PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

#मिटूको अनुभव खोज्दा खोज्दै खम्बा खम्बामा समृद्धि



किशोर नेपाल

#मिटूको अनुभव खोज्दा खोज्दै खम्बा खम्बामा समृद्धि

  • किशोर नेपाल-
त्यसदिन बिहान मौजाबाट आएकी कलावतीको ‘मीटू’ कथा सुन्दै थिइ कनिका। भोजपुरी फिल्मकी नेपाली तारिका कलावतीको लोग्ने काम गर्न विदेश गएको छ। उ एक्लै बसेको घरमा एकसाँझ उसको ससुरा आयो। त्यो साँझ उसको ससुराले कसरी बलात्कार गर्न खोज्यो? कलावती रोचक पारामा बताउँदै थिइ। कहिले उ हाँसेको जस्तो गर्दथी र कहिले रोएको जस्तो। उसको ताल देखेर कनिका दंगदास थिइ। 

कलावतीलाई हजुरमुवाले पठाउनु भएको कनिकासँग भेट्न। मीटूको सीजन आएपछि हजुरमुवाले नै उक्साउनु भयो कलावतीलाई ससुराको विरुद्ध बयान दिन। कनिका कुरा सुन्न थाली। कनिकाले भेउ पाइ सकेकी थिइ – दिनको सयौं केटीको बलात्कार हुने र बाबु, हजुरबाबु, काका र दाजु–भाइबाटै केटीहरु बलात्कृत हुने यो देशमा कसैको पनि भर छैन। ससुराको के भर?

कलावतीसँग कुरा गदागर्दै कनिकालाई फोन आयो अफिसबाट। 

‘हलो, कहाँ अलमलिइस तँ,’ लाइनमा सुदिप्ती थिइ ।

‘म कलावतीको मीटू अनुभव समेट्दैछु। भनी हाल, के भो?’ कनिकाले सोधी।
 
‘कहाँ ‘मीटू’ मा अल्झिराखेकी। हुनु नहुनु भै सक्यो नि यहाँ। बिजुलीको पोल पोलमा समृद्धिको पालुवा लाग्यो,’ सुदिप्तीले बताइ। उसको कुरा सुनेपछि कनिकामा उत्सुकता बढ्यो। कलावतीसँग साँझ कुरासक्ने बाचा बाँधेपछि उ निस्किइ। उसको सानो मोटरमा चार्ज कम थियो।
 
उ विस्तारै माइतीघर मण्डलातिर हुइँकिइ। त्यसपछि उसले देखि आँखाको नेटोले भ्याउनेसम्मका सबै पोल झिलिमिलि थिए। प्रधानमन्त्री केपी ओलीको तस्वीरले पोष्टरको गरिमा बढाएको थियो। पोष्टरमा प्रम ओली गमक्क परेर बसेको स्पष्टै देखिन्थ्यो।

उसले यी पोष्टरबारे एकजना युवकको प्रतिक्रिया मागी, ‘यो पोष्टरलाई कसरी हेर्नु भएको छ?’

जवाफ मज्जाको आयो। यस्तो – ‘कसरी हेर्नु र? प्रधानमन्त्री भा'को मौकामा समृद्धिको शिलन्यास गरेका थिए बड्डाले। अहिले खम्बा खम्बामा तमासा फलेछ।’ युवकले उत्तर दिशातिर इशारा गर्दै भन्यो, ‘यो उतैतिरबाट त आएको होला नि। रेलै चढेर आएको भए अझ धेरै देखिन्थ्यो। अहिलेलाई यत्तिले नै चित्त बुझाउनु पर्ने भो।’

कनिकाले छेउमा उभिएका एकजना अधबैंशेलाई सोधी, ‘तपाईंको आँखालाई कस्तो लाग्यो यो झिलिमिलि?’

‘खोइ कस्तो भनौं? ‘खानु खुट्नु केही छैन, तातो पिंडालु,’ भनेको यही हो। हामीले यस्तो धेरै देख्यौं अब देख्ने पालो तिमेरुको।’

उनको जवाफ सुनेर दिमाग फ्रेस भो कनिकाको।

खम्बामा टाँसिएका प्रम ओलीको दुई दर्जन फोटो उतारेपछि उ अफिस पुगी। अफिसमा गहमागहमी बहस भइरहेको थियो। प्रम ओलीको सरकारले मद्यपानलाई दुरुत्साहितगर्न बार र रेष्टुराँ खुल्ने समय खुम्च्याउँदै थियो।

‘अब के गर्ने कनिका दि?’ भुचुक सोध्दै थियो। कनिकाले जवाफ दिइन। उ त्यहाँबाट आफनो केविनमा गइ। उसले आफनो ड्रअरमा सिंगल माल्ट राखेकी थिइ। बोत्तल निकाली। अलिकति ग्लासमा खन्याइ र स्वाट्ट पारी। उ रिसाएकी थिइ। किन सरकारहरु पिउने कुरामा नियन्त्रण गर्न चाहन्छन्? पिउने कुरामा नियन्त्रण गरेर कोही लोकप्रिय हुने भएको भए उहिलेका बुढा भारतीय प्रधानमन्त्री मोरारजी भाइ कति लोकप्रिय हुने थिए? उनी त अझ स्व–मूत्रपान पनि गर्दथे।

‘ल आयो आजको ताजा समाचार’ भुचुक हकरको स्वर निकालेर कराउन थाल्यो, ‘ल आयो है ताजा खबर। प्रम ओलीले मदिरामा कडा कार्यकारी आदेश जारी गर्ने। मापसे गरेर मोटर चढन नपाइने। रक्सी किन्न आइडी अनिवार्य चाहिने। मदिरा उद्योग खोल्न नपाइने।’

खबर अरु पनि थिए, जस्तो, ठमेलको चाइनिज रेष्टुराँमा नेपाली युवती बलात्कृत। अपहरित बालकको हत्या। प्रमको समृद्धि  अभियानलाई मेलम्चीको धोका। सुरुङ ढलान गर्दागर्दै चुनाव आउने। समृध्दिको कुरा गर्दैगर्दा देशको एकमात्र बाल अस्पतालमा हचुवाको भरमा पाँचमहिने शिशुलाई क्यान्सरको ओखती।

अरु उपलब्धि वा अनुपलब्धि, जे जसो भए पनि, रेलका मामिलामा प्रम ओलीको दृढता। एक अर्ब खर्च गरेर दुई सेट रेल किन्ने। भाडाका हवाइजहाज चलाए जस्तो भाडाको रेल नचलाउने।

चारैतिर समृद्धिको कुरा सुनेपछि कनिका बोर भै। उ आफनो कोठामा छिरी र सिंगल माल्टको अर्को पेग घुटक्याइ। त्यसपछि उ घर फर्किइ। कलावती उसलाई पर्खिरहेकी थिई ‘मीटू’ अनुभव सुनाउन।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell