
उपाधि दाबेदार क्लब चेल्सी र आर्सनलले युरोपा लिगमा जित हात पारेका छन्। यस्तै इटालियन क्लब एसी मिलान पोर्चुगलको स्पोर्टिङ सिएफले फराकिलो जित हात पार्दा पूर्व विजेता सेभिया भने पराजित भएको छ।
ओलिभर जिरुडले दुई गोल गरेपछि चेल्सीले पिओएकेलाई ४-० ले पराजित गर्दै समूह एल को समूह विजेता बन्ने पक्का भएको छ। यसअघि नै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको चेल्सीले समूहमा अपराजित रहँदै पाँच खेल जितेर १५ अंक जोडेको छ।
यसै समूहको अर्को खेलमा बाटे बारिसोभले भिदीलाई २-० ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ। समूहमा एक खेल बाँकी रहँदा बाटे र भिदीको समान ६ अंक छ।
यसैगरी अर्को इंग्लिस क्लब आर्सनल भोस्कला पोल्टाभालाई ३-० ले पराजित गर्दै समूह इ को शीर्ष स्थानमा छ। आर्सनलका लागि एमिल स्मिथ रोव, आरोन राम्से र जोसेफ विललकले एक-एक गोल गरे।
जितपछि आर्सनलले ५ खेलबाट १३ अंक जोडेको छ। यसै समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्ट्सिङले क्वारावागलाई ६-१ ले पराजित गर्दै १० अंक जोडेको छ। एक खेल बाँकी छदै आर्सनलसँगै स्पोर्टिङ पनि अन्तिम ३२ मा पुगिसकेको छ।
यसैगरी इटालियन क्लब एसी मिलानले एफ९१ डुडेलानलाई ५-१ ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ। जितपछि मिलान १० अंकसहित समूह एफको दोस्रो स्थानमा उक्लेको छ। ओलम्पियाकोसलाई १-० ले पराजित गर्दै ११ अंक जोडेको स्पानिस क्लब रियल बेटिस यस समूहको शीर्ष स्थानमा छ। हारे पनि ७ अंक रहेको ओलम्याकोस तेस्रो स्थानमा छ र नकआउट चरण पुग्ने होडमा छ। समूहको अन्तिम खेलमा मिलानले ओलम्पियाकोसँग खेल्नेछ र त्यसमा बराबरी नतिजा नै मिलानलाई नकआउट पुग्न पर्याप्त हुनेछ।
स्पानिस क्लब सेभिया भने समूह जे को खेलमा स्टानडर्ड लिगसँग १-० ले पराजित भएको छ। हारपछि सेभिया पाँच खेलबाट ९ अंककका साथ दोस्रो स्थानमा छ। अखिसमास्पोरलाई २-१ ले हराएको एफसी क्रासनोडर ११ अंकसहित समूह जे को शीर्ष स्थानमा उक्लेको छ। सेभियालाई हराएको स्टानडर्ड लिगको पनि ९ अंक नै छ र गोल अन्तरमा पछि छ।
अब अन्तिम खेलमा सेभियाले क्रासनोडरसँग खेल्नेछ। उक्त खेल जिते अर्को खेलमा जस्तो नतिजा आएपनि सेभिया अन्तिम ३२ मा पुग्नेछ। यदी स्टार्ड लिग पराजित भएमा सेभिया हारे पनि नकआउट चरणमा पुग्नेछ।