कार्तिक २६ गतेबाट छायाङ्कनका लागि फ्लोरमा उत्रने घोषणा गरेको थियो फिल्म ‘बीर विक्रम’ युनिटले। तर, अन्तिम समयमा आकाश श्रेष्ठले फिल्म छाडेपछि छायाङ्कन पर सर्यो। आकाशको ठाउँमा पल शाह अनुबन्धित भए र फिल्मको स्क्रिप्ट पनि फेरबदल गर्नु पर्ने भयो।
सोही चटारोमा थिए फिल्म लेखक प्रदीप भारद्वाज पनि। कार्तिक २८ गते उनको कार्यालय पुग्दा उनी कथामै घोत्लिरहेका थिए।
हामीलाई देखेर भने,'स्क्रिप्टलाई पल फ्रेण्ड्ली बनाउँदै छु।'
१५ वर्षदेखि फिल्म लेखनमा सक्रिय प्रदीपका लागि स्क्रिप्ट फेरबदल नौलो कुरा होइन। फिल्मका पात्रले फिल्म छाडे भने उनी स्क्रिप्टमा परिवर्तन गर्न बसिहाल्छन्, जस्ताको त्यस्तै छाड्दैनन्। उनले अहिलेका स्टार प्रदीप खड्का, अनमोल केसी, सौगात मल्ललगायतका लागि कथा लेखिसकेका छन्।
स्कूल भर्ना नहुँदैको कुरा हो, प्रदीपले आफ्नी आमा र फूपुलाई मनमा लागेका कुरा कथा बनाएर सुनाउँदै थिए। फूपुले उनले भनेको कथा कापीमा लेखिदिइन। प्रदीप त्यो कापीको पाना बोकेर साथीहरुकोमा गए। कथा पढेर सुनाउन खोजे। सकेनन्।
त्यसपछि उनमा पढ्ने रहर चढ्यो। फूपुले बजारबाट पाटी र चक किनेर ल्याइन्। त्यसमा क देखि ङ सम्म लेखिन् र पढाउन थालिन्।
‘त्यसदिन मेट्दै, लेख्दै गरेँ। भोलिपल्ट त्योभन्दा धेरै पढेँ, सिकेँ। मैले अक्षर चिनेकै आफ्नो कथा पढ्न थियो' उनी सुनाउँछन्।
कथा सुनाउने स्वभावले नै उनलाई बाह्रखरी चिनायो। विद्यालय जीवनमा पनि थुप्रै कथा लेखे। मामाको जेठो छोरो मोहनप्रसाद भट्टराईसँगको रहनसहनले भने उनको कथा लेखनका लागि आवश्यक तयारी गर्न सहयोग पुर्यायो। उनले लेख्नेमात्र होइन अरुको कथा, उपन्यास पनि पढ्न थाले।
कक्षा ७ पढ्दा विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ हात पारे। निकै चाख मानेर पढ्दै थिए। उनका मामाले थाहा पाए। ‘उहाँको डर स्कूलको पढाई बिग्रन्छ भन्ने थियो। तर म सोही वर्ष कक्षा टप भएँ।’ एसएलसीसम्म उनले पढाईका कारण गाली खानु परेन।
एसएलसीपछि कुन विषय पढ्ने भन्ने दोधार थियो। बुवा चाहन्थे छोरो इन्जिनियर बनोस्। आमा भन्थिन् डाक्टर र मामा सधैं पाइलट बन्न हौस्याउँथे। तर, प्रदीपमा त फिल्मको कथा लेख्ने भूत सवार त्यति नै बेला भएको थियो जब हरेक हप्ता बुवासँग फिल्म हेर्न हलमा पुग्थे। उनको रहरसँग बुवा खुशी थिएनन् तर आमाले साथ दिइन्। उनलाई थाहा थियो- फिल्म काठमाडौँमा बन्छ भन्ने। त्यसैले काठमाडौँ हान्निए।
फिल्म लेखनको यात्रा
प्रदीपले पहिलोपटक फिल्म ‘जंगली मान्छे’ लेखे।
'राजेश हमाल, विराज भट्टको समयमा यस्तो पनि कथा हुन्छ? यस्तो कथामा पनि फिल्म बन्छ भनेर मान्छेले उडाउँथे,' उनले सम्झे 'त्यतिखेर 'कसले चोर्यो मेरो मन', 'देवर बाबु', 'छोडीगए पाप लाग्ला'को कथा लेखेँ। त्यही चल्यो'।
लेखन राम्रो भएको थाहा भएपछि धेरैले किताब लेख्न सुझाव दिए। उनलाई भने एउटा किताब लेख्ने समयमा तीनवटा फिल्म सक्छु भन्ने आँट हुन्थ्यो। त्यसपछि फिल्म लेखनलाई नै निरन्तरता दिए। उनको कथामा फिल्म नबने पनि कथाहरु संकलन गरेर राखे। अहिले उनलाई त्यहि कुराले फाइदा भएको छ। अहिले उनले लेखी सिध्याएका अधिकांश कथामा फिल्म बनेका छन्।
पछिल्लो समय प्रदर्शनमा आएको फिल्म 'पञ्चेबाजा' त उनले स्कूलमै छँदा लेखेका थिए।
खाजा पनि फिल्म हलकै मनपर्छ
उनी बिहान ७ बजेदेखि रातिको ७ बजेसम्म अफिसमा स्क्रिप्ट लेखेर बिताउँछन्। 'म २४ घण्टा फिल्म सोच्छु। मेरो दिमागमा फिल्म नै घुमिरहन्छ। म फिल्म कै साथीहरु भेट्छु,' उनले भने 'मलाई खाजा पनि फिल्म हलमा नै गएर खान मनपर्छ। फिल्म भन्दा बाहिर मेरो संसार छैन।'
उनको गर्लफ्रेन्डसँग ब्रेकअप पनि फिल्मकै कारण भएको थियो। फिल्म र गर्लफ्रेन्ड रोज्ने मौका दिँदा प्रदीपले फिल्म छानेका थिए।
विवाह गर्दा श्रीमतीलाई भनेको सम्झन्छन् 'तिमीसँग यो मेरो दोस्रो विवाह हो। पहिलो त फिल्म इन्डष्ट्रीसँग भइसक्यो'।
उनको फिल्मप्रतिको यही मोहका कारण त अहिले १ वर्ष कुरेर पनि प्रदीपसँगै काम गर्न चाहने फिल्मकर्मी भेटिन्छन्।
त्यतिखेर र अहिले
उनले फिल्म लेखन सुरु गर्दा प्रविधिको विकास भएको थिएन। स्क्रिप्ट राइटरका लागि बजेट ‘विविध खर्च’को लिस्टमा छुट्टाइएको हुन्थ्यो। फिल्मको मेरुदण्ड मानिने स्क्रिप्ट लेखकका लागि भनेर बजेट छुट्याइएको हुन्थेन। उनले त्यो बेला पनि कथा लेखन छोडेनन्।
‘अहिले त फिल्म लेखनमा भविष्य खोज्नेहरुलाई राम्रो समय छ नि।'उनी भन्छन्।
पहिलो फिल्म 'जङ्गली मान्छे' लेखेका प्रदीपले त्यतिखेर विराज भट्टको लागि देबर बावु, रेखा थापा र आर्यनका लागि 'कसले चोर्यो मेरो मन', संचिता लुइटेल र राज वल्लभका लागि 'छोडी गए पाप लाग्ला' लेखे।
उनले ती सबै फिल्म जीवन गुजारा गर्न लेखे। 'म त्यस्तो कथा लेख्नका लागि त आएको होइन तर त्यतिखेर त्यस्तै फिल्म बन्थ्यो।' आफूले समयसापेक्ष फिल्म बनाएको तर्क राख्छन्।
अहिले उनको कथा भएको फिल्म धेरै छन्। 'स्वर्णिम युग हो यो मेरो लागि' थपे।
९ टेलिश्रृङ्खलामा प्रदीपकै कथा
फिल्मसँगै नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिश्रृङ्खलाहरुका लागि पनि कथा लेखे। ४ वर्ष उनी त्यतै व्यस्त भए। एकसाथ ९ भन्दा बढी टेलिश्रृङ्खलाका लागि कथा लेख्थे। टेलिश्रृङ्खलाबाट उनले तुरुन्तै दर्शक प्रतिक्रिया पाउँथे। उनको लेखनमा परिपक्वता थपियो। सुनाए '९ वटा टेलिश्रृङ्खला एपिसोडका लागि कथा लेख्नु मजाक थिएन। त्यसले मेरो लेख्ने हुटहुटीलाई झन् बढायो।'
त्यो समयमा पात्रमा आधारित कथा लेखे पनि अहिले उनी कथा केन्द्रित हुन थालेको सुनाउँछन्। भन्छन्,’त्यसैबाट सकारात्मक प्रतिक्रिया पाएको छु।'
फिल्म क्षेत्रमा लागेपछि उनले क्यामेरा चलाउनदेखि सम्पादनसम्मको काम सिके तर लेखनमा जस्तो अरु काममा रमाएनन्।
व्यावसायिक लेखकको खडेरी
फिल्म क्षेत्रमा व्यावसायिक लेखकको कमी रहेको बताउँछन् प्रदीप। 'इन्डष्ट्रीलाई कथा चाहिएको छ। हललाई फिल्म चाहिएको छ। निर्देशक र निर्माता राम्रो कथा माग्छन्।
‘अहिले धेरै आंशिक लेखक छन्। रहरले लेख्ने पनि बढेका छन्,' उनले भने 'म व्यावसायिक स्क्रिप्ट राइटर हुँ। मैले फिल्म लेखेर पैसा कमाएको छु। जीवन चलाएको छु।'
पहिले मनोञ्जनका एउटै साधन थियो फिल्म, त्यसैले सबैले हेर्थे। अहिले युट्युब हेर्ने, पार्क घुम्ने, भिडियो खेल्ने सबैलाई फिल्मको कथावस्तुले तान्नुपर्छ,' उनले सुनाए, 'व्यावसायिक लेखकले यो कुरा सोच्न निकै आवश्यक छ।'
अहिले वर्षमा डेढ सय फिल्म बन्छन्। वर्षमा १०/१५ करोड त फिल्म लेखकलाई नै छुट्टाइएको हुन्छ। खोइ त त्यो पैसा लिने मान्छे? उनले प्रश्न गरे।
उनले आफ्नो अनुभव सुनाए- अहिले त निर्देशक आफैँले कथा लेख्छन्। व्यवसायिक लेखकको कमीले।
प्रदीपले लेखेका ३० कथाहरुमाथि फिल्म बनिसकेका छन्। उनीसँग ७०० वटा नयाँ फिल्मको स्क्रिप्ट छ। 'जंगली मान्छे', 'कसले चोर्यो मेरो मन', 'देबर बाबु', 'छोडी गए पाप लाग्ला', 'हिफाजत', 'ब्याच नम्बर १६', 'लङ्का', 'आइम सरी' उनले लेखेका फिल्महरु हुन्।
अहिले उनले लेखेको 'बीर विक्रम २', 'प्रेम दिवस' छायाङ्कनमा छन्। 'चङ्गा चेट' प्रदर्शनरत् छ।
अफिसको ह्वाइट बोर्डमा उनले अपकमिङ प्रोजेक्टका क्यू लेखेर राखेका थिए। 'ब्याचलर बन्टी', 'प्रेम दिवस', 'झ्यानाकुटी २', 'हिफाजत २' लिस्ट लामो छ। केही त दर्ता हुन पनि बाँकी।
असफल फिल्म
स्क्रप्टिङपछि प्रदर्शनसम्ममा लामो प्रक्रिया हुन्छ। त्यसैले फिल्म असफल हुनुमा स्क्रिप्टको मात्र गल्ती हुन्छ भन्ने उनी सोच्दैनन्। फिल्म असफल हुनुलाई पनि सामान्य रुपमा लिन्छन्।
'ठूल-ठूला फिल्म मेकरको पनि फिल्म असफल भएका छन्। असफल भइन्छ भनेर नलेखी वा नबनाइ बसेर त हुँदैन नि', उनले तर्क गरे।
पछिल्लो समय आफ्ना कथा साथीहरुलाई सुनाउँथे। कन्सेप्ट सेयर गर्थे। कतिले साथीले त उनको कथा चोरेर ब्लकबस्टर फिल्म बनाए। त्यस्ताबाट उनको विश्वास गुमेको छ।
अहिले पनि उनी विश्वास गर्न मिल्ने साथीलाई फिल्मको कथा सुनाउँछन्। शरीरले साथ दिउन्जेल फिल्म लेखनमै रहने बताउँछन् उनी। भन्छन्,’नसके आफू भन्छु, अरुलाई लेख्न लगाउँछु।‘