
काठमाडौँ : टी-२० लिगहरु धेरै भइरहेको अवस्थामा नेपालमा अब ५० ओभरको क्रिकेट प्रतियोगिता हुने भएको छ।
तर देशको क्रिकेट विकासमा महत्वपूर्ण हिस्सा ओगट्ने ५० ओभरको वानडे क्रिकेट नेपालमा बिरलै मात्र हुन्छ। क्यान निलम्बन भएपछि त झन् ५० ओभरको खेलको नाममा राष्ट्रिय खेलकुद परिषद्ले गर्ने पीएम कप मात्र हो।
यो सबै विषयलाई मध्यनजर गर्दै आगामी पुस तेस्रो सातादेखि सुनसरीको इनरुवामा मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।
शान्तिदीप नेपाल तथा इनरुवा नगरपालिका, सुनसरीको आयोजनामा पुस २१ देखि माघ ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा तीन विभागीय टोली(आर्मी, पुलिस, शसस्त्र) सहित सात प्रदेश, एक स्थानिय आयोजक टिम र एक पाहुना टोली गरी कूल १२ टोलीले प्रतिस्पर्धा गर्ने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
इनरुवा रंगशालामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडीहरुलाई समेट्दै एकदिवसीय प्रतियोगिता गर्न लागिएको प्रतियोगिता संयोजक विप्लव घोषले बताए।
सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरेर लिगकम नकआउटको फर्म्याटमा प्रतियोगिता खेलाइने आयोजकले जनाएको छ।
७५ लाख बजेट लाग्ने प्रतियोगिताको विजेताले नगद ४ लाख विजेतालाई चार लाख एक हजार प्रदान गरिनेछ। उपविजेताले दुई लाख एक हजार तथा सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २५ हजार पाउने छन्।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समान २० हजार एक सय तथा अनुशासित टिमले १५ हजार तथा उदयिमान खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको लागि इन्ट्री फि नलाग्ने र सहभागी टोलीलाई ड्रेशको समेत व्यवस्था गर्ने संयोजक घोषले जानकारी दिए।
आयोजक इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले प्रतियोगितालाई इनरुवा चिनाउने माध्यमको रुपमा लिने बताए। ‘राजनैतिक रुपमा इनरुवा सधैँ केन्द्रमा रहेपनि यस क्षेत्रको त्यति प्रचारप्रसार हुन सकेको छैन। अब खेलकुदको माध्यमबाट इनरुवाको पहिचान दिलाउने र क्रिकेट प्रतियोगिताको लागि आवश्यक सहयोग गर्नेछौँ।'
यसैगरी राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव केशवकुमार विष्टले पछिल्लो समय नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सम्भावना देखाएकोले यस प्रतियोगिताको लागि राखेपले सक्दो सहयोग गर्ने बताए।
साथै उनले टी-२० प्रतियोगिता मात्रै धेरै भइरहेको अवस्थामा हुन लागेको वान डे प्रतियोगिताले नेपालको क्रिकेट विकासमा सहयोग पुग्ने प्रतिक्रिया दिए।
क्यान निलमब्न हुँदा मेत निजी क्षेत्रले नेपाली क्रिकेट विकासमा गरेको प्रयासको सम्मान गर्दै उनले अब छिट्टै दुई दिवसीय क्रिकेट आयोजना गर्ने जानकारी दिए।
यसैगरी राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक जगत टमाटाले ५० ओभरको प्रतियोगिता गर्नु आफैँमा च्यालेन्ज भएको बताउँदै यसले नेपाली नेपाली खेलाडीहरुको स्तर मापन गर्ने अवसर दिने बताए।