
काठमाडौं: फिल्म 'प्रसाद' प्रदर्शनको तयारीमा छ। फिल्म आगामी मंसिर २१ देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिम यतिखेर फिल्मको प्रचारमा व्यस्त छन्। प्रदर्शन नजिकिँदै जाँदा फिल्मको विदेश बुकिङ बढ्न थालेको छ। फिल्म युरोपका ११ देश प्रदर्शनमा आउने युरोप वितरणका जिम्मा लिएका सुरज कार्कीले जनाए।
११ देशमा फिल्मको २० सो बुक भइसकेको कार्कीले बताए। 'प्रसाद' डिसेम्बर १४ मा फिनल्याण्डमा प्रदर्शन हुनेछ। त्यसपछि डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, अष्ट्रीया, पोर्चुगल, बेल्जियम, नर्वेलगायतका देशमा फिल्म प्रदर्शनमा आउनेछ।
हल नभएको र कम दर्शक भएको शहरमा दोश्रो चरणमा रेष्टुराँमा फिल्म प्रदर्शन गर्ने तयारी छ। अष्ट्रेलिया प्रदर्शनको अधिकार लिएको गोर्खे इन्टरटेनमेन्टका नविन मानन्धरले डिसेम्बर ७, ८, ९ र १०मा 'प्रसाद' अष्ट्रेलियामा प्रदर्शन हुने जनाए।
दिनेश राउत निर्देशित फिल्ममा कलाकार विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुषाललगायतको अभिनय छ। फिल्ममा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द र सुशिल पौडेलको कथा छ।