PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

विदेशी खेलाडीले हौसिएको ललितपुर प्याट्रिओट्स



पहिलोपोस्ट

विदेशी खेलाडीले हौसिएको ललितपुर प्याट्रिओट्स

काठमाडौँ : यही मंसिर २२ गतेदेखि काठमाडौँ हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का लागि सहभागि ६ टिम तयारीमा व्यस्त छन्। त्यसैमध्येको एउटा फ्रेन्चाइज टिम हो ललितपुर प्याट्रिओट्स।

बैंकिङ क्षेत्रमा चर्चित नाम किशोर महर्जनको टिम हो यो। यस टिमको कप्तान तथा मार्की खेलाडीमा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल छन् ने प्रशिक्षकमा राजु बस्न्यात छन्।

ललितपुरका मालिक महर्जनले यस टिम एउटा ब्राण्ड बनिसकेको र ललितपुरमा मात्र नभएर नेपालभरनै ब्राण्डको रुपमा अगाडी बढेको बताए।

त्यही टिमले बुधवार पत्रकार सम्मेलन गर्दै टिमका खेलाडीहरुसँगै सहयोगी संस्थाहरुको नाम सार्वजनिक गरेको छ। यस्तै इपीएलमा खेलाडीले लगाउने जर्सी र नयाँ टिभिसी पनि सार्वजनिक गरेको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाजु महर्जनले समेत पत्रकार सम्मेलनमा उपस्थित भएर ललितपुर प्याट्रिओट्स इपीएलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले अर्को संस्करणमा महानगरपालिकाले प्याट्रिओट्स टिमलाई प्रायोजनमा सहयोग गर्ने विश्वास दिलाए।

प्याट्रिओट्सले यस संस्करणका लागि तीन विदेशी खेलाडीको नाम घोषणा गरिसकेको छ। जसमा गत वर्ष त्यही टिमबाट खेलेका दुई खेलाडी सन्नी पटेल र जयकिसन कोल्सावाल छन् भने गत वर्ष खेलेका योगेश नागरको स्थानमा नयाँ खेलाडी गौरव तोमरलाई भित्र्याएको छ।

'यस पटक हाम्रो विदेशी खेलाडीहरु राम्रा छन्। सन्नी र कोल्सावालको प्रदर्शन नेपालको फ्रेन्चाइज लिगमा राम्रो खेलिरहेको छ। तोमरले पनि पछिल्लो पटक पोखरा प्रिमियर लिगमा राम्रो खेलेका थिए। तोमर पीपीएलमा सर्वाधिक रन बनाउनेमा अगाडी थिए। सन्नी त उत्कृष्ट खेलाडी नै बने' महर्जनले भने। 'यस पटक पछिल्लो सिजनको भन्दा धेरै सन्तुलित टोली बनेको छ। हाम्रो कप्तान ज्ञानेन्द्रले पनि राष्ट्रिय टिमका लागि राम्रो खेलिरहेका छन्।' महर्जनले भने।

ललितपुर टिमबाट गत सिजन खेलेका नेपालका युवा स्टार सन्दीप लामिछानेले भने यस पटक दुई खेल मात्र खेल्ने महर्जनले प्रष्ट पारे।

त्यही समयमा अष्ट्रेलियामा बिग बास लिग बीबीएल हुने र त्यसमा मेलवर्न स्टारले सन्दीपलाई अनुबन्ध गरेका कारण सन्दीपले बाँकी इपीएलका खेल गुमाउने भएका हुन्।

'सन्दीप सुरुको दुई खेल खेलेर बीबीएल खेल्न जानेछन्। अष्ट्रेलिया जस्तो देशमा लिग खेल्न जान लागेकाले पनि हामीले छुट दिएका हौँ।'

कप्तान ज्ञानेन्द्र मल्लले विदेशी खेलाडीको आगमनले टिमको कम्बिनेसन राम्रो हुने बताए। 'हामीले टिमको कम्बिनेसन मिलाउनका लागि नै यी विदेशी खेलाडी छनोट गरेका हौँ। पहिले पनि सँगै काम गरिसकेकोले सहज हुनेछ।'

ज्ञानेन्द्रसँग इपीएल बाहेक धनगढीमा भएको डीपीएलमा पनि सन्नी पटेल र कोल्सवालाले काठमाडौँ गोल्डेन्सबाट खेलिसकेका छन्। यस्तै पीपीएलमा ज्ञानेन्द्रको टिम काठमाडौँ रोएल्सबाट कोल्सावाल र गौरव तोमरले खेलेका थिए।

यसैगरी प्रशिक्षक राजु बस्न्यातले तीन विदेशी खेलाडी र युवा खेलाडीहरुको संयोजनले परफेक्ट टिम बनेको बताए। 'गत वर्ष हामीले युवा खेलाडीहरुछनोट गरेका थियौँ। उनीहरुले डोमेस्टिक प्रतियोगितामा राम्रो खेलेर आफूलाई तयार पारिसकेका छन्। हामीले खोजे अनुसारको टिम बनेको छ प्याट्रिओट्स अहिले। हामीलाई फस्ट ११ छान्न गाह्रो हुनेछैन।' बस्न्यातले भने। 'तीन विदेशी खेलाडीको प्रदर्शन पनि राम्रो छ। हामीसँग पहिलो रोजाईका लागि अप्सन छ। बेन्च बलियो छ।'

यस पटक प्याट्रिओट्सको लक्ष्य के हो भन्ने प्रश्नमा ललितपुरका मालिक महर्जनले लक्ष्य जित्नुनै रहेको बताए। 'गत वर्ष पनि हामीले खेल्न नसकेर हारेका होइनौँ। क्रिकेट इज फन्नी ऊम भन्ने गरिन्छ। एलिमिनेटरमा हाम्रो एउटा क्याच ड्रप हुनाले हामी भाइटल खेलमा हार्‍यौँ। सबै खेलाडीको प्रदर्शन सँधै उस्तै हुँदैन। कहिले के हुन्छ कहिले के। तैपनि हामी गत वर्ष भन्दा राम्रो टिम बनेका छौँ।'

यस पटक खेलाडीको लागि गत वर्षभन्दा १० प्रतिशत रकम बढी दिने पनि महर्जनले जानकारी दिए। साथै विदेशी खेलाडीको लागि गत वर्ष भन्दा दोब्बर बढी पारिश्रमिक दिने भनेपनि कति भन्ने खुलाएनन्। खेलाडीहरुको लागि मात्र ३५ देखि ४० लाख खर्च हुने उनले जानकारी दिए।

यसका लागि प्याट्रिओट्सको मुख्य प्रायोजकमा नेपाल इनभेष्टमेन्ट बैँकले निरन्तरता दिएको छ। यस्तै विजय मोटर्स प्रालीको सुभारु मोटर सहप्रायोजनको रुपमा रहनेछ भने अन्न विभिन्न सहयोग संस्थाहरु पनि छन्।

मालिक महर्जनले अहिले इन्भेष्टको समय रहेको र यसको प्रतिफल ४-५ वर्षपछि मात्र देखिले जानकारी दिए।

यस सिजन ललितपुरले गत मेहबुब आलम र राजविर सिंहलाई टिमबाट रिलिज गरेको छ। उनीहरुको स्थानमा योगेन्द्र सिंह कार्की र नारायण जोशीलाई भित्र्याएको छ। यस पटक आयोजकले तीन खेलाडीसम्म रिलिज गर्न पाउने प्रावधान राखेको थियो। कार्कीलाई चितवन टाइगर्सले रिलिज गरेको थियो।

 

ललितपुर प्याट्रिओट्स टिम:

ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, सोनु तामाङ, ललित नारायण राजवंशी, पवन सराफ, कुशल भुर्तेल, सन्दीप जोरा, शंकर राना, रसिद खान, योगेन्द्र सिंह कार्की, नारायण जोशी, जयकिसन कोल्सावाला, सन्नी पटेल, गौरव तोमार (तीन विदेशी खेलाडी)

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell