काठमाडौं : दोश्रो दक्षिण एशियाली यू-२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप-२०१८ मा भारतीय टिम मिक्स टिम ईभेन्ट्सको अन्तिम चारमा प्रवेश गरको छ। भारतले बंगलादेशलाई ५-० को ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।
भारत, बंगलादेश, नेपाल, श्रीलङ्का र मालदिभ्स गरि पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा भारत र बंगलादेश समूह ए मा रहेका छन्। भारत समूह ए को विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको हो। त्यस्तै भारतसंग पराजित भएतापनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्यो।
पुरुष एकलमा भारतका ध्रुव राउतले बंगलादेशका एसएसएम शिवगाथुल्लालाई २१-१७, २१-१८ ले पराजित गरे। यस्तै महिला एकलमा माल्भिका बान्सोदले बंगलादेशकी उर्मी अख्तरलाई २१-४, २१-९ ले हराईन्।
पुरुष युगलतर्फ भारतका बिष्णु बरदान र प्रियान्सु राजवतको जोडीले बंगलादेशका गौरव सिंह मंगल सिंहको जोडीलाई २१-१४, २१-९ ले तथा महिला युगलतर्फ पूर्वा बर्भे र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका उर्मी अख्तर र रश्मा अख्तरको जोडीलाई २१-११, २१-९ ले पराजित गरे।
यस्तै मिक्स युगल तर्फको खेलमा बिष्णु बरदान र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका शिवगाथुल्ला र फारविन बिन्ता ईमदाललाई २१-८, २१-८ ले जित निकाल्दै ५-० को जित निकाल्यो।
नेपाल, श्रीलङ्का र मालदिभ्ससंगै समूह बी मा रहेको छ। समूह बीको पहिलो लिग खेलमा श्रीलङ्काले मालदिभ्सलाई ४-१ ले पराजित गर्यो।
श्रीलङ्काका रनतोष्का सासिन्दुले मालदिभ्सका अहमद निवाललाई २१-१३, २१-११ ले, महिला एकलमा दिल्मी दियासले अमिनाती नविहालाई २१-६, २१-११ले, पुरुष युगलमा चामथ दियास र चिराथिल्लेप ईरामारोचीको जोडीले मोहम्मद अकिफ र मोहम्मद राफाको जोडीलाई २१-७, २१-१० ले तथा हासिनी अम्बलाङ्गोदुग र दिल्मी दियाको जोडीले अमिनाती नविहाको जोडीलाई २१-१०, २१-१९ ले पराजि गर्दै लगातार चार जित निकाले।
मिक्स युगलको खेलमा भने मालदिभ्सले जित निकाल्यो। मालदिभ्सका निवाल अहमद र फथमा नवाहको जोडीले रन्थुस्का र हासरा विजेवर्दनेको जोडीलाई २१-१९, १५-२१, २१-१८ ले पराजित गरे।
नेपाल र श्रीलङ्काविच भएको मिक्स टिम ईभेन्ट्समा नेपालले ३-२ को जित निकाल्यो। पुरुष एकलमा नेपालका नविन श्रेष्ठले श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई २२-२०, २१-१३ ले हराए।
महिला एकलतर्फ रशिला महर्जन दिल्मी दियाससंग १२-२१, १२-२१ ले पराजित भईन्। पुरुष युगलतर्फ नविन र प्रिन्स दाहालले श्रीलङ्काका चिराथ ईल्लेपरुमाराची र चामाथ दियासको जोडीलाई २१-१८, २३-२१ ले पाखा हराए। महिला जोडीतर्फ रशिला महर्जन र जेशिका जोडी श्रीलङ्काका दिल्मी दियास र हासिनी अम्बालाङ्गादेको जोडीसंग २१-१३, २१-८ ले पराजित भए। यस्तै मिक्स जोडीतर्फ प्रिन्स दाहाल र रशिला महर्जनको जोडी श्रीलङ्काका रन्थुस्का र दिमी दियासको जोडीलाई २१-१९, २१-१३ ले पराजित गर्दै ३-२ को जित निकालेको हो।
अव नेपालले अन्तिम चारको यात्रा तय गर्न बुधबार हुने मालदिभ्ससंगको खेलमा जित निकाल्नु पर्ने छ। अन्यथा मालदिभ्ससंग हारेको खण्डमा हेड टु हेडको आधारमा जित हारको निर्णय हुने रेफ्रि किरण गोपाल रञ्जितले बताए।