PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

महन्थमाथिको 'कू'पछि विथोलिएको राजपाको राजनीति



किशोर नेपाल

महन्थमाथिको 'कू'पछि विथोलिएको राजपाको राजनीति

मूल रुपमा मधेशको पार्टी भनेर चिनिने राष्ट्रिय जनता पार्टी यतिखेर संकटमा परेको छ। पार्टीका प्रमुख नेता मध्येका एक राजेन्द्र महतोको सक्रियतामा अध्यक्ष मण्डलका संयोजकका रुपमा काम गर्दै आएका नेता महन्थ ठाकुरका विरुद्ध ‘कू’ गरेपछि पार्टीभित्रको समीकरण नराम्रोसँग विथोलिएको छ। महन्थ बिरुद्धको ‘कू’ मा तराइ मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी र मधेशी जनअधिकार फोरमका अध्यक्ष राजकिशोर यादवले राजेन्द्र महतोलाई साथ दिएका थिए। महन्थका पक्षमा नेपाल सदभावना पार्टीका अनील झा मात्रै उभिए।

महन्थ ठाकुर नेपाली राजनीतिमा नयाँ नाम होइन। लोकतन्त्रप्रतिको उनको निष्ठा, मूल्य र मान्यताप्रतिको प्रतिवद्धता तथा इमान्दारीका बारेमा उनलाई कसैले पनि अविश्वास गर्दैन। नेपाल गणतन्त्रको युगमा प्रवेश गरेपछि स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला महन्थलाई राष्ट्रपति बनाउने बिचारमा थिए। तर, कांग्रेस मधेशका प्रति गम्भीर र इमान्दार नदेखिएकोले महन्थले कोइरालाको आग्रह स्वीकार गरेनन्। उनी लामो समय काम गरेको पार्टीबाट अलग भए र तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरे। वौद्धिक र शालीन नेताका रुपमा परिचित महन्थ ठाकुर राजनीतिक जीवनमा अनेकन उतार–चढावका वावजूद मधेशका ठूला हस्ती हुन्। अहिले उनका बिरुद्ध लाग्ने नेताहरुलाई यो कुराको राम्रो ज्ञान छ।

मधेशले धेरैको मनमा अहिलेसम्म पनि कौतुहल उत्पन्न गरेको छ। धेरै वौद्धिक व्यक्तित्वहरु, देशको राजनीतिमा रुची राख्ने व्यक्तिहरु र पर्यवेक्षकका लागि समेत मधेश निकै जटिल पहेली बनेको छ। मधेश र पहाडका नेताहरुमा भाषा र भेषभूषा बाहेक अरु कुनै प्रकारको भिन्नता देखिँदैन। स्वार्थ उस्तै छ। लोभ उस्तै छ। यति भनिसकेपछि चिन्तनको परिपाटीबारे त केही भन्नु आवश्यक नै परेन। अहिले केन्द्रीय राजनीतिमा सक्रिय रहेका पहाड र मधेशका नेताहरुको चरित्र र प्रवृत्तिमा खासै फरक नभए पनि मधेश अलिकति फरक छ। यसको ढाँचा फरक छ। देशमा आरम्भ भएको संघीय शासनको मूल मधेशमा नै रहेको छ। यसलाई देशभर सुचारु गर्न मधेशको योगदान अपरिहार्य नै देखिएको छ। अहिले दुई नम्बर प्रदेशका रुपमा रहेको मधेशले संघहरुको शासनमा प्रभावकारिता देखाएको छ। यस्तो अवस्थामा मधेशको माउ पार्टीका रुपमा रहेको राजपामा विवाद उत्पन्न हुनु कसैका लागि पनि रुचिकर अवस्था देखिएको छैन।

अहिले यो विवादको सिर्जना सत्ताका लागि भएको बताइन्छ। मधेशी पार्टीका नेताहरु लामो समयदेखि सत्तामा छैनन्। त्यसैले पनि उनीहरुमा छिटो सत्तामा पुग्ने ललक रहेको छ। उनीहरु नेपाल कम्युनिष्ट पार्टीको सरकारमा सामेल भएर प्रधानमन्त्री ओलीसँग निरन्तर संवादको स्थितिमा रहन चाहन्छन्। यसबाट मधेशी दल र सरकारबीच भएको सम्झौता अनुसार संविधान संशोधनमा सजिलो पर्ने तर्क छ उनीहरुको। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारको उप–प्रधानमन्त्रीका रुपमा रहेको अवस्थामा महतोको टीमले संविधान संशोधनको कार्यान्वयन गराउन सघाउछन् नै भन्ने केही छैन।

महन्थ ठाकुर यो मामिलामा फरक प्रकारको सोचाइ राख्दछन्। उनी प्रम ओली नेतृत्वको वर्तमान सरकारले संविधान संशोधनलाई न्यूनतम प्राथमिकता पनि नदिएको बताउँछन्। मधेशी दलहरु बाहिर रहँदा सरकारका विरुद्ध जति दवाव सिर्जना हुन्छ सरकारमा गएर हुँदैन भन्ने मान्यता छ महन्थको। यसै पनि, दुइ तिहाई बहुमतका साथ सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टीको प्राथमिकतामा संविधान संशोधन परेको आभाष कतै पाइँदैन। 

राजपामा अहिले उठाइएको विवादलाई विवाद मान्न तयार छैनन् नेता अनील झा। राजपा अध्यक्ष मण्डलको संयोजकको चयन चक्रीय प्रणालीबाट हुने त पूर्व निर्धारित विषय थियो। तर, जुन हिसाबले महतो र साथीहरुले हस्तक्षेप गरे त्यो अपेक्षित थिएन। साथीहरुले बैठकमा आ–आफ्ना विचार राख्न सक्दथे। चक्रीय प्रणालीमा संयोजक चयन गर्ने निर्णय भए पनि महन्थलाई नै संयोजकका रुपमा काम गर्न सबैले अनुरोध गरेका थिए। त्यसैको आधारमा महन्थ संयोजकका रुपमा कार्यरत थिए। साथीहरु उनका प्रति विव्देष र इर्ष्याको भाव राख्दछन् भन्ने भनकमात्र पाएको भए उनी पदमा बस्ने थिएनन्।

मधेश अहिलेसम्म जटिलताबाट मुक्त भएको छैन। प्रदेश सरकारले काम गर्न थालेको छ। त्यसमा केन्द्र सरकारको सहयोग छैन। यो समस्या दुई नम्बरको मात्रै नभएर सबै प्रदेशको साझा समस्या बनेको छ। पृथ्वी गुरुङ, शेरधन राई, डोरमणि पौडेल, शंकर पोखरेल जस्ता एमालेका कहलिएका नेताहरुले आफनो असन्तुष्टि पोख्न थालेका छन्। यो अवस्थामा मधेशको पार्टीले प्रदेश सरकारलाई समन्वयको बाटोमा हिँड्न मद्दत गर्नुको सट्टा त्यसैमा प्वाल पार्न खोज्नु राम्रो कुरा मानिएको छैन।

समाजवादी फोरमका तर्फबाट प्रदेश सांसद रामाशीष यादवले मधेशको अवस्था बताए,  ‘अहिलेको अवस्था जटिल छ। कांग्रेस विपक्षमा छ। वामपन्थी चीनियाँ रेल ल्याउन लागेको छ। कांग्रेस कुन्नी के कारणले हो मधेशवादी विरुद्ध लागेको छ। साना दलहरु पाँच प्रतिशत थ्रेसहोल्डको विपक्षमा छन्।’

रामाशीषको विचारमा- ‘सीके राउतले दुर्घटना ल्याउन सक्दछ। यो कुरालाई मधेशवादीहरुले राम्ररी बुझेका छन्। यसलाई सरकार चलाउने पार्टीले बुझ्नु पर्दछ। प्रदेश सरकार क्रियाशील भइसकेको अवस्थामा पेलेर लाने सोच केन्द्र सरकारले राखेको छ भने त्यो दुर्भाग्य हो।’ 

यो सत्य हो, सीकेका पछाडि नव युवाहरुको ठूलो भिड छ। उनीहरु परिवर्तन चाहन्छन्। सीके राउतले उठाएका सबै मुद्दामा उनीहरुको सहमति छैन। खास गरेर, स्वतन्त्र मधेशको कुरामा सहमति देखिँदैन। तर, भेदभाव र पक्षपातको समाप्तिले सीके राउतको प्रभाव सीमित हुनेमा सबै सहमत छन्।

यतिबेला मधेशमा संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव नयाँ जातीय समीकरणको निर्माणमा लागेका छन्। पहाडका जनजातिलाई समेत समेटेर फोरमले प्रदेशका यादव, मुसलमान र दलित समुदायलाई एउटै समूहमा आवद्ध गर्दैछ। आगामी चुनावसम्ममा यो गठबन्धन प्रभावशाली संगठनका रुपमा रुपान्तरित हुने सम्भावना बढेको छ। राजपामा विवाद कायम रहेमा गठवन्धनबाट सबैभन्दा ठूलो घाटा राजपाले बेहोर्नु पर्नेछ। नेपाली कांग्रेस त्यस्तो घाटा बेहोर्ने दोस्रो पार्टी हुनेछ। प्रदेशको राजनीतिको कायाकल्प हुने यो योजनाका बारे सम्बन्धित पार्टीहरु सम्वेदनशील देखिएका छैनन्।

मधेश प्रदेशमा सरकार संचालनका लागि कुनै संरचना छैन। प्रदेश कार्यपालिकाको हात गोडा बाँधिएको अनुभूति प्रदेशवासीले गरेका छन्। मधेशका लगभग साठी लाख जनता विकासका आधारभूत संरचनाको खोजीमा छन्। निश्चय पनि, प्रदेश सरकार त्यतातिर बढ्न खोजी रहेको छ। प्रदेश सरकारका कार्य र समसामयिक विषयमा प्रदेशका मुख्यमन्त्री मो. लालबाबु रावतसँगको प्रस्तुत अन्तर्वार्ताले धेरै विषय स्पष्ट गर्नेछ -




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell