PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

विप्लवको निशानामा कर्णालीका स्थानीय तह, कारवाही गर्ने धम्की : तोडफोड र आगजनी हुँदा सुरक्षा निकाय मौन



पी बी खड्का

विप्लवको निशानामा कर्णालीका स्थानीय तह, कारवाही गर्ने धम्की : तोडफोड र आगजनी हुँदा सुरक्षा निकाय मौन

सुर्खेत: गत फागुन १३ गते प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरको वडा नं. ६ को कार्यालयमा जन प्रतिनिधिलाई ज्यान मार्ने धम्कीसहितको पत्र वडाअध्यक्षको हातमा पर्‍यो। तत्काल जनप्रतिनिधिबाट राजिनामा गर्नुपर्ने र संघीयता खारेज हुनुपर्ने मागसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जिल्ला जनपरिषद्को लेटर प्याडमा पत्र काटिएको छ। राजीनामा नगरे कुनै पनि बखत भौतिक कारवाही गरिने चेतावनी समेत दिएको छ।  

त्यस्तै, गत चैत २९ गते सुर्खेतकै गुर्भाकोट नगरपालिका वडा नं. ४ को कार्यालयमा आगजनी भयो। आगजनीबाट वडा कार्यालयको कम्प्युटरलगायत अत्यआवश्यक कागजपत्र जलेर नष्ट भयो। साढे २ लाख भन्दा बढी क्षति हुन पुग्यो। यो घटना पनि नेकपा विप्लवका कार्यकर्तामाथि आशंका गरिएको थियो। तर, अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन।
 
गत चैत ६ गते सल्यानमा पनि जनप्रतिनिधिलाई तत्काल राजीनामा गर्न पत्र काटेको थियो। सल्यानका १० वटै स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भन्दै विप्लव निकट जिल्ला जनपरिषद् सल्यानले स्थानीय तहको कार्यालयमै पत्र पठाएको थियो।  

त्यस्तै, गएको मंसिरमा डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा तोडफोड भयो। कार्यालयमा राखिएको बोर्डहरु फेरेर नेपाल कम्युनिष्ट पार्टी अंकित साईनबोर्ड झुण्ड्यार कब्जा गर्‍यो। दुई वटा गाउँपालिकाका कार्यालयमा विप्लवको झण्डा र गाउँपालिकास्तरिय जनसत्ताको कार्यालय लेखिएको ब्यानर राखियो। 

करिव एक साता अघिमात्र जुम्लाको दुई स्थानीय तहमा आगजनी र तोडफोड भयो। रातिको समयमा चन्दननाथ नगरपालिकाको गाडी आगजनी गरियो भने, गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरियो। आगजनीबाट नगरपालिकाको गाडी पूर्णरुपमा क्षेतविक्षेत पारियो भने गाउँपालिकाको कार्यालयका सामान ध्वस्त पारियो। 

नगरपालिकाको परिसर भित्र पार्किङ गरि राखेको करिव ४० लाख मुल्य बराबरको गाडी जलाएर नष्ट गरियो। यता, गाउँपालिकामा भएको कम्प्युटर, सिसि क्यामेरालगायतको सामानहरु नष्ट गर्दा साढे १५ लाख बढीको क्षति भएको गठीचौर गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए। 

अझै पनि कसले र किन क्षति गरायो भन्नेबारे पत्ता लागेको छैन। दोषी पत्ता नलागे पनि विप्लव निकट कार्यकर्ताको आशंका गरिएको छ। 

‘स्थानीय तहलाई निकै निशानामा राखिएको छ,’ गाउँपालिकाका अध्यक्ष भण्डारीले भने,‘कार्यालयमा तोडफोड गर्ने, आगजनी गर्ने। जनप्रतिनिधिलाईसमेत ज्यान मार्ने धम्की दिने लगायतका अनैतिक गतिविधि भइरहेका छन्।’ फेरि थपे,‘यसरी पटकपटक विभिन्न स्थानमा बेतिथि गर्ने नेपाल कम्युनिष्ट पार्टी निकटका कार्यकर्ता हुन सक्छन् यो प्रति सुरक्षा निकाय र प्रदेश सरकार गम्भिर बनेका छैनन्।’ 

यसरी पटकपटक हुने तोडफोड र अनैतिक गतिविधिले हामी आतंकित भएको उनको भनाई छ। मनमा डरत्रास लिएर काम गर्न निकै चुनौती बनेको उनले बताए। ‘कार्यालयका सामान र गाडीमा तोडफोड, आगजनी गर्नेले जनप्रतिनिधिलाई गर्न सक्दैन भन्ने पनि होइन,’ उनले भने,‘अब सुरक्षा निकाय र प्रदेश सरकारले सुरक्षाको ग्यारेण्टी गर्नुपर्छ। तब मात्रै निर्धक्क भएर काम गर्ने वातावरण हुन्छ।’

यता, जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालयले समेत नगरपालिका र गाउँपालिकामा भएको तोडफोडको दोषी पत्ता लगाउन सकेको छैन। 

यता, गाउँपालिका महासंघ कर्णाली प्रदेशका संयोजक कविन्द्रकुमार केसीले पटकपटक स्थानीय तहमा आगजनी र तोडफोड हुँदा सुरक्षा निकायले ध्यान नदिएको आरोप लगाए। प्रदेश राजधानीभित्र र हिमाली जिल्लामा भइरहेको अनैतिक गतिविधिलाई निगरानीमा राख्न सुरक्षा निकायलाई आग्रह गरे पनि कुनै चासो नदिएको उनको भनाई छ।

‘स्थानीय तहमा यसरी पटकपटक आगजनी र तोडफोड हुनु राम्रो होइन।’ उनले भने,‘घटनाका दोषी पत्ता लगाएर कारवाही प्रक्रिाय अघि बढाए दोहोरिने थिएनन्।’ फेरि थपे,‘हामी जनप्रतिनिधी भएर आईसकेपछि सुरक्षा निकायसंग सुरक्षा माग्यौँ तर सुरक्षा निकायले कुनै चासो देखाएको छैन। जुम्लामा त्यति ठुलो क्षति हुँदासमेत दोषी पत्ता लगाउन सकेको छैन।’

स्थानीय तहका जनप्रतिनिधिलाई यसरी आतंकित भएर जनताको काम गर्न सकस परेको भन्दै अब प्रदेश सरकारले समेत सुरक्षाको ग्यारेण्टी लिनुपर्ने उनी बताउँछन्। ‘यसअघि हामीले प्रदेश सरकारसँग माग गरेका थियौँ हाम्रो सुरक्षाको ग्यारेण्टी हुनुपर्छ भनेर तर, पनि अहिले सम्म कुनै पहल कदमी हुन सकेको छैन्’ उनले भने।

यता, प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका एसएसपी मोहनकुमार आचार्यले स्थानीय तहमा भएका घटना प्रति गम्भीर बनेको बताए। ‘स्थानीय तहमा भएका घटनाप्रति हामी गम्भीर बनेका छौँ।’ उनले भने,‘यसरी एक्कासी हुने घटनाले हामी पनि दुखित छौँ। सके सम्म प्रहरीले कुनै पनि अनैतिक गतिविधि नहोस् भन्ने चाहन्छ र हुन नदिने प्रयासमा हुन्छौँ हामी।’ सुरक्षा निकायको चासो हुँदा हुदैँ पनि कति पय ठाउँमा घटना भइरहेको उनले बताए। जुम्लामा भएको आगजनी र तोडफोडको दोषीलाई खोज्ने काम भइरहेको उनको भनाई छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell