
काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लबले पल्सर ए डिभिजन लिगमा तेस्रो जित हात पारेको छ।
'सुपर सब' निर कुमार राई नायक बन्दा पुलिसले एनआरटीलाई ३-० ले पराजित गरेको हो। जितपछि पाँच खेलबाट १० अंक जोडेको पुलिस अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ।
अर्को विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पाको पनि समान १० अंक भएपनि गोलअन्तरमा आर्मी अगाडी छ। आर्मी दोस्रो स्थानमा छ भने कम गोलअन्तर रहेको शेर्पा चौथो स्थानमा झरेको छ। आर्मी र शेर्पाबीच आइतवार खेल हुनेछ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले तेस्रो जित हात पार्दा निर कुमारले दुई गोल गरे। अभिषेक रिजालले एक गोल गरे।
३२औँ मिनेटमा दिनेश गुरुङको स्थानमा मैदान प्रवेश गरेका निर कुमारले ४०औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा एक गोल गरेको पुलिसले दोस्रो हाफमा दुई गोल थप्यो। ६६औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे। ८१औँ मिनेटमा निर कुमारले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले सहज जित हात पारेको हो।