PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

ए डिभिजन लिग : लगातार तीन खेल जितेको संकटासँग सजग आर्मी



पहिलोपोस्ट

ए डिभिजन लिग : लगातार तीन खेल जितेको संकटासँग सजग आर्मी
संकटाका प्रशिक्षक सल्यान खड्गी र आर्मीका प्रशिक्षक नवीन न्यौपाने, PHOTO : ANFA

काठमाडौँ : सिएसमजी संकटाले पल्सर ए डिभिजन लिगमा लगातार तीन खेल जितेर मनाङ मर्स्याङ्दी समान ९ अंक जोडिसकेको छ। एभरेज टिमको रुपमा देखा परेको संकटाले कुनै गोल नखाई शतप्रतिसत नतिजा हात पारेको छ।

अर्कोतर्फ उपाधिको दाबेदार मानिएको विभागीय टोली आर्मीले तीन खेलबाट दुई खेल जित्दै ७ अंक जोडेको र अपराजित यात्रा कायमै राखेको छ।

लिगको उद्घाटन खेलमै एनआरटीसँग बराबरी खेलेको आर्मीले त्यसयता भने दुई बलिया टोली च्यासल युथ क्लब र नेपाल पुलिसलाई पराजित गरिसकेको छ। संकटाले सरस्वती युथ क्लब, जावलाखेल युथ क्लब र मछिन्द्र क्लबलाई पराजित गरेको थियो।

यही दुई क्लब सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमवारको पहिलो खेलमा भिड्दैछन्। खेल एन्फा कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ। संकटा ९ अंकसहित अंकतालिकामा दोस्रो र ७ अंङ्क जोडेको आर्मी चौथो स्थानमा छ।

दुवै टोलीका प्रशिक्षक खेलअघि आत्मविश्वासी देखिएका छन्। दुवै टिमको लक्ष्य ३ अंक नै लिने रहेको छ।


आर्मीका प्रशिक्षक नवीन न्यौपाने र संकटाका प्रशिक्षक सल्यान खड्गीले जितकै लागि खेल्ने बताए। 'भोलीको हाम्रो योजना भनेको तीन अंक लिने नै हो। संकटाले लगातार तीन खेल जितिसकेको छ। त्यस्तो टिमसँग ३ अंक लिन हामीले शतप्रतिसत भन्दा बढी दिएर खेल्नुपर्छ।' न्यौपानेले भने। 

'लगातार तीन खेल जितेको संकटाको मोरल पनि उच्च छ। उनीहरुले हामी पनि दाबेदार हौँ है भनेर देखाइसकेका छन्। उनीहरुलाई पराजित गर्न हामीले धेरै मेहनत गरेर खेल्नुपर्छ।'

यस्तै संकटाका प्रशिक्षक खड्गीले आर्मीसँग खेल्नुअघि राम्रो तयारी गरेको र तीन अंककै लागि खेल्ने बताए। 'पछिल्लो खेलमा दोहोरो पहेँलो कार्डका कारण खेल्न नपाएका स्ट्राइकर पनि फर्किनेछन्। निश्चय नै हामी जितका लागि खेल्छौँ।'

खड्गीले आर्मीका एक दुई खेलाडी नुहुनुले कुनै असर नपार्ने बताए। 'हरेक टिमले वैकल्पिक खेलाडी तया पारेको हुन्छ। एक दुई खेलाडी नहुनुले कुनै फरक पार्दैन। आर्मी जस्तो टप फर्ममा रहेको टिमलाई त्यसैल खासै फरक पर्दैन।'

यस्तै खड्गीले सुरुवाती खेलमा पाएको सफलतालाई निरन्तरता दिँदै अघि बढ्ने र प्रत्येक खेलमा राम्रो प्रदर्शन गर्ने बताए। उनले संकटाको लक्ष्य लिगको टप फाइभमा पर्नु रहेको बताए। 

आर्मीका प्रशिक्षक न्यौपानेले यसअघि समस्याको रुपमा रहेको फिनिसिङलाई मुख्य जोड दिने बताए। 

दोहोरो पहेँको कार्डका कारण आर्मीका डिफेण्डर सुमन अर्याल र चोटका कारण नवयुग श्रेष्ठ आर्मीसँग खेल्न नसक्ने न्यौपानेले जानकारी दिए। तर उनीहरुको स्थानमा आफूले ब्याकअप खेलाडी तयार पारेको उनको भनाई छ।

यस्तै गत सिजन मोफसलमा आर्मीका लागि उत्कृष्ट खेल्दै राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका स्ट्राइकर जर्ज प्रिन्स कार्की क्याटेड ट्रेनिङमा रहेकाले लिगमा नखेल्ने सम्भावना रहेको जानकारी दिए।

नवयुग र जर्ज प्रिन्स नहुँदा फरवार्ड लाइनमा केही समस्या भने हुने न्यौपानेले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell