PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दिउँसो टिपर चलाउन पाउनुपर्ने मागको मुद्दा उच्च अदालतद्वारा खारेज, अदालतले भन्यो 'पेशाभन्दा बाँच्न पाउने अधिकार ठूलो'



पहिलोपोस्ट

दिउँसो टिपर चलाउन पाउनुपर्ने मागको मुद्दा उच्च अदालतद्वारा खारेज, अदालतले भन्यो 'पेशाभन्दा बाँच्न पाउने अधिकार ठूलो'

काठमाडौँः उच्च अदालत पाटनले निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित दायर रिट खारेज गरिदिएको छ। न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले पहिलो सुनुवाइमै रिट खारेज गरिदिएको हो। ट्रक तथा टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मंसिर ४ गते रिट दायर गरेको थियो।

अदालतले व्यक्तिको बाँच्न पाउने अधिकारभन्दा पेशा व्यवसायको अधिकार ठूलो नभएको भन्दै रिट खारेज गरिदिएको हो। पेशा व्यवसाय संवैधानिक अधिकार भए पनि बाँच्न पाउने नागरिकको अधिकार सबैभन्दा महत्त्वपूर्ण भएको अदालतको ठहर छ। अदालतले विपक्षीसँग जवाफ समेत माग्नु नपर्ने ठहर गर्दै रिट खारेज गरेको हो। 

अदालतले व्यवसायको अनुमति दिने र नियमन गर्न पाउने अधिकार सरकारसँग हुने भन्दै रिट खारेज गरेको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले बताए।

दाहालले भने ‘पेशा व्यवसाय गर्न पाउने संवैधानिक हक हनन् गर्नेगरि सरकारले टिपर सञ्चालनको समय तोकेको भन्दै रिट दर्ता भएको थियो। पहिलो सुनुवाइमै खारेज भएको छ। व्यवसाय नियमनको अधिकार सरकारसँग हुने भएकाले रिट खारेज भएको हो।’

अदालतले टिपर सञ्चालनका लागि सरकारले तोकेको समयभित्र पालना गर्नु व्यवसायीको कर्तव्य भएको समेत बताएको छ।

जुनसुकै समयमा पनि टिपर चलाउन पाउनुपर्ने मागसहित टिपर व्यवसायी संघ दोलखाको तर्फबाट विरुण कन्स्ट्रक्सनले रिट दायर गरेको थियो।

सरकारले उपत्यकामा दिउँसोका समयमा टिपर चलाउँदा दुर्घटना बढेको भन्दै सञ्चालनमा समयसीमा तोकेको थियो। अहिले बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन अनुमति दिएको छ। बुधबार साँझमात्र भक्तपुरमा टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

पढ्नुस्ः टिपरले ठक्कर दिँदा दाइको घटनास्थलमै मृत्यु, भाइ घाइते, टिपर चालक भने फरार

कन्स्ट्रक्सनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभागसहित विभिन्न एक दर्जन निकायलाई विपक्षी बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell