
काठमाडौं: नाटक ‘शकुन्तलाको औंठी’ मञ्चन गत शुक्रबारबाट सुरु भयो। साथै नाटकमा ‘प्रप्स’को रुपमा प्रयोग गरिएको औंठी अक्सनमा राखिएको छ।
नाटकभित्र नाटक ‘अभिज्ञान शाकुन्तलम्’को रिहर्सल गरिरहेका रङ्गकर्मीहरुको कथा देखाइएको छ। जसमा कनक पात्रले सकुन्तलाको भूमिका निर्वाह गर्न लागेकी हुन्छिन्। रिहर्सलको क्रममा दुश्यन्त पात्रले शकुन्तलालाज्ञ औंठी दिने दृश्य छ। दुश्यन्त बन्न लागेका कुमारसँग औंठी हुँदैन र कनकले आफ्नो खोलेर दिन्छिन्। नाटकको रिहर्सलमा प्रयोगका लागि निर्देशकले लिएको सोही औंठी लिलाममा राखिएको हो।
पानको पात अंकित उक्त औंठीलाई आयुषा श्रेष्ठले डिजाइन गरेकी हुन्। पित्तलमा २२ क्यारेट सुनको जलप लगाइएको नाटक निर्माण व्यवस्थापक देव न्यौपानेले बताए। दुई हजार आठ सय अट्ठाईस सुरुवाती मूल्य रहेको औंठीलाई सोमबारसम्ममा ६ हजार ८ सय रुपैयाँ दिइएको छ। अक्सनको अन्तिम मिति पुस ७ गते हो।
सोही दिन नाटकको अन्तिम सो मञ्चन गरिने छ।
पौराणिक कथा ‘अभिज्ञान शाकुन्तलम्’का पात्रहरु र व्यक्तिगत जीवनको जिम्मेवारी र बाध्यताहरुले बाधिएका रङ्गकर्मीहरुको कथा एकसाथ अघि बढ्छ। भारतीय नाटककार सुरेन्द्र वर्माको अस्तित्ववादी नाटकलाई नेपाली अनुवाद र निर्देशन सुरज मल्लले गरेका हुन्।
कलाकारहरु सुरज मल्ल, आशीष श्रेष्ठ, रन्जना भट्टराई, दीया मास्के, अनुप न्यौपाने, प्रणव केसी, अनिल थापा, विकास न्यौपाने, रोशन खत्री, अनु दाहाल, प्रकृति रायमाझी, प्रमिला कार्की, नीर्मला खत्री, सुनिल खड्का, प्रकाश कट्टेल, हेना नगरकोटी लगायतको अभिनय रहेको छ।
नाटकमा प्रयोग सांगीतिक प्रस्तुतिमा शब्द संयोग गुरागाईंको रहेको छ। उत्सव बुढाथोकीले स्वर र संगीत दिएका छन्। वाद्यवादनमा विकास लामा, विशाल नकर्मी, योगेश भुषाल पनि रहेका छन्।
नाटक शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। मङ्गलबार बाहेक हरेक साँझ ५ बजे सुरु हुन्छ, साथै शनिबार दिउँसो साढे एक बजे पनि सो रहेको छ।