
काठमाडौं : अभिनेता आशिरमान देशराज जोशी श्रेष्ठले 'ग्याङस्टार ब्लुज'बाट नेपाली फिल्ममा डेब्यू गरेका हुन्। आयुषमान देशराज जोशी श्रेष्ठका भाइसमेत रहेका उनको त्यतिखेर अभिनयको तारिफ भएको थियो।
हालै उनले दोश्रो फिल्म पनि गरेका छन्। 'द ब्रेकअप' उनको दोश्रो फिल्म हो। निर्माण टिमले पछिल्लो समय फिल्मको रिमेक गीत सार्वजनिक गर्यो।
टिमले अहिले फिल्मको अर्को नयाँ गीतको भिडियो पनि सार्वजनिक गरेको छ। फिल्मको 'हरपल' बोलको गीतमा बिराज गौतमको आवाज र संगीत छ। प्रकाश मल्लको शब्द रहेको गीतलाई विशेष पाण्डेले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिरमानसँगै शिल्पा मास्के फिचर्ड छिन्।
हेमराज बिसीको निर्देशनमा बनेको फिल्ममा आशिर र शिल्पासँगै रेमनदास श्रेष्ठ, इच्छा कार्कीको अभिनय छ। फिल्ममा नरेन्द्र मैनालीको छायाँकन छ। फिल्म पौष २७ गतेदेखि प्रदर्शन हुनेछ।