PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

तालाचाबी लगाएको ट्याङ्करबाट कसरी चोरी भयो २५ सय लिटर तेल? निगमको छानबिन टोली पुग्यो विराटनगर



अनन्तराज न्यौपाने

तालाचाबी लगाएको ट्याङ्करबाट कसरी चोरी भयो २५ सय लिटर तेल? निगमको छानबिन टोली पुग्यो विराटनगर

विराटनगरः भारतीय आयल कर्पोरेसनका बरौनी र सिलिगुडीस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्याङ्करमा अत्याधुनिक सुरक्षा ताल्चा जडान भएको चार महिना पूरा भइसकेको छ।

ट्याङ्करमा अत्याधुनिक सुरक्षा ताल्चा जडान गरिएपछि अब तेल चोरी रोकिने निगमको विश्वास थियो। तर ताल्चा लगाउन थालेको चार महिना पूरा नहुँदै लक गरिएको ट्याङ्करबाटै तेल चोरी भएको छ। आइओसीको बरौनी डिपोबाट अत्याधुनिक ताल्चा लगाएर ल्याइएको एक लरीबाट २ हजार ५ सय लिटर डिजेल चोरिएको तथ्य बिहीबार पत्ता लागेको हो।

विराटनगर ल्याइएको तेल बीचमै चोरी भएको पाइएको हो। ट्याङ्करमा लगाइएको तालाको साँचो निगमका डिपो प्रमुख र आइओसीका अधिकारीसँग मात्रै हुन्छ। डिपो प्रमुख र चालकबीच मिलेमतो नभर्इ तेल निकाल्नै सकिँदैन। साँचोको अर्को साँचो बन्न सक्दैन। कम्पनीले बनाएकै साँचोबाट ताल्चा खोल्नुपर्ने हुन्छ।

विराटनगरमा डिपो प्रमुख छन् दिनेश यादव। उनको विगत विवादस्पद नै छ।

 

कसरी लाग्यो पत्ता?

स्रोतका अनुसार प्रबन्धक यादवले डिपोमा डिप लिन ‘सेटिङ गरेर’ खटाएका कर्मचारी वीरेन्द्र मिश्र मंसिर ६ गते झापाको चारआली गएका थिए। झापाका डिलरले निगमको विराटनगरस्थित डिपोबाट कम तेल आउने गरेको गुनासो बारम्बार गरेपछि बाध्य भएर प्रबन्धक यादवले मिश्रलाई झापा खटाएका थिए।

मिश्रको अनुपस्थितिमा को १ ख ५०६५ नम्बरको ट्याङ्करको डिप लिने जिम्मा अर्का कर्मचारी पुण्य पौडेलले गरे। प्रबन्धक यादव र चालकबीचको ‘सेटिङ’ पौडेललाई थाहा थिएन। उनले ट्याङ्करको डिप लिँदा डिजेल ८३ सेन्टिमिटर अर्थात् २५ देखि २६ सय लिटर कम देखियो। प्रबन्धक यादवले मिश्र झापा गएको र पौडेलले डिप लिएको घटना पुष्टि गरेका छन्।

डिजेल कम भएको देखिने बित्तिकै पौडेलले सबैलाई थाहा हुने गरी कराए। प्रबन्धक यादव तुरुन्त डिपो पुगे। सामसुमका लागि कर्मचारीलाई थामथुम पार्न खोजे तर यादवको व्यवहारसँग दिक्क भएका कर्मचारीले घटना सेलाउन दिएनन्। उनीहरूले केन्द्रीय कार्यालय, स्थानीय प्रशासन लगायत सम्बन्धित निकायमा तत्काल खबर गरे।

प्रबन्धक यादवले आफूसित भएको साँचो ट्याङ्कर चालकलाई दिएर तेल चोरी गर्न दिएको स्रोत बताउँछ। स्रोतका अनुसार यादव विराटनगरमा प्रबन्धक भएर आएपछि आइओसीबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करको तौल गराउन छाडिएको छ। ट्याङ्करको तौल गराएपछि आइओसीको डिपोमा देखिएको जत्तिनै वजन छ कि छैन तथा तेल कम भएको छ वा छैन भन्ने तथ्य तुरुन्त पत्ता लाग्छ। तर यादव आएपछि २०७५ साउनको पहिलो सातादेखि नै ट्याङ्करले तौल गर्नुपर्ने नियम तोडिएको छ।

निगमभित्र रहेको क्यालिब्रेशन टावर पनि दुई महिनादेखि बिग्रिएको छ। आइओसीको डिपोमा पेट्रोलियम पदार्थ भरेर ल्याउने ट्याङ्करले क्यालिब्रेसन टावरमा तौल गर्नुपर्छ। त्यसपछि डिप लिने काम गरिन्छ। तेल कम आएको तथ्य पत्ता नलागोस् भनेर क्यालिब्रेसन टावर बिगार्न लगाएको निगमको स्रोतको दाबी छ।

आइओसीको बरौनी डिपोबाट तेल भरेर विराटनगर डिपोमा बिहीबार ल्याइएका कुनै पनि ट्याङ्करको तौल लिने काम बिहीबार नगरिएको निगमको स्रोतले बतायो।

 

'मैले चोराएको होइन, कारबाही गरिसकेँ'

प्रबन्धक यादवले डिजेल कसरी कम आयो भन्ने कुरामा आफू अनविज्ञ रहेको र दोषीलाई कारबाही गरिसकेको बताए।

यादवका अनुसार डिजेल कम रहेको ट्याङ्कर शुकदेव सिंह नामका व्यक्तिको हो। ढुवानीकर्ता पनि उनै हुन्। उनलाई २ हजार ५ सय लिटर डिजेल कसरी कम भयो भनेर बिहीबार नै २४ घण्टे पत्र काटिएको छ। साथै उनलाई तीन महिनासम्म ढुवानीमा बन्देज लगाउने निर्णय गरिएको छ।

ढुवानीकर्ता सिंहका ३० वटा ट्याङ्कलरी छन् ।त्यस्तै ट्याङ्करका चालक भारतको बथनाहा ठेगाना भएका धर्मेन्द्र स्वर्नकारलाई नेपालभरिका निगमका डिपोमा छिर्न र ट्याङ्कर चलाउन ६ महिनाका लागि प्रतिबन्ध लगाइएको छ। प्रबन्धक दिनेशले ढुवानीकर्ता सिंहलाई कम भएको डिजेलको २ गुणा बढी रकम तिराउने र उनका नाममा भएका अन्य पिडिओ पनि रोक्का गर्ने निर्णय आफूले गरेको जानकारी दिए।

उनले क्यालिब्रेसन टावर बिग्रिएको स्वीकार गरे। ट्याङ्करमा रहेको तेलको डिप लिने कार्य गरिने हुँदा क्यालिब्रेशनमा तौल गर्नु वा काँटा गर्नुको कुनै अर्थ नहुने दिनेशले बताए। डिप लिएर क्रस चेक गरिने हुँदा काँटा नगरिएको उनको भनाइ थियो ।प्रबन्धक यादवले आफूलाई पानीमाथिको ओभानो देखाउन खोजे पनि ‘तेल कम’का बारेमा जाँच गर्न निगमको केन्द्रीय टोली विराटनगर आइपुगेको छ।

निगमको केन्द्रीय कार्यालयका निर्देशक अञ्जना पोखरेलका नेतृत्वमा इन्जिनियर प्रमेश पुडासैनी र सहायक प्रबन्धक राजकुमार रेग्मी रहेको तीन सदस्यीय टोलीले घटनाको छानबिन गरिरहेको छ। प्रबन्धक यादवले केन्द्रीय छानबिन टोली शुक्रबार नै विराटनगर आएको बताए।

 

'सम्धी' मन्त्री भएपछि

दिनेश यादव यसअघि पनि विराटनगरस्थित निगमको प्रदेश कार्यालयमा प्रबन्धकका रूपमा सरुवा भई आएका थिए। २०७३ भदौमा विराटनगर सरुवा भई आएका उनले व्यापक अनियमितता गरी पेट्रोलियम पदार्थकै कृत्रिम अभाव गराएपछि २०७३ फागुनमा सरुवा हुनुपरेको थियो।

यसैबीच प्रबन्धक यादवका नातामा सम्धी पर्ने नेता मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएपछि दिनेशको चुरीफुरी बढ्यो। त्यसैले विराटनगरमा रहँदा गएको इज्जत बटुल्न मन्त्री यादवको सोर्स लगाएर दिनेश फेरि त्यही पदमा आइपुगेका हुन्। यादवले चालकसित मिलेर पेट्रोलियम पदार्थमा अनियमितता गरेका कारण निगमको विराटनगरस्थित डिपोको ‘लस’ धेरै बढेको स्रोत बताउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell