
काठमाडौँ : जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको 'पवित्र बिहे' गरेर नयाँ युग सुरु गरेको दावी गर्ने युनिफिकेसन चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीसहित सत्तारुढ नेकपाका दुई अध्यक्षको सम्बोधन रहेको छ। त्यतिमात्र हैन, सभामुख कृष्णबहादुर महराले एउटा सेसनको अध्यक्षतासमेत गर्दैछन्।
पहिलोपोस्टलाई प्राप्त समिटको सेड्युलमा आज डिसेम्बर १ मा ह्याट होटलमा हुने तीन सेसनमध्ये दुई वटामा सरकार र संसदको प्रतिनिधित्व हुँदैछ। नेकपाका एक नेताको पनि त्यसमा सहभागिता छ।
बिहानको पहिलो सेसनमा प्रधानमन्त्री केपी ओलीको सम्बोधन युनिफिकेसन चर्चकी प्रमुख हाक जा हान मून लगत्तै थियो। पूर्व प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपालले यही सेसनमा स्वागत भाषण गरेका थिए। उनी यो सम्मेलन आयोजना कमिटीका अध्यक्ष पनि हुन्।
कार्यक्रमको सञ्चालन गर्ने एकनाथ ढकाल पनि नेकपा नेता हुन्। ढकाल नेपाल परिवार दलका अध्यक्ष थिए। उनको पार्टी चुनावअघि नेकपा एमालेमा विलय भएको थियो। उनी एमालेको समानुपातिक सूचीमा समेत थिए। एमाले माओवादीसँग एकीकृत भएपछि उनी पनि अहिले सत्तारुढ ने क पाका नेता हुन्।
विशिष्ट अतिथिहरु यस्ता-
बिहानको सत्रमा आठ जनाको की नोट स्पिच राखिएको छ। उनीहरुको पृष्ठभूमि यस्तो छ-• हुन सेन : यिनी कम्बोडियाका मात्र हैन, विश्वकै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका व्यक्ति हुन्। सन् १९८५ देखि उनी प्रधानमन्त्री छन्।

• आङ सान सुकी : म्यानमारका स्टेट काउन्सेलर सुकी नोबल विजेता पनि हुन्। तर रोहिंगा शरणार्थीप्रति दमन र अत्याचार हुँदा चुप बस्ने यिनको विश्वमा कडा आलोचना हुँदै आएको छ।

• बारोन वाका : नाउरुका राष्ट्रपति। काठमाडौँको एउटा निर्वाचन क्षेत्रकोभन्दा पनि कम जनसंख्या (११ हजार २ सय) रहेको यो एउटा टापु देश हो जसलाई पहिले प्लिजेन्ट आइल्यान्डको नामले चिनिन्थ्यो।

• मारिया लियोनोर राब्रेडो : फिलिपिन्सका उपराष्ट्रपति।

• भालेटोआ सुआलाउभी टुइमालेएलिफानो : समोआका राष्ट्रप्रमुख।

• लाकोबा टेइया इटालेली : टुभालुका गभर्नर जनरल। टुभालु अर्को टापु राष्ट्र हो जसको जनसंख्या ११ हजार चानचुन छ।

• एचडी देवेगौडा : भारतका पूर्वप्रधानमन्त्री। भारतमा सन् १९९६ को चुनावमा कांग्रेसको पराजय र कुनै पार्टीले बहुमत ल्याउन नसक्दा साना पार्टीहरुको एउटा मोर्चाले कांग्रेसकै समर्थनममा सरकार बनाउँदा उनी अप्रत्याशित रुपमा प्रधानमन्त्री बनेका थिए।

• सइद युसुफ रज्जा गिलानी : पाकिस्तानका पूर्व प्रधानमन्त्री। यिनकै प्रधानमन्त्री कालमा भारतको मुम्बईमा आतंकवादी आक्रमण भएको थियो जुन घटनाले भारत र पाकिस्तान झण्डै युद्धको स्थितिमा पुगे। सन् २०१२ मा पाकिस्तानको सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री पदमा रहन अयोग्य ठहर गरेपछि उनी पदबाट हट्नु परेको थियो।

पहिलो सेसनको विषय Addressing the Critical Challenges of our Time: Interdependence, Mutual Prosperity and Universal Values राखिएको छ।
सभामुख महराको अध्यक्षता
दिउँसो २ बजेदेखि सुरु हुने दोस्रो सत्रमा सभामुख कृष्णबहादुर महराले अध्यक्षता गर्दैछन्। यसको विषय शान्ति, विकास, सुशासन र सांसदको भूमिका राखिएको छ।महरा अध्यक्षताको सेसनमा पालाउ,टोङ्गा, मार्सल आइल्यान्ड, भानुआटु जस्ता विश्व राजनीतिमा कुनै महत्त्व नराख्ने टापु राष्ट्रहरुको प्रतिनिधित्व छ। यो सेसनमा लाओसको संसदका अध्यक्ष पानी याथोटोउ, पालाउका पूर्व राष्ट्रपति जोन्सन टोरिबियोङ, टोङ्गाका सभामुख लर्ड फाटाफेही फाकाफानुआ, मार्सल आइल्यान्डको संसदका उपसभामुख जेजवारिक आन्टोन, कोलम्बियाका पूर्व राष्ट्रपति आरांगो, इरानका पूर्व उपराष्ट्रपति हस्सन, मार्सल आइल्यान्ड्सका पूर्व राष्ट्रपति क्रिस्टोफर जे लोइक, भानुआटुका पूर्व राष्ट्रपति एटि जर्ज सोकोमानु रहेका छन्।
आजको तेस्रो सेसन Addressing the Critical Challenges of our Time: The Role of Faith-Based Organizations and Civil Society राखिएको छ। यसमाः श्रीलंकाको बोधिराजा धम्म स्कूलका प्रिन्सिपल हेमरतना, न्युजिल्यान्डको चर्चका गुरु नाइसाली, भारतका डा. शिवमूर्ति शिवाचार्य महास्वामी, कजाखस्तानका मुस्लिम नेता मिनुआरोभको सहभागिता हुनेछ।
समर्थनको वक्तव्य दिनेमा नेपालमा हिन्दूको तर्फबाट डा. चिन्तामणि योगी, इसाईका तर्फबाट बिशप पल सिमिक र शिखका तर्फबाट प्रितम सिंह रहेका छन्।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको सम्बोधन भोलि हुँदैछ जसमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रमुख अतिथि बनाइएको छ।