
काठमाडौंः शुक्रबारदेखि काठमाडौँमा हुने एसिया प्यासफिक समिटको सवारी व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान तालिका प्रभावित हुने भएको छ। बिहीबारदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको हो।
विमानस्थलका अनुसार, आज (बिहीबार) बिहान ११ बजे म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्री आङसाङ सुकी र ११:४० बजे कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन सहितका उच्च पदाधिकारी आउने नेपाल आउँदैछन्। उनीहरु आउनु १५ मिनेट अघिबाट बिमानस्थलका नियमित उडान बन्द हुने छन्। उनीहरु बिमानस्थल ओर्लिएको अर्को १५ मिनेटसम्म नियमित उडान हुँदैन।
यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भिभिआइपीको फ्लाइट हुँदा विमानस्थलले उडानअघि र पछि गरेर आधा घण्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडान अवतरण रोक्दै आएको थियौं, बिमानस्थल स्रोतले भन्यो, 'नियमित उडान प्रभावित हुने भएकाले यस बारेमा हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पूर्व जानकारी गराइसकेका छौं।'
सम्मेलनमा विशिष्ठ व्यक्तिको प्रतिनिधित्व रहने भएकाले उड्डयन व्यवस्थापनका लागि गृह मन्त्रालयको निर्देशन अनुसार व्यवस्थापन गरिएको उनको दावी छ। सार्बजनिक तथा निजी सवारी साधनमा पनि सरकारले आजबाट १६ गतेसम्मका लागि जोरबिजोर प्रणाली लागू गरिसकेको छ।