काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन नजिकिएसँगै अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको छ। पार्टी गठन भएदेखि संयोजक रहँदै आएका महन्थ ठाकुरमाथि विभिन्न आरोप लागेपछि उनले संयोजक पद त्यागेका हुन्।
यससँगै ठाकुरको मधेश यात्रा रोकिएको छ। ठाकुरले मंसिर ७ गतेदेखि मधेशका २१ वटै जिल्लाको यात्रा गर्ने तयारी गरेका थिए। ठाकुरले एक्लै झापादेखि कञ्चनपुरसम्म यात्रा गर्ने निर्णय विवादित भएको भन्दै मंगलबारको अध्यक्ष मण्डलको बैठकले यात्रा रोकेको हो।
अब बस्ने अध्यक्ष मण्डलको बैठकबाट सामुहिक निर्णय गरी यात्राको अर्को मिति तय हुने भएको छ।
ठाकुरले महाधिवेशन केन्द्रित यात्रा एक्लै गरे महाधिवेशनमा असर पर्ने भन्दै अन्य नेताहरूले असन्तुष्टि जनाएका थिए। तर ठाकुर पक्षका नेताहरूले अध्यक्ष मण्डलका अन्य नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित रहेकोले ठाकुरले एक्लै भए पनि यात्रा गर्ने तयारी गरेको बताएका छन्।
राजपा अध्यक्ष मण्डलका एक सदस्यले पहिलोपोस्टसँग भने,‘सामुहिक नेतृत्वको परिकल्पना पार्टीको विधानले गरे पनि एकल नेतृत्वको जस्तो देखिएको थियो। त्यसैले पार्टीको विधानअनुरुप पुनः चक्रीय प्रणालीमा गएका छौं। यसबीचमा संयोजक ठाकुरमाथि केही आरोप पनि लागेको छ।’
‘पार्टी महाधिवेशन घोषणा पछि पनि नियुक्ति गर्नु, पार्टी छोडेका व्यक्तिलाई पद दिनुले कार्यकर्तामा असन्तुष्टि आएकोले नियुक्त बदर गरियो।’ उनले भने,‘नियुक्तमा ठाकुर जी निकटहरूको स्वार्थ देखिएको थियो।’
पार्टी एकता भएको बेला मधेशी जनतामा आएको उत्साह हराउँदै आएको बताउँदै उनले भने,‘ठाकुरजीले पार्टी सञ्चालन त गर्नु भयो तर जनताको उत्साह र कार्यकर्ताको व्यवस्थापन गर्न सक्नु भएन।’
अन्य आन्तरिक विवादमा पनि महन्थ ठाकुरले निर्णय लिन नसकेको आरोप अध्यक्ष मण्डलका सदस्यहरुको रहेको छ।
केही दिन यता राजपा अध्यक्ष मण्डलका नेताहरूबिच संयोजक परिवर्तन गर्ने छलफल भएको थियो। ठाकुर बाहेक नेताहरूले बैठक गरी संयोजक फेर्ने तयारी गरेको कुरा ठाकुरलाई जानकारीमा आए पनि ठाकुरले कुनै प्रतिक्रिया जनाएका थिएनन्।
अध्यक्ष मण्डलको बैठकमा संयोजक परिवर्तन सम्बन्धी आएको प्रस्ताव ठाकुरले सहजै स्वीकार गरेका थिए। तर ठाकुर पक्षका देखिएका अनिल झाले असन्तुष्टि व्यक्त गरेका थिए।
बैठकमा झाले अध्यक्ष मण्डलको चक्रिय प्रणाली दुई महिनाको नभएर एक महिनाको गर्नु पर्ने प्रस्ताव राखेका थिए। दुई महिनाको गर्दा आगामी महाधिवेशनसम्म आफ्नो पालो नआउने भएकोल झाले एक महिनाको समय तोकिए महाधिवेशनसम्म सबैले संयोजक हुन पाउने प्रस्ताव राखेका थिए।
राजपा अध्यक्ष मण्डलको संयोजक भएका राजेन्द्र महतोको अध्यक्षतामा आइतबार अध्यक्ष मण्डलको बैठक बस्दैछ। उक्त बैठकमा सरकारबाट समर्थन फिर्ता लिने सम्बन्धमा, अफिस व्यवस्थान र प्रदेश २ का मन्त्रीहरुको कामकारवाहीको विषयमा छलफल हुनेछ।