
काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग इपीएलका लागि भैरहवा ग्लाडिएटर्सले डच खेलाडी रायन टेन डेसचाटेसहित तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ।
टिमका तीन विदेशी खेलाडी राख्नुपर्ने आयोजकको नियमअनुसार शरद भेषावकर कप्तान रहेको भैरहावले डेसचाटेसहित युएईका मोहम्मद नाभिद र भारतका रवीइन्द्र सिंहलाई टिममा राखेको हो।
आइपीएलका कोलकता नाइट राइडर्सबाट खेलिसकेका नेदरल्याण्ड्सका ब्याटिङ अलराउण्डर डेसचाटेलाई भित्र्याउन पाउँदा ग्लाडिएटर्स एकदमै खुशी रहेको जनाएको छ। उनको आगमनले टिम बलियो हुने ग्लाडिएटर्सले जनाएको छ।
उनले अहिलेसम्म ३३ वान डे इन्टरनेशनल म्याच खेल्दा पाँच शतक र ९ अर्धशतक प्रहार गरिसकेका छन्।
मिडियम फास्ट बलिङ समेत गर्ने उनले आइपीएल सँगै बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिग समेत खेलिसकेका छन्।
उनी एसोसियट देशका खेलाडी भएर पनि ३२० टी-२० खेल्ने खेलाडी हुन्। उनले १७४ फस्ट क्लास, २०१ लिस्ट ए र १० वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
यसैगरी ग्लाडिएटर्सले विदेशी खेलाडीको कोटामा युएईका नाभिद र भारतका सिंहलाई पनि अनुबन्ध गरेको छ। दुवै खेलाडीले पोखरामा भएको पीपीएलमा शरदको टिम पोखरा पल्टनबाट सँगै खेलेका थिए। पल्टनलाई च्याम्पियन बनाउन नाभिद र सिंहले महत्वपूर्ण भूमिका खेलेका थिए।
३१ वर्षीय नाभिदले ३२ वान डे इन्टरनेशनल र २३ टी-२० इन्टरनेशनल क्रिकेट खेलिसकेका छन्। हाल उनी युएईमा भइरहेको टी-१० लिगमा केरला किंग्सबाट खेलिरहेका छन्।
यस्तै भारतको रणजी ट्रफी खेलिसकेका रवीइन्द्र सिंहले ४५ फस्ट क्लास र ३७ लिस्ट ए खेल खेलिसकेका छन्।
यी तीन विदेशी खेलाडीको सहयोगमा ग्लाडिएटर्स एपीएलको नयाँ च्याम्पियन बन्ने लक्ष्यमा रहेको उक्त प्रेन्चाइजले जनाएको छ।
शरदको कप्तानीमा रहेको ग्लाडिएटर्समा राष्ट्रिय टिमबाट खेलिसकेका आरिफ शेख, रोहित कुमार पौडेल, प्रदिप ऐरी, भुवन कार्की सँगै अभिनास बोहरा, कृष्ण कार्की, प्रकाश केसी, हरी शंकर शाह, दीपेन्द्र श्रेष्ठ, भुपेन्द्र थापा छन्।
यस्तै भैरहवा ग्लाडिएटर्सले लोकल ट्यालेन्ट हन्टबाट यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका स्पीनर अनिल खरेल र यू-१९ टिमका कूशल मल्ललाई छनोट गरेको छ।