PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

शनिबारको 'भव्य सभा'मा के अर्ध भूमिगत रहेका विप्लव आएका थिए?



विधुर ढकाल

शनिबारको 'भव्य सभा'मा के अर्ध भूमिगत रहेका विप्लव आएका थिए?

काठमाडौं : लामो समयदेखि भूमिगत रुपमा आफ्ना गतिविधि संचालन गर्दै आएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा आमसभा आयोजना गर्‍यो। आमसभामा प्रमुख वक्ताका रुपमा विप्लव नै प्रकट हुने चर्चा थियो। 

कार्यक्रमको तयारी हुँदै गर्दा उनी नआउने बताइयो। सुरक्षाको कारण देखाउँदै उनको स्थानमा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गरे। पटकपटक प्रहरीले समात्दै छुट्दै गरेका खड्गबहादुर विश्वकर्माले सम्बोधन गरिरहँदा पनि पनि धेरैले सोचेका थिए – विप्लव आउनेछन्। 

अर्ध भूमिगत रुपमै कार्यक्रम गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरी प्रशासनले निगरानी गर्दै पक्राउ गर्दै आएको पनि छ। त्यसबाट बच्नका लागि विप्लव कार्यक्रममा नआएको बताइएको थियो। 

बर्हिगमित पूर्व जनमुक्तिसेना नेपालका अध्यक्ष लेनिन विष्टले सामाजिक सञ्जाल फेसवुकमा मंगलबार बिहानै एउटा पोस्ट लेखे फोटोसहित, ‘प्रमुख वक्ता जसले केही नबोलेर नै धेरै बोलेर गए। जनतासँगै बसेर जनसभामा सहभागी भएर आफ्नो पार्टीको कार्यक्रम हेर्दै क. विप्लव।’ 

उनको यो स्टाटसले एक किसिमको तरङ्ग नै छाड्यो। विष्टले प्रोपागान्डा गर्न खोजे या साच्चै विप्लव काठमाडौंको सभामा आए? कार्यक्रममा सार्वजनिक रुपमा नदेखिएको भए पनि उनी त्यस समय काठमाडौं प्रवेश गरेको पार्टी निकट स्रोतले जनायो। विप्लव ७ गते शुक्रबार काठमाडौं प्रवेश गरेका थिए। ‘सात गते काठमाडौं आउनु भएको हो। उहाँ सोमवार दिउँसो पार्टीका केही नेताहरुसँगै पश्चिमतिर लाग्नुभयो,’ स्रोतले भन्यो। यही आधार मान्ने हो भने विप्लव काठमाडौंमा चार दिन बसे। भूमिगत अवस्थामै काठमाडौंमा प्रवेश गरेका विप्लव यहाँ भूमिगत रुपमा पार्टीका केही नेताहरुसँग छलफल गरे।  

विप्लव आमसभाको मञ्चमा नउभिए पनि दर्शकदिर्घातिर रहेका र उनी जुलुसमा सहभागी भएको पार्टीका एक नेताले बताए। नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीले पार्टीले गरेको कार्यक्रम भएकोले उहाँ हुनु स्वभाविक भएको टिप्पणी गरे। 

‘हो उहाँ हामीसँगै हुनुहुन्थ्यो, जुलुसमा। हिजो पनि हामीमाझ नै हुनुहुन्थ्यो। आज पनि हुनुहुन्छ। पार्टीको कार्यक्रममा उहाँको उपस्थिति स्वभाविक पनि हो,’ उनले पहिलोपोस्टसँग भने। उहाँलाई देशमा नभएको आरोप लागिरहेका बेला सुवेदीले त्यसलाई चिर्न पनि विप्लव जनतामाझ उभिएको बताए। 

काठमाडौं प्रहरी प्रमुख वसन्त लामा नेत्रविक्रम चन्द काठमाडौं आएको कुनै पनि जानकारी नभएको बताउँछन्। एसएसपी लामा भन्छन्,' हाम्रो संयन्त्रले कार्यक्रममा आएको देखिँदैन। बाहिर हल्ला आएको जस्तो होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell