PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जापान भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, के के भए सम्झौता?



विधुर ढकाल

जापान भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, के के भए सम्झौता?

काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जापान र थाइल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका छन्। १ मंसिरमा जापानका लागि प्रस्थान गरेका परराष्ट्रमन्त्री ज्ञवाली थाइल्याण्ड हुँदै आज दिउँसो स्वदेश फर्किएका हुन्। 

उनको जापान भ्रमणको क्रममा नेपाल सरकारलाई खाद्य सहायता कार्यक्रम सञ्चालनका लागि जापान सरकारले ३५ करोड जापानी येन बराबरको सहायता गर्नेसम्बन्धी सहायता सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतामा नेपालका तर्फबाट जापानका लागि नेपाली राजदुत प्रतिभा राणा र जापानका तर्फबाट नेपालका लागि जापानी राजदुत माशामिची साइगोले हस्ताक्षर गरेका हुन्। 

जापान भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँका समकक्षी तारो कोनो, कृषि, वन तथा मत्स्य मामिलामन्त्री ताकामोरी कोसिकावा, नेपाल जापान संसदीयमैत्री समूहका सभापति एवं लिवरल डेमोक्रेटिक पार्टीका महासचिव तोसिहिरो निकाइ, जाइकाका अध्यक्ष शिनिचि कितायोकासँग भेट गरेका थिए। तारोकानोसँगको भेटमा नेपालको विकासक्रम नेपाल सरकारका प्राथमिकताबारेमा जापान सरकारलाई अवगत गराएको परराष्ट्रमन्त्री ज्ञवालीले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए। 

‘आर्थिक विकासको लागि सरकारको प्राथमिकतामा रहेका क्षेत्रहरु जस्तै कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, उर्जा उत्पादन, पूर्वाधार विकास, पर्यटन, तथा मानव स्रोतको विकासमा जापानी सरकारको सहयोगको लागि अनुरोध गरेँ,’ मन्त्री ज्ञवालीले भने, ‘नेपालमा जापानी लगानी प्रवद्र्धन, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि सहयोग, नेपालीहरुका लागि जापानमा रोजगारी खुला गर्न अनुरोध गरेँ।’

उनले जापानलाई युवाहरुको क्षमता विकासका लागि तालिम केन्द्र सञ्चालनमा सहयोगको आग्रह गरेको बताए। ‘जापानको संसदमा रोजगारी सम्बन्धी विल विचाराधीन रहेको छ। सो विल पारित भएपछि जापानसँग श्रम सम्बन्धी सम्झौता हुनेछ,’ उनले भने, ‘जापानलाई आवश्यक पर्ने दक्ष कामदार उत्पादनका लागि तालिम केन्द्र सञ्चालनको लागि सहयोग गर्नसमेत आग्रह गरेको छु।’

उनले नेपाल र जापानबीच सीधा हवाई सेवा विस्तारमा सहयोग गर्नसमेत जापानी समकक्षीलाई आग्रह गरेको जानकारी दिए। 

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले सन् २०१९ मा जापानबाट उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गरे। जापान परराष्ट्रमन्त्रीसँगको भेटमा दुबै पक्षबीच दुई देशको सम्बन्धलाई अझ सुदृढ गराउनका लागि उच्चस्तरीय भ्रमणको आदान प्रदान गराउन सहमत भएको उनले जानकारी दिए। 

एनआरएन थिंक ट्यांक र नेपाल सरकारको थिंक ट्यांकबीच सहकार्य 


यसैबीच नेपाल सरकार र गैर आवासीय नेपाली संघ एनआरएनएबीच नीतिगत क्षेत्रमा सहकार्यको विषयमा छलफल भएको छ। जापान भ्रमणपछि थाइल्याण्ड पुगेका परराष्ट्रमन्त्री ज्ञवाली एनआरएनएले हालै बनाएको एनआरएनए थिंक ट्यांक नेपाल पोलिसी इन्स्टीच्यूट (एनपीआई) का पदाधिकारीबीच छलफल भएको थियो। 

छलफलका क्रममा एनपीआईका अध्यक्ष खगेन्द्रराज ढकालले एनपीआई र नेपाल सरकारको थिंक ट्यांकबीच साझेदारी गर्ने सम्बन्ध आधिकारिक अनुरोधपत्र परराष्ट्रमन्त्री ज्ञवालीलाई बिहीवार हस्तान्तरण गरेका हुन्। 

बैंककस्थती नेपाली दुतावासमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले एनआरएनए नेपाल नेपाल सरकारको विकास साझेदार भएको भन्दै एनपीआईसँग नीति तर्जुमा तथा निर्माण सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको एनपीआईका अध्यक्ष ढकालले जानकारी दिए। 

एनपीआईले हस्तान्तरण गरेको पत्रमा एनपीआई नेपाल सरकारका विभिन्न निकाय, राष्ट्रिय योजना आयोगसँग साझेदारीका लागि अनुरो गरिएको छ। गत महिना काठमाडौँमा भएको कार्यक्रममा एनपीआईले एनआरएनहरुको नेपालका विकासमा हुने भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो। 

एनपीआइएले वर्ष २०१९–२०२१ का लागि रणनीतिक योजनासमेत मन्त्री ज्ञवालीलाई बुझाएको थियो। 

परराष्ट्रमन्त्री ज्ञवालीसँगको छफलमा एनपीआईका अध्यक्ष ढकालले नेपाली र विश्वका जुनकुनै कुनामा रहेका नेपाली मुलका विज्ञहरु एनपीआईका सदस्य रहेको भन्दै उनीहरुसँग भएको ज्ञानलाई नेपालसँग लैजाने पुँजी सिर्जना गर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell