PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ : गोपाल किराँती

प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ : गोपाल किराँती

विधुर ढकाल/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पार्टी पुनर्गठन दिवशमा आयोजित जनसभामा नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिएका छन्।  

उनले प्रचण्डको प्रवृत्तिको उछितो काड्दै त्यस्तो प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताएका हुन्। 

'हामी जनयुद्ध गरेकाहरुले महान जनयुद्ध भन्दै आयौं। अहिले त्यो अतीत भयो। अझ हामीले जनयुद्धको कार्यभार पूरा गर्नुछ,' सभालाई सम्बोधन गर्दै किराँतीले भने, 'खड्ग ओली सरकारले कम्युनिस्टको नाम भजाएर खाँदैछ। हिजो ज्योति बसुले कम्युनिस्टको नाममा सच्चा क्रान्तिकारी मजुम्दारलाई दमन गरेर बंगालमा २५ वर्ष शासन गरे, अहिले बंगालमा उनको पार्टी छैन।'

रामकृष्ण ढकालको चर्चित गीत 'माया गर्नेको चोखो माया पनि देखियो…' लाई मोड्दै उनले भने, 'खड्ग ओली र प्रचण्डको समाजवाद पनि देखियो…। खड्ग ओली प्रचण्डको समृद्धि पनि देखियो भन्ने गीत जनताले गाउनु पर्छ। तब हाम्रो पालो आउँछ।'

उनले क्रान्तिकारी र डाँकाको तुलनासमेत गरे। 'कारवाही जनताको लागि भए क्रान्तिकारी हुन्छ। कारवाहीमा व्यक्तिगत स्वार्थ भए डाँका हुन्छ,' उनले भने, 'डाँकाको कारवाही जनताको पक्षमा भए डाँका पनि क्रान्तिकारी हुन्छ। कारवाही व्यक्तिगत भए क्रान्तिकारी पनि डाँका हुन्छ। हिजो प्रचण्ड क्रान्तिकारी थिए। आज आन्दोलनलाई गद्दार गरे। त्यसैले अब प्रचण्ड डाँका हो।' 

उनले प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताए। 'हिजो महान् भन्ने प्रचण्डमा आज विश्वका पूजीपति र दलालले पाउने नोबेल पुरस्कारको आशक्ति बढेको छ। यो पुरस्कार कसले पाउछ भने चीनका दलाइ लामाले पाउँछन्,' उनले भने। 

भ्रष्ट दलालहरुको एनजिओले चलाउँछ कम्युनिस्ट  : ऋषि कट्टेल

सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालमा ५० वर्षको कम्युनिस्ट अान्दोलनमा पचासौं पटक पुनः गठन भएको बताए। 'अब यो पुनः गठन अावश्यक छ। अहिले देशमा कम्युनिस्ट पार्टीको नाम गरेको भ्रष्ट दलालहरुको एनजीओ हरुको समूहले चलाएको छ,' उनले भने, 'प्रचण्ड र अोली यही समूहको नेतृत्व गरिरहेेका छन्। कम्निस्ट पार्टीको सरकारको विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु संघर्षमा उत्रिनु परेको छ।'

उनले जबजब क्रान्ति उत्कर्षमा पुग्छ तबतब नेतृत्वले गद्दारी गर्ने गरेको बताए। 

'नेपाली क्रान्तिको बाटो भनेको बृहत् कम्युनिस्टहरुको संयुक्त जनसंघर्षले तय गर्नेछ। अब क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ। कम्युनिस्ट अान्दोलनमा नेतृत्वले गद्दारी गरे पनि जनताले सच्चा क्रान्तिकारीहरुलाई साथ दिन्छन्,' उनले भने, 'अहिलेको संघर्ष ज्ञानेन्द्रको विरुद्ध जस्तो होइन। यो संघर्ष जनयुद्ध गरे भन्नेहरु,झापा विद्रोह गरेँ भन्नेहरु जसले सत्तामा पुगेर जनतालाई दमन गरिरहेका छन्। खुसी लाग्छ ९ महिनामा नांगिसकेको छ।' 


ट्रेन्डिङ पोस्ट

Ncell