
भारतको उत्तरपूर्वी क्षेत्रमा रहेको असाम राज्यको राजधानी गुवाहातीभन्दा सय किलोमिटर टाढा एउटा जंगल छ। १० वर्षअघि बाँझो रहेको २ हजार ६ सय हेक्टर जमिनमा आकाशतर्फ फर्किएका असमान आकारका रबरका रुखहरुले त्यो जंगली क्षेत्रलार्इ छुट्टै महत्त्व दिएको छ।
उडलगुरी जिल्लामा रहेको भैरवकुण्डमा बनेको मानव निर्मित जंगलले त्यस क्षेत्रमा मानव र हात्तीबीचको द्वन्दलार्इ समाधान गर्ने अपेक्षा गरिएको छ। यो वर्षमा मात्रै गाउँमा खानाको खोजीमा आएका जंगली हात्तीको आक्रमणका कारण १८ जनाको मृत्यु भएको थियो। नोभेम्बरमा मात्रै त्यस क्षेत्रमा ८ त्यसता घटनाहरू भइसके।
उक्त जंगलको संरक्षणमा लागेका ३५ व्यक्तिहरूको नेतृत्व भारतबाट स्वतन्त्र हुने माग गर्दै सशस्त्र द्वन्द्व गर्दै आएको बोडो जातिका नेशनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्यान्डका सदस्य इस्माइल डाइमारी हुन्। हतियार बुझाएपछि सरकारले सञ्चालन गरेको शिविरमा आनन्दले बस्नुभन्दा इस्माइल र उनका साथीहरुले सरकारसँग छलफल गर्दै बाँझो रहेको केही जग्गा ठेक्कामा लिएका हुन्। सरकारसँग उक्त क्षेत्रबाट आउने नाफा ५०-५० प्रतिशत बाँड्ने सम्झौता भएको थियो। केन्द्र सरकारले उक्त कार्यका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको थियो। तर सम्झौता अनुरूप सरकारले काम नगरे पनि नजिकका ६ गाउँ र परम्परागत प्रविधिको प्रयोग गर्दै बाँझो जमिनलार्इ हरियालीयुक्त जंगल बनाउन सफल भएको इस्माइलले बताए।
'३५ जना मिलेर हामीले यहाँको काम सन् २००७ मा सुरु गरेका हौँ। त्यसका लागि हामीले वन विभागको परामर्श लियौँ। हामीले राज्यलार्इ नाफाको ५० प्रतिशत दिनुपर्थ्यो तर पछि हामीले त्यस्तो गरेनौँ। आयस्रोत बनाउनका लागि अहिले हामी जंगली सामाग्रीको प्रयोग गर्दै लघु उद्योग सञ्चालन गर्ने सोचिरहेका छौँ।'
जब कोही उक्त जंगलमा प्रवेश गर्छ उसले तापक्रम परिवर्तन भएको महसुस गर्छ। जंगल क्षेत्र बाहिर गर्मी हुँदा जंगलभित्र प्रवेश गर्ने बित्तिकै रबरका रुखहरुको बेगले शितल महसुस गराउँछ। जंगल निर्माणका लागि खोलाबाट पानी ल्याउन कुलो बनाइएको छ।
जंगली क्षेत्रको भ्रमण गर्दै जाँदा ६ गाउँ देख्न सकिन्छ। सोनाइगाव, भैरवपुर, गोरोइमारी,सपनगाव, मजरगाव १ र २ नाम गरेको उक्त गाउँहरूका मानिसहरूले त्यस क्षेत्रमा रहेका करिब २ हजार वनस्पतिको संरक्षणमा लागेका छन्। प्रत्येक गाउँका मानिसहरू पालैपालो जंगलको निरीक्षणका लागि खट्छन्। उनीहरूको काम भनेको कुनै रुखहरू ढलेको-नढलेको हेर्नु, वा जनावर वा चराचुरुङ्गीहरुको शिकार गर्न नदिनु हो। त्यस क्षेत्रमा पाइने जनावरहरुमा हात्ती, चित्तल, न्याउरी मुसो, अजिङ्गर, मृग, जंगली सुँगुर रहेका छन्। केही समयअघि त्यहाँ चितुवाका साथै उड्ने सर्प पनि देखा परेको थियो। त्यस क्षेत्रमा मानिसहरु चराचुरुङ्गी हेर्न आउने गर्छन्। त्यहाँ बसाइँ सरेर आएका चराहरू र पहिला त्यहाँबाट पलायन भएका चराहरू समेत आउने गरेका छन्।
धेरै पर्यटकहरूको आवतजावत नहुने भएकाले जंगल व्यस्त देखिँदैन। जंगल संरक्षण कमिटीको नेतृत्व गरिरहेका इस्माइल भने त्यस क्षेत्रलार्इ 'इको टुरिजम'को हबका रुपमा स्थापना गर्न सकिने बताउँछन्।
'जंगललार्इ इको टुरिजममा परिणत गर्न हामीले सरकारसँग सहयोग मागेका छौँ। यसबाट यहाँका मान्छेहरूले दिनरात कडा मिहिनेत गरेर जीविकोपार्जन गर्न सक्छन्। पर्यटकहरूका लागि रुखका घरहरू समेत बनाउन हामीले सुरु गरेका छौँ। बिजुली नभएकाले यहाँ हामीले बत्तीका लागि सोलार प्यानलहरू जडान गरेका छौँ। सरकारको सानो सहयोगले यस क्षेत्रमा ठूलो परिवर्तन गर्न हुन सक्छ।'
बिदा मनाउन र वनभोजका लागि हाल उक्त जंगलमा धेरै मानिसहरु आउने गरेका छन्। कुनै वैज्ञानिक अनुसन्धान र साजसज्जा बिना निर्माण भएको जंगल हेर्न दिल्ली विश्वविद्यालयका साथै १३ देशका वनजंगल संरक्षणमा चासो राख्ने व्यक्तिहरुले त्यस क्षेत्रको भ्रमण गरिसकेका छन्।
सरकारसँग २००५ मा गरिएको शान्ति सम्झौताको विरुद्धमा नेशनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्यान्डबाट छुटेको एक समूह भने अहिले पनि सशस्त्र समूह निर्माण गर्दै आएको छ। सन् २०१४ देखि त्यो समूहले असामका विभिन्न क्षेत्रमा जातीय हिंसा फैलाउँदै आएको सरकारले आरोप लगाउँदै आएको छ। बोडो जातिका मानिसहरुले असामको १० प्रतिशत जनसंख्या ओगटेको छ र उनीहरु विकासको रेखाभन्दा धेरै तल छन् र काममा लागि शहरतिर जान्छन्। उनीहरुको उद्देश्य भनेको 'भारतबाट अलग्गिनु र सार्वभौम बोडोल्यान्ड' बनाउनु हो।