
काठमाडौं: 'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९' जुन २८ देखि ३० सम्म आयोजना हुने भएको छ। नेपाल-अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्दै आएको चलचित्र महोत्सवका लागि आवेदन खुल्ला गरिएको छ।
महोत्सवमा नेपालका फिचर फिल्म, लघु फिल्म, एनिमेसनका साथै सबै विधाका फिल्महरु प्रदर्शन गरिनेछन्। नेपाललगायत अमेरिका, दक्षिण एसिया सहित विश्वभरका फिल्महरु महोत्सवको प्राथमिकतामा पर्नेछन्।
फिल्म प्रदर्शनपछि दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि गरिनेछ। फिल्मका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशाला पनि हुने आयोजकले जनाएको छ। उत्कृष्ट फिल्महरु मात्र महोत्सवमा प्रदर्शनका लागि छनोट गरिनेछन्। उत्कृष्ट फिल्मलाई पुरस्कृत पनि गरिनेछ।
फिल्मको आवेदन अनलाइन र फिल्म सोसाइटीको अमेरिका कार्यालय ठेगानामा सिधै आवेदन पठाउन पनि सकिनेछ। नेपालका फिल्मकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्नेछन्।