
काठमाडौं : भलिबल नेपालको राष्ट्रिय खेल हो। नेपालमा भलिबल खेल्नेमा विभागीय टोलीको टिमहरु हावी छन्। अरु क्षेत्र जिल्ला वा एकेडेमीको टिम छन्।
यसै विषयलाई मध्यनजर गर्दै भलिबलकै छुट्टै क्लब नेपालमा पहिलोपटक भलिबल स्थापना भएको छ। सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइसकेको डेढ वर्ष भइसकेपछि अन्तर्राष्ट्रिय रेफ्री पूर्ण चौलागाईंको नेतृत्वमा ‘रारा नेपाल भलिबल क्लब’ को स्थापना भएको हो।
क्लबले आफ्नो पहिलो बैठकबाटै अर्को वर्ष वैशाखमा मुगुको रारामा राष्ट्रिय स्तरको बीच (समुद्री किनारमा खेलिने) भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।
भलिबल क्षेत्रमा मात्रै काम गर्ने उद्देश्यसहित खुलेको यस क्लबले ‘टुरिजम फर भलिबल’ भन्ने नारा तय गरेको छ। बरीच भलिबल प्रतियोगितालाई सफल बनाउन क्लबले प्रदेश सरकारसँग छलफल समेत सुरु गरिसकेको चौलागाईँले बताए।
भलिबल खेलको विकाससँगै पर्यटन प्रवर्द्धनको लागि समेत मध्यनजर गर्दै क्लब स्थापना गरिएको क्लबका अध्यक्ष चौलागाईंले बताए। ‘पर्यटन क्षेत्र रारालाई विश्वसामु चिनाउन पहिलो बैठकबाटै रारामा टुर्नामेन्ट आयोजनाको निर्णय गरेका छौं। आगामी दिनमा अन्य प्रतियोगितामार्फत विदेशी टिमलाई सहभागी गराएर नेपालमा रहेका हरेक पर्यटन क्षेत्रलाई चिनाउने लक्ष्य छ।
उनले नेपाल भलिबल संघसँग सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी हुने तथा देशैभरका भलिबल गतिविधिमा पनि संलग्न हुने जानकारी दिए।
गाउँमा लुकेर रहेका प्रतिभालाई खोज्नुका साथै हरेक खेलाडीलाई खेल जीवनपछि रोजिरोटीको व्यवस्था गर्नका लागि राज्यलाई दबाब सिर्जना गर्ने पनि क्लबले जनाएको छ। ‘खेल अवधि सकिएपछि, खेलाडीबाट रिटायर्ड भइसकेपछि तिनीहरुलाई विभिन्न प्रशिक्षण, कोच र रेफ्री लगायत कुनै न कुनै भूमिकामा इन्गेज गराउने वातावरण बनाउने हाम्रो लक्ष्य छ’, उनले भने, ‘बाहिर (विदेश)का खेलाडी ल्याएर खेलाउने वातावरण पनि बनाउँछौं।’
चौलागाईको अध्यक्षतामा स्थापना भएको क्लबको उपाध्यंक्षमा सुमन आचार्य र रामचन्द्र लामिछाने, महासचिवमा अनिता थापा, सचिवमा भक्तबहादुर राउत, सहसचिवमा नर्पु घले र कोषाध्यक्षमा प्रकाश डाँगी छन्।
त्यस्तै बसन्तसिंह कठायत, विमल कोइराला, टंक प्रसाद चौलागाईं, सुनिता थापा, वीरबहादुर बुढा लगायत सदस्यमा रहेका छन्। क्लबले पूर्ण कमिटी गठन गरेर छिट्टै पत्रकार सम्मेलनको तयारी समेत गरेको छ।