वीर अस्पतालका न्यूरो सर्जरी युनिट प्रमुख डाक्टर ध्रुवराज अधिकारी एकाएक चर्चामा छन्। उनले सामाजिक सञ्जालमा आफ्नो पदबाट राजीनामा दिनुपरेको कारण खुलाएर एउटा पत्र नै सार्वजनिक गरे। उनको त्यो पत्र भाइरल भइरहेको छ। उनले पत्रमा नेपालको स्वास्थ्य प्रशासनको हालत कस्तो छ भन्ने खुलाएका छन्। सरकारी सेवामा पदोन्नतीका लागि घुस र चाकडी अनिवार्य भएको उनको आरोप छ। अवकाशको मुखैतिर लागेका डाक्टर अधिकारी सामाजिक सञ्जालमा अवकाशबारे पत्र सार्वजनिक गर्न किन वाध्य भए त? पहिलोपोस्टका सागर बुढाथोकीले उनीसँग केही प्रश्न गरेका छन् -
तपाईँले अवकाश पाउन केही महिनामात्र बाँकी रहँदा राजीनामा दिनुपर्ने कारण केले बनायो?
२०३२ सालदेखि म स्वास्थ्य क्षेत्रमा छु। २०४५ सालदेखि म आठौँ तहमा मात्रै छु र गत एक वर्षदेखि तलब विहीन। मेरो बढुवा ४५ सालदेखि भएको छैन। 'रिटायर्ड' हुनै लाग्दा मलाई हटाउने जालझेल भइरहेको छ। योग्यता पुग्दा र पद रिक्त हुँदा पनि मलाई पोस्टिङ गरिएन। जबकि त्यो पदका लागि स्वास्थ्य मन्त्रालयमा म बाहेक अरु कोही मान्छे नै थिएन। अहिले हामी यहाँ २ जना प्रोफेसरमात्र छौं। उहाँले पनि राजिनामा दिने तयारी गर्दै हुनुहुन्छ।
म वीर अस्पताल न्युरो सर्जरी यूनिटको चिफ। स्टुडेण्डको थेसिस गाइड छु। नवौँ तहको पोस्ट खाली छ। मलाई पोस्टिङ गर्न कसैलाई फाल्नु पर्दैन। तै पनि गरिएन्। यही विषयमा मैले स्वास्थ्य मन्त्रालयका कर्मचारी, स्वास्थ्य मन्रीए लगायत सबैलाई भेटे। प्रधानमन्त्रीबाट पनि उहाँलाई अन्याय भएको छ भनेर कुरो आएको थियो। तर, एक वर्ष बित्दा पोस्टिङ त भएन नै भएन मलाई हटाउने जालझेल गरेर अरु कोही ल्याउन तयारी गरियो।
कसलाई ल्याउनको लागि तपाईँलाई विस्थापित गर्न खोजियो त?
त्यही मैले बुझिरहेको छैन। यहाँ नवौं तहमा हुने कोही छैनन्। कहाँबाट कसलाई ल्याउन खोजेको हो पत्तो छैन। मबाट केही झार्नका लागि या चाकडी गराउनका लागि मलाई एक वर्षदेखि बिचल्ली पारिएको छ। तर, मैले चाकडी गरिन। घुस दिने काम मबाट हुन्न। मेरो यही प्रवृत्तीकै कारण म २० वर्षदेखि एउटै तहमा छु। मैले उनीहरुको चाकडी र स्वार्थ पूरा गर्न नसकेकाले मलाई बिचल्लीमा पारे।
चाकडी र आर्थिक प्रलोभन मात्रै कारण हो कि तपाईँ नै सक्षम नभएर हो?
म ४५ सालदेखि आठौं तहमा छु, ३२ सालदेखि सेवामा। म असक्षम हैन, उहाँहरुको स्वार्थ नै त्यस्तै छ। म पैसा दिएर पदमा पुग्दिन। वर्षौदेखि यस्तै चलिरहँदा म चुप बसेँ। तर, अब मैले बोलिन भने पछिका पुस्ताले धेरै दु:ख पाउँछन्। सधैं क्षमताले भन्दा पैसाले बढुवा हुने प्रवृत्ती बढ्छ। त्यसैले रिस्क हुँदा हुँदै पनि बोलेँ।
कसको स्वार्थमा तपाईँमाथि अन्याय भइरहेको हो त ?
म यहाँ बिरामी जाँच्नुपर्ने मान्छे। न्युरो सर्जनको युनिट ह्याण्डिल गर्नुपर्ने मान्छे। विद्यार्थी पढाउनुपर्ने मान्छे। तर, स्वास्थ्य मन्त्रालयको हरेक कोठा चहार्नुपर्ने रहेछ। स्वास्थ्य मन्त्रालयका हरेक कोठाका कर्मचारीलाई खुशी पार्नुपर्ने रहेछ। उनीहरुलाई चाकडी गर्नुपर्ने रहेछ। सबै त्यही चाहन्छन्। कसको मात्र नाम लिउँ म?
एक वर्षसम्म फाइल बोकेर धाएकै हो। स्वास्थ्य सचिव पुष्पा चौधरी, राज्यमन्त्री र स्वास्थ्य मन्त्रीलाई पटक पटक भेटेकै हूँ। सचिव सुशीलनाथ प्याकुरेल मेरो क्लासमेटलाई नि भनेकै हूँ। तर, सबैबाट एउटै जवाफ आयो – 'हुन्छ'। मैलै बुझेँ, स्वास्थ्य मन्त्रालयका कर्मचारीको चाकडी र स्वार्थ पूरा नगरे केही नहुने रहेछ।
झुटा आश्वासन सुन्दासुन्दा मानसिक तनाव भयो। अस्पतालको नियमित काम गर्न पनि गाह्रो। स्वास्थ्य मन्त्रालयले न्याम्स, न्युरो सर्जरी विभाग र वीर अस्पताललाई ध्वस्त पार्ने काम गरिरहेको छ। म वीर अस्पतालबाट बाहिरिएपछि यस विभागमा कोही हुन्न। विद्यार्थी र विरामीलाई त घाटा हुन्छ नै मलाई पनि अन्याय हुन्छ। यत्रो वर्ष काम गरेको संस्थाबाट म भारी मन लिएर बाहिरिन्छु।
मलाई अचम्म लाग्छ, मलाई यहाँबाट लखेटेर स्वास्थ्य मन्त्रालयलाई के फाइदा हुन्छ? सर्टिफिकेट किन्न सक्लान् तर मेरो ४२ वर्षको अनुभव कसैले किन्न सक्दैनन्।
चाकडी मात्रै हो कि अरु कुनै स्वार्थ पनि थियो मन्त्रालयका कर्मचारीको ?
प्रत्यक्ष अप्रत्यक्ष धेरै 'ब्ल्याकमेल' भयो, कर्मचारीबाटै। म त्यो शब्दहरु नै सुन्न चाहन्न। मन्त्रालयको कमाण्डभित्र छिरेर हरेक कर्मचारीसँग भएको कुरा रेकर्ड गरेको भए धेरै कुराहरु 'पर्दाफास' हुन्थ्यो। तर, तर त्यस्तो 'ब्ल्याकमेलिङ' हुन्छ भन्ने ज्ञान भएन, मलाई।
मैलै स्वास्थ्य मन्त्रीलाई भेटेर 'कर्मचारीहरुले तपाईँको नाम लिएर यस्तो घृणित काम गर्छन्,' भनेर सुनाएँ। तपाईँ यस्तो ठाउँमा बसेर कसरी काम गर्नुहुन्छ पनि भने। उहाँले यो हुनै सक्दैन मात्रै भन्नुभयो। केही एक्सन लिनुभएन।
म अचम्म परेँ- मन्त्रीलाई कर्मचारीहरुले नटेरेका हुन् कि मन्त्री नै त्यस्ता हुन्। मप्रति स्वास्थ्य मन्त्रालयको नियत नै त्यस्तो हो कि? मलाई केही नै थाहा भएन।
किन तपाईँलाई मात्रै यस्तो त?
खै किन हो? पटक पटक यस्तो हुन्छ। चाकडी नै कारण होला। एउटा पत्र दर्ता गराउन ११ कोठा चहार्नुपर्छ। आधाजसो कर्मचारी भेटिन्नन्। म यता काम गरुम कि दिनहुँ मन्त्रालय धाउँ? म लाचार भएँ। यत्रो वर्ष काम गरेको स्वास्थ्य मन्त्रालयको अवस्था देखेर धुरुधुरी मन रोयो। अनि हार मानेर राजिनामा दिएँ।
स्वास्थ्य सिस्टममा खराबी नै खराबी छ। सरकारी संस्थालाई राम्रो गर्छु भनेर काम गर्यो यस्तो अन्याय हुन्छ।
चाकडी र कर्मचारीलाई खुशी पार्न नसक्दा राजिनामा दिन बाध्य भएँ भन्नुभयो? कस्तो चाकडी चाहेका थिए र?
खै कसरी भनुँ? २० औं वर्षदेखि एउटै पदमा बसेर काम गर्छ। तर, चाकडी गर्ने र कर्मचारीहरुलाई खुशी पार्ने हिजो आएको मान्छे १२ औं तहमा सजिलै पुग्छ। उदाहरण धेरै देख्नुभएको छ तपाईँहरुले।
हो यही अन्याय देखेर बोलेको हो म। मेरो ठाउँमा आउने कोही छैन। न नयाँ ल्याउने तयारी नै छ। न त यही संस्थामा कोही अनुभवी मान्छेहरु नै छन्। यसको अप्रत्यक्ष स्वार्थ तपाईँहरुले बुझिहाल्नुहुन्छ।
स्वास्थ्य मन्त्रालयका कर्मचारीमात्र भन्नुहुन्छ तर एक जनाको नाम किन लिनुभएन?
मैले अघि नै भने त स्वास्थ्य मन्त्रालयका कम्पाउन्डभित्र छिरेपछि तपाईँ त्यस्ता धेरै मान्छेसँग ठोक्निनुहुन्छ। तर, मेरो विषयमा कसलाई निर्णय गर्न दिएको छ मलाई थाहा छैन।
तर, टिप्पणी उठाउने फाइल ११ वटा ठाउँमा पुग्छ। त्यहाँभित्र को छन् आफैँ बुझ्नुस्। सबैको स्वार्थ पनि हुन सक्छ, मुख्य एक दुईजनाको मात्र पनि हुन सक्छ।
अब के गर्नुहुन्छ त?
म न्युरो सर्जन हूँ। कामको कुनै कमी छैन। स्वास्थ्य मन्त्रालयले जे डिसिजन गर्छ म त्यो शिरोधार्य गर्छु। मैले गरेर हुने भए त यत्रो वर्ष अन्यायमा परेर बस्थेँ त? मेरो डिसिजन त्यही राजीनामा हो।