वीरगंज : सप्तरीको इनरुवामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान जानुको साथै दर्जनौ घाइते भएका छन्। भारदह–राजविराज सडकखण्ड अन्तर्गत पर्ने इनरुवामा साँझ साढे ७ बजे तीर्थयात्री बोकेको यात्रुवाहक बस दुर्घटना भएको हो।
मृत्यु हुनेमध्ये डाकनेश्वरी नगरपालिका वडा नम्वर ११ की बेचनीदेवी यादव, ६५ वर्षीया ठकनीदेवी यादव र ७० वर्षीया सिकिलदेवी साहको पहिचान खुलेको छ। बाँकी दुई जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुर्घटनामा केही यात्रुहरु घाइते न्। तीमध्ये चार जनाको अवस्था चिन्ताजनक छ।
अधिकांश यात्रु डाक्नेश्वरी नगरपालिकाकै रहेको डिएसपी भावेश रिमालले जानकारी दिए। घाइतेलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पुर्याएका छन्।
सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका करिब ६० जना यात्रु बोकेको को १ ख २७९९ नम्बरको छिन्नमस्ता माँ भगवती ट्राभल्स नामक बस सडक छेउमा रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो। दुर्घटनाको कारण आधिकारिक रुपमा नखुले पनि पछाडिबाट मालवाहक ट्रकले ठक्कर हानेपछि बस सडक छेउकै पोखरीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
हिजो पनि डडेलधुरामा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।