PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

प्रधानमन्त्रीले किन मन्त्रीको भन्दा माथिल्लो दर्जामा राखे चर्च प्रमुख'म्याडम डाक्टर मून'लाई?



पहिलोपोस्ट

प्रधानमन्त्रीले किन मन्त्रीको भन्दा माथिल्लो दर्जामा राखे चर्च प्रमुख'म्याडम डाक्टर मून'लाई?

काठमाडौँ : 'म्याडम डाक्टर मून'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टेलिभिजनहरुबाट लाइभ प्रसारण गरिएको हयाट होटेल एसिया प्यासिफिक समिटको उद्घाटन भाषणमा मन्त्रीहरूभन्दा माथि राखेर एउटा नाम सम्बोधन गरे। 

म्याडम डाक्टर मूनपछि मात्रै प्रधानमन्त्रीले अनरेबल मिनिस्टर्स, डिस्टिङगुइस्ड पार्टिसिपेन्टस र लेडिज एन्ड जेन्टलमेनलाई सम्बोधन गरे। 
प्रधानमन्त्रीले मन्त्रीहरूभन्दा पनि माथिल्लो दर्जामा सम्बोधन गरेका म्याडम डाक्टर मून खासमा उनैले आफ्ना पतिसित १७ वर्षको उमेरमा स्थापना गरेको युनिफिकेसन चर्चकी संस्थापक हुन्। उनी आफूलाई यसको 'ट्रु मदर' भन्न रुचाउँछिन्। तर प्रधानमन्त्रीले उनलाई म्याडम डाक्टर मून भनिदिए।  

यो चर्चसित अमेरिकामा करिब दर्जन व्यापारिक कम्पनीहरूको स्वामित्व छ, जसको सम्पत्ति डेढ अर्ब डलर जति छ। दक्षिण कोरियामा यो चर्चसित टोङ्गिल ग्रुपको स्वामित्व छ जसले औषधीदेखि हतियारसम्मको व्यापार गर्छ।

त्यस्तै यो चर्चसित १३ वटा दक्षिण कोरियाली सब्सिडरी कम्पनीहरूको स्वामित्व छ जसको सम्पत्ति १ अर्ब ६० लाख डलरभन्दा बढी हुन आउँछ।  

'जिसस क्राइस्टले अधुरा काम गर्न आफूलाई खटाएको दाबी गर्ने' स्वघोषित मसिहा  सन म्युङ मूनको ६ वर्षअघि मृत्यु भएपछि युनिफिकेसन चर्चको विशाल धार्मिक र आर्थिक साम्राज्यमा अहिले 'म्याडम डाक्टर मून' कै नियन्त्रण छ। 

कोरियाको बुसानमा सन् १९५४ मा स्थापना गरिएको युनिफिकेसन चर्चलाई सच्चा क्रिश्चियनहरु पनि मन पराउँदैनन्। यसले क्रिश्चियानिटीमा कन्फ्युसियनिजम र एन्टी कम्युनिज्म जोडेको थियो। तर दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार भएकै नेपालमा यसले सरकारकै सहयोगमा भव्य कार्यक्रम गर्न सफल भइरहेको छ। आज सुरु भएको सम्मेलन भोली पनि हुने छ। 

अहिलेकी 'म्याडम डाक्टर मून' त्यति बेला हान हाक जा नामले चिनिन्थिन्। १४ वर्षको हुँदा मूनले उनलाई देखेका थिए। उनी मूनकै भान्छेकी छोरी थिइन्। तीन वर्षपछि उनीहरूको फेरि भेट भयो र मूनले घोषणा गरे, हामी भोलि बिहे गर्दैछौँ। 

धार्मिक विश्वास अनुसार सृष्टिका पहिला पुरुष 'आदम' र महिला 'इभ' थिए। 'इभ'ले नखानू भनेको स्याउ टिपेर 'आदम'सित बाँडेर खाएको हुन्छ। त्यही पापमा उनीहरुलाई 'गार्डेन अफ इडन'बाट निष्कासन गरिन्छ।  मूनले आफूलाई क्राइस्टको अधुरा काम गर्न पठाएको भन्थे। त्यसैले 'इभ' को पाप चुक्ता आफ्नी १७ वर्षीया दुलहीले गर्नुपर्ने ठाने। 

त्यसपछि २० वर्ष नपुगुन्जेल उनले आफ्नी दुलहीलाई घरमै नजरबन्दमा राखे। आफ्नी दोस्रो पत्नीबाट पूर्ण आज्ञा पालन होस् र चर्चप्रति समर्पित होस् भन्ने उनी चाहन्थे। त्यसैले परिवारसित समेत सम्पर्क गर्न दिएनन्। 

न्युयोर्कको हडसन रिभर भ्यालीको निवासमा यो जोडीले १४ सन्तान जन्मायो- सात छोरा, सात छोरी।

युनिफिकेसन चर्चले पाप मुक्त रगतको नाता भयो भने मात्र असल बच्चा जन्मिने र विश्व राम्रो हुने भन्छ। त्यसैले यसका फलोअरहरुले आफ्नो बिहे कोसित गर्ने भन्ने रोजाइ चर्चलाई नै छाडिदिन्छन्। 

विवाह गरे हुन्छ भनेर मूनले अनुमति दिएपछि के के गर्नुपर्ने भन्नेबारे मूनको युनिफिकेसन चर्चले निर्देश नै तयार पारेको थियो। जसमध्ये एउटामा नव विवाहित दम्पतीले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मूनको चित्र अगाडि निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने उल्लेख छ। 

उनी भन्ने गर्थे - विवाहितले मात्रै भगवानको राज्यमा प्रवेश पाउँछन्।

तर पाप मुक्त रगतको नाताबाट जन्माएको दाबी गरे पनि स्वयं मून दम्पतीका सन्तानहरूको हालत भने ठिक भएन। 

म्याडम डाक्टर मूनका जेठा छोरा ह्यो जिनको डिभोर्स भयो। उनकी पूर्वपत्नीले सन् १९९८ मा एउटा किताब लेखिन् जसमा उनले आफ्ना पूर्व पति कोक र पोर्नको एडिक्ट भएको उल्लेख थियो। हर्ट अट्याक भएर एक दशकपछि उनको मृत्यु भयो। 

म्याडम डाक्टर मूनको पाप मुक्त सन्तान गुमेको यो चौथो थियो। उनको एउटा सन्तान सानो हुँदै बितेको थियो। एउटा छोरा कार दुर्घटनामा मारिए। अर्को सन्तानले आत्महत्या गर्योक। 

कार दुर्घटनामा मारिएका छोराको बिहे भएको थिएन। बिहे गरेकोले मात्रै भगवानको राज्यमा प्रवेश पाउँछ भन्दै आएका मूनलाई अप्ठेरो पर्यो।। उनले मरिसकेपछि पनि छोराको बिहे गराइदिए। 

छोराछोरीहरूलाई राम्रोसँग हुर्काउन नसकेको आरोप लागे पनि ७४ वर्षीय यी म्याडम डाक्टर मूनलाई उनका फलोअरहरु 'सह-मसिहा' कै रूपमा पुज्छन्, मुन 'फादर', म्याडम डाक्टर मुन 'मदर'।

यिनै 'मदर' ले भोलि आइतबार प्रधानमन्त्रीसहित मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलगायतलाई आशीर्वाद दिने कान्तिपुरले लेखेको छ। कान्तिपुर लेख्छ, 'त्यसपछि उनीहरू ‘मुन परिवारको अंग बन्ने सम्भावना रहने’ आयोजकको दाबी छ।'

(ओजीको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell