
यही मंसिर २२ गतेदेखि काठमाडौँमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का लागि ठूला विदेशी खेलाडीको नाम अनुबन्ध हुने क्रम जारी छ। यही क्रममा पोखरा राइनोजले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई भित्र्याएको छ।
राइनोजले यसअघि स्कटल्याण्डको कप्तान केल कोत्जर र इंगल्याण्डका उल कोग्घलिनलाई अनुबन्ध गरिसकेको छ।
दक्षिण अफ्रिकाका लागि १३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका र कुनै समय टी-२० मा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको रुपमा चिनिएका लेभीले मुम्बई इन्डियन्सबाट आइपीएल समेत खेलिसकेका छन्।
उनी टी-२० का लागि विशेषज्ञ ब्याट्सम्मयान नै हुन्। लेभी इपीएल खेल्न नेपाल आउने सम्भवन सबैभन्दा ठूला खेलाडी हुन्।
उनले सन् २०१२ मा न्यूजिल्यान्ड विरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा ४५ बलमै शतक पुरा गर्दै त्यतिबेला छिटो शतक प्रहार गरेका थिए। उक्त खेलमा लेभीले ५१ बल खेल्दै १३ छक्काको मद्दतमा नटआउट ११७ रन बनाएका थिए। उनले प्रहार गरेको १३ छक्का एकै खेलमा सर्वाधिक छक्का प्रहारको कीर्तिमान समेत थियो।
उनको सर्वाधिक छिटो शतकको कीर्तिमान भने पछि दक्षिण अफ्रिकाकै डेविड मिलरले तोडेका थिए।
३० वर्षीय लेभी हाल वेस्टर्न प्रोभिन्स, केव कोर्बाज र नर्थ्याम्पनसायरका लागि खेल्छन्।
लेभीको आगमनपछि पोखराको टिम अझ बलियो हुने राइनोजले जनाएको छ।
'मैले सधैं नेपाल विश्वकै अति सुन्दर राष्ट्र भएको सुन्दै आएको छु र विश्व क्रिकेटमा नेपाली क्रिकेटले पछिल्लो समय हात पारेको उपलब्धि निकै उत्साहजनक छ। म पोखरा राइनोजबाट खेल्न प्रतिक्षारत छु र यस सिजनको इपीएलमा मेरो टिमको लागि राम्रो प्रदर्शन गर्ने आशामा छु।' राइनोजले जारी गरेको प्रेस विज्ञप्तिमा लेभीले भनेका छन्।
यस्तै राइनोजका ओनर कोहिनुर अग्रवालले लेभी जस्ता नाम चलेको खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउनु ठूलो सम्मान भएको बताएकी छन्। 'लेभीको अनुभव र प्रतिभा हाम्रो टिमको लागि धेरै फाइदाजनक हुनेछ। टी-२० मा रहेको लेभीको कीर्तिमानका कारण हामीले कीर्तिपुर राउण्डमा क्रिकेट लेजेण्डलाई हेर्न पाउनेछौँ।'