PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

केन्द्रीय कमिटीको कार्यविभाजनमा जुटेन सहमति : सचिवालय बैठक स्थगित



पहिलोपोस्ट

केन्द्रीय कमिटीको कार्यविभाजनमा जुटेन सहमति : सचिवालय बैठक स्थगित

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्र केन्द्रीय सदस्यहरुको कार्य विभाजन पेचिलो बन्दै गएको छ। कार्य विभाजनमा सचिवालय सदस्यबीच सहमति जुट्न नसक्दा सचिवालयको बैठक नै स्थगित भएको छ। 

ने क पाको शनिबार बसेको सचिवालय बैठकले सोमवार पुनः सचिवालय बैठक बस्ने र केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने निर्णय गरेको थियो। 

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सम्मिलित दुई सदस्यीय कार्यदल बनाएर प्रदेश किमिटी सदस्य टुंग्याउन तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने जिम्मेवारी दिएको थियो। 

कार्यदलले शुक्रवार नै सचिवालय बैठकमा प्रतिवेदन प्रस्तुत गरेको थियो। शनिवार बसेको सचिवालयले कार्यदलको प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित सोमवार बस्ने बैठकमा छलफल गरी टुंग्याउने निर्णय गरेको थियो। तर, आइतवार अनौपचारिक रुपमा भएको छलफल र गृहकार्यबाट पनि केन्द्रीय सदस्यहरुको कार्य विभाजनमा सहमति जुट्न नसक्दा सचिवालय बैठक नै स्थगित गरिएको हो। 

ने क पाका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले गृहकार्य नपुगेको भन्दै सचिवालयको बैठक मंगलवारसम्मका लागि स्थगित भएको जानकारी दिए। 

आज बस्ने भनिएको सचिवालयको बैठकले कार्यविभाजन तथा प्रदेश कमिटीको सदस्यहरुको नाम टुंगो लगाउने र स्थायी कमिटीको बैठक बोलाएर अनुमोदन गर्ने बताइएको थियो। 

ने क पामा ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्य छन्। एकताको ६ महिना बित्दासमेत जिम्मेवारी नपाएको भन्दै ने क पाभित्र असन्तुष्टि चुलिएको छ। यही क्रममा बिहीवार मात्र केही केन्द्रीय सदस्यहरुले जिम्मेवारी दिन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए। 

ने क पा स्रोतका अनुसार केन्द्रीय सदस्यहरुलाई भुगोलको जिम्मेवारी दिइने गरी छलफल भएको छ। तर, भुगोलको नेतृत्वसहितको जिम्मेवारी दिँदा आकांक्षीहरु धेरै भएका कारण सहमति जुट्न नसकेको बताइएको छ। 

केही स्थायी कमिटी सदस्यहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। अब बाँकीलाई विभागहरुको जिम्मेवारी दिने गरी छलफल भइरहेको छ। त्यस्तै भुगोलमा केन्द्रीय सदस्यहरुलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिने गरी तयारी भइरहेको छ। 

त्यस्तै महानगरको ईञ्चार्जको जिम्मेवारी पनि केन्द्रीय सदस्यहरुलाई दिने तयारी भइरहेको छ। यसरी जिम्मेवारी बाँडफाँडमा सचिवालय सदस्यहरुले आफ्ना पक्षका नेताहरुको नाम लिइरहेका कारण टुंगोमा नपुगेको स्रोतले बतायो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell