PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

विवादास्पद चर्चको सम्मेलनमा आज प्रचण्ड प्रमुख अतिथि, नेपाली मिडिया हाउसका साहु पनि वक्ता 



पहिलोपोस्ट

विवादास्पद चर्चको सम्मेलनमा आज प्रचण्ड प्रमुख अतिथि, नेपाली मिडिया हाउसका साहु पनि वक्ता 

काठमाडौँ: आफूले आफैलाई जिसस क्राइस्टकी छोरी भन्ने हाक जा हानको सम्बोधनसँगै हिजोदेखि सुरु भएको विवादास्पद युनिफिकेसन चर्चको एसिया प्यासेफिक समिटमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथि बन्दैछन्।

क्रिश्चियानिटीबाट मात्रै ईश्वरको उद्देश्य पुरा हुन्छ भन्दै प्रधानमन्त्रीकै अगाडि हानले नेपालमा ईश्वरीय राष्ट्रको स्थापना गर्न आह्वान गरेकी थिइन्।

आजका तीन सेसनमध्ये ९ बजेदेखि सुरु हुने पहिलो सेसनमा क्लाइमेट चेन्जको विषयमा छलफल हुनेछ। यो सेसनमा नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली सहभागी हुँदैछन्।

कार्यक्रममा किरिबाटी, मार्सल आइल्यान्ड जस्ता साना टापु देशका प्रतिनिधि सहभागी हुँदैछन्। त्यसैगरी न्युजिल्यान्डको चर्चका गुरु पनि यसमा सहभागी हुनेछन्। क्लाइमेट चेन्जसम्बन्धी काठमाडौँ घोषणापत्र पनि सार्वजनिक गर्ने तयारी छ।

साढे ११ बजे सुरु हुने दोस्रो सेसन मिडिया सम्बन्धी छ।  अहिलेको समयका चुनौतीको सम्बोधनमा मिडियाको भूमिका विषयक सेसनमा नेपालका पत्रकारहरू हैन, लगानीकर्ता र व्यवस्थापकको मात्र प्रतिनिधित्व छ।

यो सत्रमा नागरिक र रिपब्लिका दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र कार्यकारी निर्देशक समृद्धि ज्ञवाली दुवैले सात-सात मिनेट सम्बोधन गर्दैछन्। उनीहरु बाबु छोरी हुन्।

नेपाल रिपब्लिक मिडिया विवादास्पद युनिफिकेसन चर्चको मिडिया विभागबाट प्रकाशित हुने पत्रिकाहरुसँग भगिनी सम्बन्ध गाँसेको संस्था हो।

२०७४ चैत १२ गते नागरिक दैनिकमा नेपाल रिपब्लिक मिडियाले जापानी पत्रिका सेकाई निप्पोसित भगिनी सम्बन्ध स्थापना गरेको समाचार प्रकाशित गरेको थियो।

सेकाई निप्पो स्वामित्व न्युज वर्ल्ड कम्युनिकेसन्स इन्क  नामक कम्पनीसँग छ जसको कार्यालय अमेरिकाको वासिङटन डिसीमा छ।

न्युज वर्ल्ड कम्युनिकेसन्स दक्षिण कोरियाली विवादास्पद क्रिस्चियन धर्मगुरु सन म्युङ मून र उनकी पत्नीद्वारा स्थापित युनिफिकेसन चर्च अन्तर्गतको मिडिया विभाग हो जसले उनको ‘डिभाइन प्रिन्सिपल’ लगायत विचारहरूको वकालत गर्छ।

मूनको मृत्यु भइसकेपछि अहिले यसको स्वामित्व अहिले नेपाल आएकी आफूलाई जिससकी छोरी भन्ने हानसित छ।

युनिफिकेसन चर्चको स्वामित्वमा रहेको न्युज वर्ल्ड कम्युनिकेसन्स अन्तर्गत अरु पनि थुप्रै मिडियाहरू छन्।

रिपब्लिक मिडियाले २०७२ मा दक्षिण कोरियाको ‘द स्यागी टाइम्स’ सँग भगिनी सम्बन्ध गाँसेको थियो।


द स्यागी टाइम्स’ पनि चर्चकै स्वामित्वमा रहेको न्युज वर्ल्ड कम्युनिकेसन्सकै पत्रिका हो।

अमेरिकाको वासिङटन टाइम्स पनि यही चर्चकै स्वामित्वमा रहेको पत्रिका हो।

मिडियाको सेसनको अध्यक्षता वासिङटन टाइम्सकै अध्यक्ष टम म्याकडेभिटले गर्नेछन्। वक्ताहरुमा सेकाइ निप्पो जापानका अध्यक्ष मासाहिरो कुरोकी, कोरियाको सेगेइ इल्बोका अध्यक्ष, फिलिपिन्सको पिपल्स टेलिभिजन नेटवर्कका अल्जो बेन्डिजो, कम्बोडियाको सूचना विभागका उपनिर्देशक लगायत छन्।

नेपाली मिडियाबाट नेपाल रिपब्लिक मिडियाको मात्र सहभागिता भए पनि सरकारी मिडियाले भने यो विवादास्पद सम्मेलनलाई निकै महत्त्व दिएको छ। सूचना विभागले सूचना प्रकाशित गर्दै सरकारी समाचार एजेन्सी राससले निःशुल्क फोटो र समाचार र नेपाल टेलिभिजनले निःशुल्क भिडियो वितरण गर्ने जनाएको छ।

कार्यक्रमको रिपोर्टिङका लागि आयोजकहरुले नै छानेका मिडिया र पत्रकारलाई मात्र प्रवेश दिइएको छ। पहिलोपोस्टलाई कार्यक्रम आयोजना स्थलमा प्रवेश पास दिइएको छैन। 

दिउँसो २ बजे सुरु हुने शान्ति सम्बन्धी सेसनको प्रमुख अतिथि प्रचण्डलाई बनाइएको छ। यसमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्नेछन्। नेपालका लागि भारतका पूर्व राजदूत केभी राजनले काठमाडौँ घोषणापत्र सार्वजनिक गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell