PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

गगन थापाको त्यो ढुंगो : के त्यति शक्तिशाली थियो र सरकार थर्कियो?



विधुर ढकाल

गगन थापाको त्यो ढुंगो : के त्यति शक्तिशाली थियो र सरकार थर्कियो?

काठमाडौं : यतिबेला काठमाडौंमा एउटा विवादित धार्मिक संस्थाको सम्मेलन चलिरहेको छ। सम्मेलनमा नेपाल सरकारसमेत सहभागी छ। 

सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका राजनीतिक नेतृत्वसँगै उच्चपदस्त अधिकारीहरु आएका छन्। यो सम्मेलन अवधिभर यातायातको व्यवस्थापनका लागि सरकारले चार दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको थियो। तर, सो प्रणाली दुई दिन पनि टिकेन। 

बिहीवारदेखि लागू भएको यो प्रणाली शुक्रवार बिहान १२ बजेसम्म पनि टिक्न सकेन। सरकारले लागू गरेको प्रणालीको चौतर्फी विरोध भयो। सार्वजनिक रुपमा अवज्ञा हुने अवस्थासमेत सिर्जना भयो। 

यो प्रणाली लागू भएकै दिन नेपाली कांग्रेसका युवा नेता गगन थापाले त्यसको अवज्ञा गर्न सार्वजनिक रुपमा आह्वान गरे। भलै उनको राजनीतिक आधार रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसबारे औपचारिक रुपमा कुनै सम्बोधन गरेको थिएन।
 
युथ कंग्रेस नेपालले वक्तव्य जारी गर्दै जोर विजोर प्रणालीको अवज्ञा गर्न आह्वान गर्यो। त्यसैलाई सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै गगनले पनि प्रणालीको अवज्ञा गर्न आह्वान गरे।

सरकारको सही कामका लागि भोकै बस्न तयार हुनुपर्छ भन्दै गलत कामको अवज्ञा गर्नुपर्ने उनले तर्क दिएका थिए। 

'सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ,' उनले ट्वीटमा लेखेका थिए, 'तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ। सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं।'

सांसद थापाले प्रणालीको अवज्ञा गर्न आह्वान गरेकै दिन सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारको कदमको बचाउ गरे। उनले जनतालाई सास्ती भएको त स्वीकार गरे तर प्रणालीको बचाउन गर्न भने छाडेनन्। 

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल सम्मेलनको आयोजक नभए पनि सम्मेलनमा सहजिकरण गर्नु सरकारको दायित्व भएको भन्दै सरकारको कदमको बचाउ गरे। 'नेपालमा यति ठूलो सम्मेलन आयोजना हुँदैछ। सहजिकरण गर्ने नेपाल सरकारको दायित्व हो,’ उनले भनेका थिए, ‘दुई देशका प्रमुखहरु यहाँ आउनु भएको छ। नेपाल र ती देशबीच द्वीपक्षीय भेटवार्ता र छलफल हुँदैछ। उहाँहरुको सुरक्षाको दायित्व नेपाल सरकारको हो।’

‘हो, यो प्राणालीले सर्वसाधारणलाई सास्ती भएको छ,’ पत्रकारहरुको जिज्ञासामा उनले थप भने, ‘के गर्नुहुन्छ, हाम्रो अवस्था यस्तै छ? सडक साँघुरा छन्। कहिँ कतै बनाइँदै छ। भत्काईँदै छ। यसले पनि थप सास्ती भएको हो। फेरि विदेशी पाहुनाहरुको सुरक्षा पनि हाम्रो जिम्मेवारी हो।’ 

चारैतिर सरकारको आलोचना भइरहेका बेला उनले विदेशी पाहुना आउनै नहुने भन्ने संक्रिण मानसिकता त्याग्नुपर्ने समेत बताए। उनले गगन थापाको विरोधलाई 'भिडमा ढुंगा हानेको' आरोप लगाएका थिए। 

‘खजाना नपाएपछि ढुंगो टिपेर भिडमा फाले,’ मन्त्री बाँस्कोटाले भनेका थिए, ‘यति भएपछि सर्वसाधारणले प्रतिक्रिया जनाउने नै भए।’ 

आफ्नै पार्टीलाई प्रश्न गर्नसमेत गगन थापालाई उनले सुझाव दिएका थिए। ‘उहाँले उहाँकै पार्टीलाई भन्नुहोस्। उहाँको पार्टी पनि सम्मेलनको एउटा सदस्य हो। सम्मेलनको सह-आयोजक आइक्याप छ। त्यसको सदस्य नेपाली कांग्रेस पनि हो। यो कुरा उहाँले आफ्नो पार्टीमा भन्नुपर्छ,’ मन्त्री बाँस्कोटाले भनेका थिए। 

उनले सडक साँघुरो भएकोले भीभीआइपीलाई सुरक्षा र सुविधाका लागि यस्तो गरिएको बताएका थिए।

'कम्बोडियाका प्रधानमन्त्री, म्यानमारका स्टेट काउन्सिलर आउँदा राम्रो गरे पर्यटक बढ्नेछन्,’ उनले भनेका थिए, ‘लाखौँ लाख पर्यटक आए हाम्रै देश बन्ने त होला। सरकारले गोजीमा त हाल्दैन होला नि?’

तर, उनले जसरी सरकारको बचाउ गर्दै गगनमाथि सानो ढुंगा फालेको आक्षेप लगाए, व्यवहारमा सरकार त्यही ढुंगाबाट तिलमिलाए झै भयो।
 
उनले यसरी सरकारको बचाउ गरेको १८ घण्टा पनि सकारको यो कदम टिकेन। जोर बिजोरको विरोधमा दिनभर आलोचना भइरह्यो। शुक्रवार विहानैदेखि अवज्ञा नै सुरु हुन थाल्यो। गगनले अवज्ञा गर्न आह्वान गरेपछि ठाउँठाउँबाट नेपाल विद्यार्थी संघका युवाहरु उत्रिए – अवज्ञा र्याली निकाल्न। प्रहरीले ठाउँठाउँबाट अवज्ञा गर्नेलाई पक्राउ गर्न पनि थाल्यो। तर, अवज्ञा गर्ने क्रम बढ्न थालेपछि सरकार बाध्य भयो र जोरविजोर प्रणाली खारेज गर्‍यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell