PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तातोपानी नाका खोल्न धमाधम कामः चीनले बनाउँदैछ सडक र पुल, नेपालतर्फको काम सुस्त



दिनेश खड्का

तातोपानी नाका खोल्न धमाधम कामः चीनले बनाउँदैछ सडक र पुल, नेपालतर्फको काम सुस्त

काठमाडौँः भूकम्पअघि नेपाल-चीनको प्रमुख व्यापारिक नाका पुनर्निर्माणका लागि सडक विभागले ३० करोड रुपैयाँ माग गरेको छ।

वैशाखसम्म बाह्रविसे-तातोपानी हुँदै चीन जोड्ने लिपिङ बजारको मितेरी पुलसम्मको सडक पुनर्निर्माणका लागि विभागले यो रकम मागेको हो। भूकम्पपछि यो नाका बन्द छ। भूकम्पपछि खासा बजार क्षेत्रका वासिन्दालार्इ समेत सिगात्से पुनर्स्थापना गरेको छ। चीनले यो नाका खोल्नेगरि आफ्नो तर्फको पुनर्निर्माण गरिरहेको छ।

विभागका अनुसार चीनले मितेरी पुल पुनर्निर्माण गरिरहेकोले यो नाकालार्इ प्राथमिकतामा राखिएको देखिन्छ। दुर्इ देशलार्इ जोड्ने मितेरी पुल समेत चीन सरकार आफैले धमाधम निर्माण गरिरहेको छ। आगामी फागुन मसान्त तथा चैतसम्ममा मितेरी पुल समेत तयार हुनेछ। नेपालतर्फको मितेरी पुलदेखि ६ किमी सडक चीन सरकार आफैले बनाइदिन सुरु गरिसकेको छ।

विभागका प्रवक्ता मुक्ति गौतमले सडक पुनर्निर्माणको लागि ३० करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागिएको बताउँदै वैशाखसम्म यो सडक बनिसक्ने दाबी गरे। 'हामीले सडक पुनर्निर्माणका लागि अर्थसँग पैसा मागेका छौँ। पैसा निकासा हुने बित्तिकै ठेक्का निकालेर काम सुरु गरिहाल्छौँ' गौतमले भने।

गौतमका अनुसार आगामी वैशाखसम्ममा सडकको निर्माण तथा स्तरोन्नति सकेर पूर्ण रूपमा सञ्चालन गर्न मिल्नेछ। करिब २२ किमी लामो यो सडक 'डेडिकेटेड डबल' लेनको बनाउनका लागिएको हो। ०७१ मा गएको जुरे पहिरो, ०७२ सालको विनाशकारी महाभूकम्प, ०७३ सालमा भोटेकोसीमा आएको बाढीले कोदारी राजमार्गका ६० भन्दा बढी स्थानको सडक क्षतिग्रस्त भएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी क्षति तातोपानी आसपासको क्षेत्रमा भएको थियो। सडकको पहिरो हटाएर अहिले तातोपानीसम्म गाडी चलिरहेका छन्। तर मालवाहक ट्रकहरु भने साँघुरो बाटो भएका कारण त्यहाँसम्म पुग्न सक्दैनन्।

विभागले माथि भिर धेरै भएकाले त्यसलार्इ कटिङ नगरी तलबाट वाल उठाउने र पहिरो फ्याँकेर स्तरोन्नति गरी दुर्इलेनको सडक बनाउन लागेको हो।

 

तयार हुँदै लार्चामा सुख्खा बन्दरगाह

चीन नेपाल जोड्ने र मितेरी पुलबाट नेपालतर्फ करिब ६ किमीमा पर्ने लार्चामा आधुनिक भवनसहितको सुख्खा बन्दरगाह निर्माण तीव्र रूपमा भइरहेको छ।

गत जेठबाट पुनर्निर्माण सुरु गरिएको बन्दरगाह अन्तिम अवस्थामा छ। वैशाखमा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर विनोद आचार्यले जानकारी दिए। उनका अनुसार  करिब मुख्य संरचनाहरू तयार भइसक्ने अवस्थामा पुगेका छन्।

नेपाल र चीन सरकारबीचमा द्धिपक्षीय सम्झौता भएर ०६९ सालबाट बन्दरगाह निर्माण सुरु गरिएको थियो। बन्दरगाहभित्र बन्ने मुख्य प्रशासनिक भवन सहितका संरचनाहरुले एक खालको आकार लिइसकेका थिए। ०७२ वैशाख १२ मा आएको भूकम्पले ठुलो क्षति पुर्याकयो। तातोपानी क्षेत्रमा पनि ठुलो क्षति पुग्यो। चिनियाँ भू-भागमा पर्ने खासा बजारमा समेत क्षति पुग्यो।

भूकम्पपछि तातोपानी नाका बन्द भयो। २०१७ मार्चमा चिनियाँ दूतावास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका बीच सुख्खा बन्दरगाह सञ्चालनमा ल्याउने सहमति भयो। १५ करोड खर्चेर पुनर्निर्माण भइरहेको बन्दरगाह भोटेकोसीमा आएको बाढीले  फेरि पहिलेकै अवस्थामा फर्काइदियो।

त्यसपछि पुनः अहिले दुर्इ देशबीचमा समझदारी भएर निर्माण भइरहेको छ। मुख्य प्रशासनिक भवन ठडिइसकेको छ। अहिले पार्किङ र टर्मिनलका कामहरू भइरहेको इन्जिनियर आचार्यले जानकारी दिए। त्यसै गरी बन्दरगाहसम्म पुग्नका लागि भोटेकोसीमाथि पुल समेत निर्माण भइरहेको छ। दुबैतिरको फाउण्डेसन तयार भएकाले अब त्यसमाथि डेक राख्ने काम सुरु गरिएको समितिले जनाएको छ। भोटेकोसीमाथि ९० मिटर लामो मोटरेवल पुल बनाउन लागिएको हो। चीन सरकारको १ अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहयोगमा बन्दरगाह निर्माण थालिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell