काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगमा शतप्रतिशत नतिजा हात पार्ने एक मात्र टोली बन्दै एक दिनपछि नै अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ।
लिग अन्तर्गत शनिवार भएको खेलमा मनाङले सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेको हो। यस सिजन खेलेको सबै पाँच खेल जित्ने मनाङ एक्लेको छोली हो। लगातार पाँच जितपछि १५ अंक जोडेको मनाङ थ्री स्टारलाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो।
हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा मनाङले दुबै गोल दोस्रो हाफमा गरेको हो। ५५औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। ६८औँ मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले मनाङको लागि दोस्रो गोल गरे।
उक्त गोलपछि अन्जन र ओलावाले सर्वाधिक गोल गर्नेमा रन्जन विष्टसँगै अगाडी छन्। तीन खेलाडीले अहिलेसम्म समान ४ गोल गरेका छन्। रन्जन र अन्जन दाजुभाई हुन्।
यस जितपछि मनाङले पाँच खेल खेल्दा दुई खेलमा क्लिनसिट राख्न सफल भएको छ। यसअघि मनाङले एनआरटी विरुद्ध पनि २-० को जित हात पारेको थियो भने अन्य तीन खेलमा गोल खाएको थियो। मनाङले ब्रिगेड ब्वाइजलाई ३-१ ले, थ्री स्टार एपीएफलाई समान २-१ ले पराजित गरेको थियो।
लिगमा पाँच खेल खेलिसकेको थ्री स्टार र संकटाले समान १२ अंक जोडेका छन्। गोलअन्तरमा थ्री स्टार दोस्रोमा छ भने संकटा तेस्रोमा छ। दुबैले चार खेलमा जित र एक हारको नतिजा निकालेका थिए।
लिग अन्तर्गत आइतवार दुई अपराजित टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पाबीच खेल हुँदैछ। चार खेलबाट दुबै टोलीले समान १० अंक जोडेका छन्।