PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

टीयू मैदानमा जोन्टी रोड्सको ब्याटिङ र बलिङ, च्यारिटी म्याचमा पारसको टोली पराजित

टीयू मैदानमा जोन्टी रोड्सको ब्याटिङ र बलिङ, च्यारिटी म्याचमा पारसको टोली पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : सन् ९० को दशकका क्रिकेट खेलाडी, साउथ अफ्रिकन लिजेण्ड अनी फिल्डिङमा क्रान्ती ल्याउने खेलाडी हुन् जोन्टी रोड्स। विश्वका ठूला-ठूला क्रिकेट मैदान अनी ठूला क्रिकेट खेलाडीसँग उनले खेलेका छन्।

उनी विश्वकै उत्कृष्ट फिल्डर हुन्। सन् १९९२ को विश्वकपमा जोड्सले उत्कृष्ट फिल्डिङ गर्दै पाकिस्तानका इन्जमान उल हकलाई रनआउट गरेका थिए।

उनै विश्व चर्चित खेलाडी रोड्स शनिवार कीर्तिपुरस्थित टी यू क्रिकेट मैदानमा नेपाली  खेलाडीहरुसँग खेलिरहेका थिए। उमेरले पाँच दशक नजिक पुगेका रोड्सको प्रदर्शन अझै पनि उस्तै थियो। उनले टी यू मैदानमा बलिङ, फिल्डिङ, विकेटकिपिङ र ब्याटिङ सबै गरे।

अटिजम केयर नेपाल कास्की जिल्ला शाखाको सहयोगको लागि भएको च्यारिटी म्याचमा जोन्टी ११ र नेपालका राष्ट्रिय टिमका कप्तान पारस खड्काको टिम पारस ११ बीच खेल भएको हो। उक्त खेलमा जोन्टीको टिम विजयी भयो।

पारसको टिमले पहिले ब्याटिङ गर्दै २०९ रन बनाएको थियो। जवाफमा जोन्टीको टिमले १९ ओभरमा सबै विकेट गुमाउँदा लक्ष्य भन्दा पछाडी थियो। तर जोन्टीको टिमलाई त्यसपछि पनि ब्याटिङ गर्न दिइयो र खेल जितेको हो।

जोन्टी र पारस सँगै नेपालका दुई कलाकार सुनिल थापा र सन्दीप क्षेत्री लगायत नेपालका अन्य राष्ट्रिय क्रिकेटरहरुले पनि यस च्यारिटी म्याचमा भाग लिए।

पारसको टिमबाट रायन मारोन, सुनिल थापा, सन्दीप क्षेत्री, दीपेन्द्र सिंह ऐरी, ललितसिंह भण्डारी, आरिफ शेख, विनोद भण्डारी, ललित नारायण राजवंशी, प्रशिक्षक राजु बस्न्यात लगायतले खेलेका थिए।

यस्तै जोन्टीको टिमबाट पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक कलाम अली, दिपेन्द्र चौधरी, मन्जुर आलम खानसँगै राष्ट्रिय खेलाडीहरु सुवास खकुरेल, अनिल कुमार शाह, कमल सिंह ऐरीसँगै आयोजक संस्थाका खेलाडी समेत खेलेका थिए।

अन्य खेलमा जस्तो यस खेलमा हार जितको लागि भिडन्त थिएन। प्रतिस्पर्धा पनि धेरै भएन। खेलाडीहरु आरमले खेलिरहेका थिए। आरामले ब्याटिङ र बलिङ गरिरहेका थिए। नतिजा हात पार्न भन्दा पनि मनोरञ्जनका लागि खेलिरहेका थिए।

कलाकार सन्दीप क्षेत्रीले खेलाडीले खेलेर दिएको मनोररञ्जन भन्दा कमेन्ट्री गरेर धेरै मज्जा दिए। उनले पारसको टिमको लागि ब्याटिङमा १४ रन बनाए भने बलिङमा १ विकेट पनि लिए। आफ्नो खेल्ने समय सकिएपछि उनी कमेन्ट्री गर्न जान्थे र आफ्नै भाषामा कमेन्ट्री गर्दै दर्शकलाई हसाउँथे साथै खेलाडीलाई पनि उनको कमेन्ट्रीले मनोरञ्जन प्रदान गरेको थियो।

विश्व क्रिकेटकै हस्तीसँग आफ्नै मैदानमा खेल्न पाउनु नेपाली खेलाडीहरुका लागि पनि चानचुने विषय थिएन।

नेपालका कप्तान पारस खड्काले देब्रे हातले ब्याटिङ र बलिङ समेत गरेका थिए।

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा भएको हाइ परफरमेन्स क्याम्पका लागि दुई साता अघि रोड्स नेपाल आएका थिए।

जोड्ससँगै वेष्ट इन्डिज र अफगानिस्तानका पूर्व फिल्डिङ प्रशिक्षक रायन मारोनले नेपालका यू-१९ र यू-१६ खेलाडी टीयू मैदानमै १० दिनको लागि क्याम्प सञ्चालन गरेका थिए।  

फोटोहरु : रासस

ब्याटिङ गर्दै जोन्टी रोड्स
बलिङ गर्दै जोन्टी रोड्स
ब्याटिङ गर्दै सुनिल थापा
विकेट लिएपछि सन्दिप क्षेत्री
पारस खड्का लेफ्ट आर्म स्पीन बलिङ गर्दै


ट्रेन्डिङ पोस्ट

Ncell