PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

८८ किलो सुन तस्करी प्रकरणः फरार मुख्य अभियुक्तलाई ५ वर्ष कैद, गाडी चालकलाई ४३ करोड जरिवाना



पहिलोपोस्ट

८८ किलो सुन तस्करी प्रकरणः फरार मुख्य अभियुक्तलाई ५ वर्ष कैद, गाडी चालकलाई ४३ करोड जरिवाना

काठमाडौँः ०७४ भदौमा भएको ८८ किलो सुन तस्करी मुद्दामा काठमाडौँ जिल्ला अदालतले फरार मुख्य अभियुक्त दुई चिनियाँ नागरिकसहित तीन जनालाई दोषी ठहर गरेको छ। संगठित अपराधमा मुद्दा चलाइएका १३ प्रतिवादीमध्ये १० जनालाई भने प्रमाण अभावमा सफाइ दिएको छ।

न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले मंसिर ४ गते अभियुक्तमध्ये तीनलाई दोषी ठहर गरेको हो। गत वर्ष भदौमा रसुवा नाका हुँदै काठमाडौँ भित्र्याइएको ८८ किलो सुन क्षेत्रपाटीमा समातिएको थियो।

काठमाडौँ जिल्ला अदालतका रजिस्ट्रार कृष्णप्रसाद नेपालले मुद्दामा आंशिक ठहर भएको बताए। नेपालले मुख्य अभियुक्त र एक सवारी चालकलाई अदालतले दोषी ठहर गरेको बताए। अन्य प्रतिवादीको हकमा सफाइ भएको उनले जानकारी दिए।

अदालतले दोषी ठहर गरेकामध्ये मुख्य अभियुक्त भनिएका याङ वइमिङ र पान वइमिङ छन्। उनीहरु दुबै पक्राउ पर्न सकेका छैनन्। उनीहरुलाई अदालतले जनही ५ वर्ष कैद र ४३ करोड ७० लाख रुपैयाँ जरिवाना हुने आदेश गरेको छ।

यस्तै, भरियाका रुपमा रहेका सवारी चालक मनोज अधिकारीलाई तीन वर्ष कैदको सजाय सुनाइएको छ। अधिकारीलाई प्रहरीले सुनसँगै पक्राउ गरेर मुद्दा चलाएको थियो।

जिल्ला अदालतकै थुनछेक आदेशले उनी थुनामै छन्। अधिकारीलाई पनि मुख्य अभियुक्त सरह जरिवाना तोकिएको छ।

अभियुक्त बनाइएका हिसे लामा, हिसे साङ्वा तामाङ लगायतले सफाइ पाएका हुन्। यस्तै मुख्य अभियुक्त मानिएका चिनियाँ व्यापारीसँगको सम्बन्धका आधारमा मुद्दा चलाइएका सुन व्यापारीहरुले पनि सफाइ पाएका छन्।

फैसलामा चित्त नबुझाउने पक्षले फैसला पाएपछि उच्च अदालतमा पुनरावेदन दिन सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell