PahiloPost

May 31, 2020 | १८ जेठ २०७७

बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो (#WhoKilledNirmala शृङ्खला ७)



पहिलोपोस्ट

बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो (#WhoKilledNirmala शृङ्खला ७)

  • महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -
दार्चुलामा रहेका बुबा दीपेन्द्रसँग बम दिदीबहिनीसित कुरा गर्न अनुमति माग्दा सुरुमा उनी पन्छिन खोजे। साथी महेन्द्र बमले सुदूरपश्चिमेली लवजमा हाम्रो उद्देश्य प्रष्ट्याएपछि मात्रै उनी तयार भए। अनलाइनबाट भनेकाले उनले हामीलाई युट्युबर ठानेका रहेछन्।
 
'युट्युबवालाहरु त हरामी हुँदा रहेछन्, काटेर भिडियो राख्ने। के के हेडलाइन राख्ने, तलको कमेन्ट हेर्दा त तनाव नै हुने,' बबिता बमले हामीसँगको भेटमा दिएको यस्तो प्रतिक्रियाले उनीहरुका बाबु सशंकित हुनुपर्ने कारण खुलाएको थियो।
  
निर्मला पन्त आएको देख्ने तर गएको नदेख्नेहरु भएका कारण सबैको शंका यही घरमा छ। अनि धेरै आरोपहरु उनीहरुमाथि लागिरहेका छन्। हामी यी आरोपहरुबारे उनीहरु के भन्छन् त भन्ने सुन्न चाहन्थ्यौँ। 

किनकि बम दिदी बहिनीबारे महेन्द्रनगर बजारमात्र होइन, सामाजिक सञ्जालमा पनि धेरै कुरा उठिरहेका थिए। मूलधारका मिडियामा बम दिदी बहिनीका विषयमा गृह मन्त्रालयको रिपोर्ट उदृत गरेरमात्र समाचार आएको देखिन्छ। ती समाचारमा उनीहरुसँग स्वतन्त्र रुपमा मिडियाले प्रश्न गरेको छैन।

बम दिदीबहिनीमाथि किन अनुसन्धान गरिएन?

बम दिदीबहिनीहरुमाथि अनुसन्धान नै गरिएन भन्ने एउटा आरोप छ।

तर बबिताले भनिन्, ‘म २० दिनसम्म हिरासतमा बसेकी थिएँ। एसपी दिल्लीराज विष्ट हुँदा दुई दिन र अर्को एसपी आएपछि १८ दिनसम्म राखेर केरकार गरेका हुन्।'
 
के के सोध्थे त? 

बबिताको दावी अनुसार राति १२/१ बजे पनि उठाएर सोध्थे। 'हरे, के के मात्र सोधेनन्? जुत्ता कसले किनिदिएको? जुत्ता कुन दोकानबाट किनेको हो? यस्तो यस्तोसम्म सोध्ने के!,' उनले भनिन्, 'शारीरिक दु:ख दिएनन् तर मानसिक तनाव दिन्थे।'

गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा पनि प्रहरी निरीक्षक एकिन्द्रबहादुर खड्काले ‘शवको पोस्टमार्टम गरेपश्चात् बम दिदीबहिनीहरुलाई सोधपूछ तथा अनुसन्धान गर्न २४ घण्टा नियन्त्रणमा लिई प्रमाण केही नदेखिएकाले छाडिएको हो’ भनेका छन्। 

तत्कालीन एसपी दिल्लीराज विष्टलाई हटाएर एसपी कुबेर बहादुर कठायतले जिम्मेवारी सम्हालेपछि भने बबितालाई १८ दिन र रोशनीलाई ६ दिन हिरासतमा लिइएको थियो।

सोधपूछ त भएको छ तर तरिकासँग स्थानीय असन्तुष्ट छन्। महेन्द्रनगर बजारमा अटो रिक्सा चलाउने राजेन्द्र बडुले अघिल्लो दिन नै हामीलाई भनेका थिए, 'समातेर नानी, मासु खाने कि के खाने? भनेर मेजबानी गरी सोधेपछि कसैले बताउँछ?’

धर्नास्थलमा पनि जुन घरबाट हरायो त्यही घरबाट अनुसन्धान गर्नुपर्ने, सबै कुरा बम दिदीबहिनीहरुलाई थाहा छ, उनीहरुबाट ओकल्न लगाउनु पर्छ भन्नेहरु थिए। 

अर्थात्, स्थानीयको माग बम दिदी बहिनीहरुलाई यातना दिएर भए पनि 'कुरा ओकल्न लगाउनु पर्छ' भन्ने छ। 

प्रहरीले उनीहरूको मोबाइल, कल डिटेल रेकर्ड, कल लोकेसन रेकर्ड, फेसबुक लगायत प्राविधिक पक्षको विस्तृत अनुसन्धान गरेको छ। तर त्यसबाट प्रहरीले यो घटनासँग सम्बन्धित कुनै पनि क्लु पाउन सकेको छैन।

निर्मलाकी आमालाई घरको गेट लगाएर किन भित्र पस्न दिइनन्?

निर्मला साँझसम्म घर नआएपछि उनकी आमा दुर्गादेवी पन्त खोज्न आएकी थिइन्। बजारमा हामीले सुनेका थियौं – बम दिदी बहिनीले दुर्गादेवीलाई घरको गेट लगाएर भित्र आउन दिएनन्। 

जति बेला निर्मलाकी आमा छोरी खोज्न आएकी थिइन्, त्यही बेला उनीहरुका छिमेकी देवी पाण्डे पनि त्यहीँ थिइन्। देवीको घर उनीहरुको घरभन्दा अगाडि रहेको सडक पारी छ। देवी आफ्नी सानी छोरी कृतिकालाई लिन बम दिदी बहिनीकहाँ आएकी थिइन्। 

‘साँझ म बच्चा लिन आउँदा अगाडिको ढोका बन्द थियो। म पछाडिको ढोकाबाट आएँ,' उनले भनिन्। 

सडकसँगै जोडिएको भए पनि पर्खाल लगाइएको कम्पाउन्डमा फलामको एउटा सानो गेट छ। गेटभित्र पसेपछि सानो बारी र फराकिलो आँगन। त्यहाँ मूल ढोका छ। मूल ढोकालाई दायाँ पारेर जाँदा पछाडिपट्टि अर्को ढोका पनि छ। 

निर्मलाकी आमा छोरी खोज्न त्यहाँ आउँदा उनी पनि घरभित्रै थिइन्।

उनले हामीसँग निर्मलाकी आमा आउँदा के भयो यसरी सुनाइन् -
 
'रोशनी र मेरी छोरी टिभी हेरेर बसेका थिए। तेरी दिदी खोइ भनेर मैले सोध्दा ट्युसन भनी। गाना हेर्दै थिए। रोशनीले बस-बस भन्दै थिई। मैले मेरो घरको ढोका खुल्लै छ बस्दिनँ भनेँ। मेरी नानी कम्मर हल्लाउँदै थिई। मैले नाच नानी समेत भनेँ। मेरी नानी उठेर नाचिहाली। एकैछिनमा बबिता आई। ऊ आएर एक साइडमा बसी। 

एकछिनमा निर्मलाकी आमा आइन्। मैले उनले बोलाएको आवाज चाहिँ सुनिनँ। गेटमा ढ्वाङ ढ्वाङ गरेको आवाज आयो। गेटमा को आएछ भनेर रोशनी हेर्न गई। हामी पनि पछि-पछि गयौँ। निर्मलाकी आमाले ‘रोशनी, निर्मला खोई बाहिर निकाल’ भनिन्। रोशनीले ‘गा हुन् गा हुन्’ भनिन्।

'हैन आन्टी अघि नै गएकी चटपटेको पैसा दिएँ। अम्बा खायौँ,' सबै भन्दै थिई रोशनीले।
 
मेरी छोरी घर पुगेको छैन। केही भए तँ जिम्मेवार हुन्छेस् भनेर निर्मलाकी आमाले भनिन्। त्यसपछि उनी फर्किँदै थिइन्। त्यसपछि यो (बबिता) छिटी भएर बोली 'केरे केरे आन्टी, के भन्नुभयो तपाइँले? तपाईँकी छोरी यहाँबाट गइसकेकी थिई। हामी किन जिम्मेवार? कहाँ गई, पोइला पो गई कि भन्दिइन्। बा-बा हो, यत्ति हो। अनि म छोरी लिएर निस्किएँ।

पछि धेरै कुरा उठ्यो। गेट खुल्लै थियो। म यहीँ नै थिएँ। गेटमा ताला लगाएको समेत भन्ने हल्ला आउँछ। मलाई अचम्म लाग्छ। त्यसपछि र अगाडिको कुरा भन्न सक्दिनँ। मैले देखेको कुरा यत्ति हो।

'पोइल गई कि!' भनेको बबिता स्वयम् पनि स्वीकार्छिन्। उनले भनिन्, ‘रिसको झोँकमा तेरी छोरी पोइला गई कि कहाँ गई भन्नु मेरो एउटा गल्ती भयो।‘ 

त्यस दिन बरन्डाबाट बबिताले जे भनिन् त्यसोमात्र नभनेको र निर्मलाकी आमालाई भित्र बोलाएको भए अहिले यति धेरै शंकाको शृङ्खला चुलिने थिएन। निर्मलाकी आमा घर भित्र गइनन् भने बम दिदीबहिनीहरुले पनि उनलाई घरभित्र बोलाएनन्।
 
त्यसैले धामी देखाउँदा 'आमाले बोलाउँदा मलाई घरभित्रै बाँधेर राखेको थियो' भन्दै निर्मलाको आत्माले बकेको हल्ला चल्यो। 

निर्मलाको हत्या त्यही दिन दिउँसो २ देखि ४ बजेको बीचमा भएको अनुमान छ। यदि हत्या त्यही घरमा भएको भए, त्यतिबेला शव घरमै हुनुपर्थ्यो। 

‘अपराध गरिसकेपछि मानिस केही डराएको हुन्छ, सबुत छाडिएला कि भन्ने त्रास उसमा भइरहन्छ,’ अनुसन्धानमा पोख्त पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी भन्छन्, 'त्यस्ता व्यक्ति घटनालगत्तै सहज रुपमा बस्नै सक्दैन। व्यवहार असामान्य नै हुने गर्छ त्यस्ता व्यक्तिको।'  

अब प्रश्न उठ्छ - लाश एउटा कोठामा राखेको अवस्थामा छिमेकीकी छोरीसँग गीत बजाउँदै नाच्दै गर्न सक्छन्? 

‘निर्मलाकी आमाले पनि मलाई देखेकी थिइन्। हामी छिमेकीलाई भनेको भए हामी नै यिनीहरूको घर घेर्ने थियौँ। मलाई शङ्का छ हेर्दे भनेको भए हामी नै हेर्थ्यौँ,‘ देवीले भनिन्, 'मैले साँचो कुरा बताउँदा मलाई बम दिदी बहिनीहरुले पैसा खुवाए भन्ने समेत आरोप लाग्यो। म त साँचो कुरा बताउन डराउँदै डराउँदिन।’ 

निर्मलाकी आमाले गेट लगाएको थियो भन्ने र छिमेकी देवीले लगाएको थिएन भन्ने दुवै कुरा बाझियो। गेट बन्द थियो कि थिएन भन्ने स्वतन्त्र पुष्टि हामीले कतैबाट गर्न सकेनौं। 

त्यही दिन निर्मलाकी आमा दुई पटक आएकी थिइन्। रोशनी भन्छिन्, ‘दोस्रो चोटी आन्टीले राम्रो कुरा गर्दै थिइन्। कस्तो लुगा लगाएको यो - त्यो भन्दै थिइन्। मैले त दोस्रो पटक घरभित्र नै बोलाएकी थिएँ। उनलाई हामीमाथि शङ्का थिएन। दिदीको एउटा बोलीले मात्र कुरा बिग्रिएको हो।' 
 
हामीले बुझे अनुसार बबिताको बोली र व्यवहार अलि छुच्चो छ। त्यही छुच्चो बोली व्यवहार उनीहरुमाथि शंका उब्जनुको प्रमुख कारण भयो, यस घटनामा।
 

साइकल जहाँ छ, लाश पनि त्यहीँ होला भनिन्?

साउन ११ गते साइकल भेटिएको भन्ने कुरा श्रीमानसँग हुँदा नजिकै रहेकी बबिताले 'साइकल भेटिएछ, लाश पनि त्यतै भेटिएला भनेको' बयान गृह मन्त्रालयको छानबिन समितिलाई क्वीन ब्युटी पार्लरकी सञ्चालक रुपा कार्कीले दिएकी छिन्। 

बबिताले उनको बयानलाई झुटो भनिन्। 'मैले भनेकी छैन। पार्लरमा रुपा कार्कीहरूले नै कुरा गरेको सुन्दै थिएँ। बरु उनीहरूले 'साइकल त्यहाँ भेटिए, लाश पनि भेटिन्छ, त्यहाँ केटाहरू पनि बस्थे' भनेका हुन्। मैले केही भनेकी छैन।'

उनले यसो भनेको सुन्ने अरु कोही नभएकोले यो कुरा बबिताले भनेकी हुन् कि हैनन् पनि हामीले स्वतन्त्र रुपमा पुष्टि गर्न सकेनौँ। 

डान्सबार र डान्सरको कुरा

बबिता डान्सर भएको र ओपेरा होटलको डान्सबारमा काम गर्ने नेपाल मानवअधिकार संगठनको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन पूरा पढ्न यहाँ क्लिक गर्नुस्। 

‘मेरो काम कलेज पढ्नेमात्र हो। डान्स बारमा काम गर्ने झुट हो। मलाई कसैले यसबारेमा सोधेको नि छैन। मेरो चरित्र हत्या गर्न खोजेको हो,‘ बबिताले भनिन्। 

अनुसन्धानले पनि उनले कुनै डान्सबारमा काम गर्ने देखाएको छैन। 

संगठनको प्रतिवेदन सार्वजनिक हुँदाको दृश्य, संगठनका अध्यक्ष इन्द्र अर्याल र बबिता बमको प्रतिक्रियासहितको भिडियो हेर्नुस्-
 

बबिताले चर्चामा रहेको ओपेरा होटेललाई बाहिरबाट मात्र देखेको र कहिल्यै भित्र नगएको दावी गरिन्। उनले मेयरको भतिजा र एसपी विष्टका छोरा किरण विष्ट कसैलाई नचिन्ने पनि बताइन्। 

उनीहरुको कल डिटेल र फेसबुकमा प्रहरीले गरेको अनुसन्धानबाट पनि मेयरका भतिजा र विष्टका छोराबीच सम्पर्क भएको देखिएको छैन।
 
‘पहिले मेयरका छोरा भनेर हल्ला चलाए। पछि छोरा सानो रहेको चाल पाएछन् अनि मेयरका भतिजा भन्न थालेका हुन्। मेरो कसैसँग चिनजान छैन,‘ उनले दावी गरिन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीसँग बम दिदी बहिनी बसेको फोटो पनि आयो। तर, बबिता दावी गर्छिन्- ‘मैले प्रधानमन्त्रीलाई टिभीमा मात्र देखेको हो।‘ 

प्रधानमन्त्रीले भदौ २० गते जनतासँग प्रधानमन्त्री टेलिभिजन कार्यक्रममा बम दिदीबहिनीको पक्षमा बोलेका थिए। 

दिदीको कलेज छुट्यो, बहिनीको स्कूल

कसैले कुनै अपराध गरेको भए पनि अदालतले दोषी प्रमाणित नगरुन्जेल ऊ अभियुक्तमात्र हुन्छ। तर, बम दिदी बहिनीको हकमा भने यो लागू हुन्न। अधिकांशले बम दिदी बहिनीलाई नै दोषी ठानेका छन्। तर, प्रमाण भने जुट्न सकेको छैन। रोशनी भन्छिन्, ‘अहिले बाटोमा जति पनि मान्छे हिँड्छन् हाम्रो घरमा नै औला र आँखा लगाउँछन्। सबै जना यही घर हो भन्छन्।‘

बबिता फार वेस्टर्न युनिभर्सिटीमा बिबिएस दोस्रो वर्षमा पढ्दै थिइन्। यो घटनाका कारण उनले परीक्षासमेत दिइनन्। साउनदेखि उनी कलेज गएकी छैनन्। 

बहिनी रोशनी पनि घटनापछि स्कूल गएकी छैनन्। उनी पढ्ने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डे भन्छन्, ‘रोशनी स्कूल आएकी छैनन्।‘

नौ कक्षा पढिरहेकी रोशनीलाई अर्को स्कूलमा पढाउनका लागि उनका बुबा सर्टिफिकेट लिन गएका थिए। तर, उनको ट्रान्सफर सर्टिफिकेट विद्यालयले दिएन। 

सर्टिफिकेट दिएमा जे पनि हुनसक्ने चेतावनी पाएपछि स्कुलले सर्टिफिकेट नदिएको एक शिक्षकले बताए। उनले नाम खुलाउन चाहेनन्। 

महेन्द्र बमको सहयोगमा

(निर्मला प्रकरणमा प्रहरीले पीडित परिवार र स्थानीयको विश्वास कसरी गुमायो? एकपछि अर्को गल्ती प्रहरीले कसको प्रभावमा गरिरह्यो? नियोजित थियो कि लापरबाही? पहिलोपोस्टको #WhoKilledNirmala शृङ्खलाको अर्को भागमा। अर्को भाग आइतबार साँझ प्रकाशित हुनेछ)
 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell