासको व्यवस्थापन गर्ने उनले बताए।
यसरी पानी ल्याउन सम्भव नभए बोरिङ वा मेलम्ची आयोजनाबाट 'एउटा डेडिकेटेड धाराको लाइन' माग्ने योजना प्राधिकरणको रहेको छ।
लिफ्टप्रति शंका
पुरातात्विक संरचनाहरूको संरक्षण गर्दा आधुनिक कलाको प्रयोग गर्नु नराम्रो नरहेको बताउँछन् संस्कृतिविद् तेजेश्वर बाबु गवंग। '९ तले धरहरा हुँदा बालबालिका र वृद्धवृद्धाहरुलाई धेरै सकस पर्यो। अब यदि धरहरा बन्दैछ र त्यसमा लिफ्ट रहन्छ भने त्यसको विरोध गर्नु हुँदैन। बालमैत्री, अपांग मैत्री र ज्येष्ठ नागरिक मैत्री आधुनिक धरहरा बन्दा राम्रै हो।'
त्यसको प्रयोग र संरक्षणबारे सरोकारवालाहरू सचेत हुनु पर्नेमा भने उनले जोड दिए।
निर्माणधीन धरहरा क्षेत्र छेउमै वर्षौँदेखि बस्दै आएका शान्त कुमार महर्जन पनि धरहरा पुनर्निर्माण हुने भएकोमा खुसी छन्। १९९० सालको भूकम्पमा धरहरा बनाउने आफ्ना बाजेहरूले सहायता गरेको बताउने उनी लिफ्ट राख्दा धरहराको ऐतिहासिकता बाँकी नरहन सक्नेतर्फ सबै सचेत हुनुपर्ने बताउँछन्।
उनले भने 'आधुनिक भनिएको धरहरामा बनाइने लिफ्टले धरहराको ऐतिहासिक महत्त्व घटाउन सक्छ। लिफ्ट त धरहरासँगै रहेका मलमा समेत छ। त्यहाँबाट धरहराबाट देखिने दृश्य देखिहाल्छ नि। लिफ्ट चढ्नै धरहरा जाने संस्कृतिको विकास नहोस् भन्नेतर्फ सबै सचेत हुनुपर्छ।'
नयाँ नेपालको नयाँ धरहरा जति सुकै ठूलो, भव्य र आधुनिक भएता पनि त्यसले भीमसेन थापाले स्थापित गरेको मौलिकता समाप्त पार्न हुँदैन। धरहरा जीवन्त इतिहास हो। त्यसलाई सामान्य पार्क वा 'भ्यू टावर'को रुपमा मात्रै स्थापित गराउन नहुने तर्फ सरोकारवाला सबैको ध्यान जानुपर्छ।