
काठमाडौँ : आगामी मार्च दोस्रो साता नेपालमा हुने पक्का भएको पाँचौ साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने भएको छ।
नोभेम्वर २७ मा मा ओमनको मस्कटमा भएको साफ राष्ट्रहरुको भेलाले च्याम्पियनसिप मार्च १२ देखि २२ (फागुन २८ देखि चैत ७ ) सम्म आयोजना गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
एन्फाले बिहीवार विज्ञप्ती जारी गर्दै ११ दिने प्रतियोगिता विराटनगर रंगशालमा हुने जानकारी दिएको हो।
च्याम्पियनसिप नेपालमा हुन लागेको यो पहिलो पटक हो। नेपालले अहिलेसम्म यस प्रतियोगिताको उपाधि जित्न सकेको छैन।
एक साताअघि एन्फाले च्याम्पियनसिप नेपालमा हुने पक्का भएको जानकारी दिएको थियो। तर कु्न स्थानमा हुने निर्णय भएको थिएन।
सुरुमा पाँचौ संस्करण श्रीलंकाले गर्ने भनिएपछि पछि उसले आयोजनाबाट हात झिकेपछि नेपालले आयोजनाको अवसर पाएको हो।
च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाली राष्ट्रहरु भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
नेपालको महिला राष्ट्रिय फुटबल टिम र महिला यू-१९ टिमले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको पछिल्लो सफलताले गर्दा नेपालमै हुने साफ च्याम्पियनले नेपाली खेलाडीहरुलाई पनि थप अवसर प्रदान गर्ने एन्फाले जनाएको छ।
नेपालले यू-१९ महिला टोली साफ यू-१८ च्याम्पियनसिपमा उपविजेता भएको थियो भने एएफसी यू-१९ महिला च्याम्पियनसिप क्वालिफायरको पहिलो चरण पार गर्न सफल भएको थियो।
यस्तै महिला राष्ट्रिय टोलीले सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकको लागि एसिया क्षेत्रको पहिलो चरणको छनोट पार गरेको थियो।
एन्फाले पहिलो पटक आयोजना गर्न लागेको महिला साफ च्याम्पियनसिपलाई सफलतापूर्वक सम्पन्न गर्ने समेत जनाएको छ।