
काठमाडौं : २ वर्षअघि पत्रकार सुव्रतराज आचार्य कान्तिपुर साप्ताहिकमा काम गर्थे। पत्रिकाको विक्केन्ड पेजका लागि उनी सँधै नाइट लाइफ हेर्न हिँड्थे। नाइट लाइफसँगै उनले नियाल्थे विभिन्न घट्नाहरु। पछि तीनै घटनाहरु उनेर उनले कथा बनाए। सोही कथामा आधारित फिल्म हो 'सुश्री सम्पत्ति'।
सुनाए, 'पोखरमा 'डि सिने अवार्ड' हुँदा 'मनोरञ्जन' शिर्षकमा फिल्म बनाउने निर्णय गरेका थियौं। त्यतिबेला केहि कारणले गर्दा हामीले फिल्म बनाउन सकेनौं। त्यहि प्लटलाई अलिकति सिंगारेर 'सुश्री सम्पत्ति' बनाएँ।'
फिल्मको सबै छायाँकन पोखरामा भएको हो। पोखराको नाइट लाइफमा आधारित छ फिल्म। फिल्मको 'हुकुम बक्सिओस्' बोलको गीतको छायाँकन भने काठमाडौंमा भएको हो। फिल्म सोसल कमेडी विधामा बनेको छ।
फिल्ममा सारा शिर्पाली, सलोन बस्नेत, बिनोद न्यौपाने, र प्रमोद अग्रहरीको मुख्य भुमिकामा छन्। सुव्रतले सलोन र बिनोद फिल्मको हिरो नभइ फिल्मलाई अघि बढाउने पात्र मात्र रहेको बताए। उनले भने 'सलोन र बिनोदलाई हिरोको रुपमा प्रस्तुत गरेका छैनौं। उनीहरु फिल्मको हिरो होइनन् पात्र मात्र हुन्।'
उनले फिल्मबारे अन्य पत्रकारहरुबाट पनि सल्लाह लिएको बताउँछन्। उनलाई फिल्ममा सारालाई अनुबन्धित गर्न पत्रकार एवं 'प्रसाद' लेखक सुशिल पौडेलले सुझाएका थिए।
उनी पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त थिए। 'बाँच्न पनि पर्यो। त्यसैले पत्रकारिताबाट पर रहेर म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहें। म्यूजिक भिडियोले मलाई बचाइरहेको छ', उनले सुनाए।
उनको पत्रकारिताको लामो यात्रा छ। तर फिल्म निर्देशनमा उनले धेरै समय बिताएका छैनन्। उनले 'अधकट्टी'बाट फिल्म क्षेत्रमा डेब्यू गरेका हुन्। डेब्यू फिल्मदेखि 'सुश्री सम्पत्ति'मा आइपुग्दा उनले प्रविधिमा धेरै परिवर्तन पाए। तर म्यूजिक भिडियोमा काम गरिरहँदा आफूलाई प्रविधि सिकाइ मिलेको बताउँछन् आचार्य। उनले भने 'अधकट्टीमा गरेको गल्ती नदोहोर्याउँ भन्ने भयो। मलाई लगानी गर्नेको पैसा उठाइदिनुपर्छ भन्ने लागेको छ। त्यही हिसाबले नै फिल्म बनाएको छु।'
उनको पहिलो फिल्म 'अधकट्टी' ४ वर्षअघि सार्वजनिक थियो।
सुटिङ मै ५ सिन परिवर्तन
फिल्मको स्क्रिप्टमा मिहिनेत धेरै गर्नुपर्ने बताउँछन् उनी। 'अझै पनि हाम्रोमा स्क्रिप्टलाई समय दिन सक्दैनौं। 'सुश्री सम्पत्ति'को छायाँकनमा जानु अघिमसम्म म त स्क्रिप्टमै व्यस्त थिएँ। यथार्थ के हो भने फिल्मको वर्कशपमा जाँदा ५ सिन त लेख्नै बाँकी थियो। फिल्मको अन्त्य राम्रो होस् भनेर इन्डिङ सिन मैले पोखरामा परिवर्तन गरें,' उनले भने 'सुटिङ गर्दै जाँदा ५ सिनलाई परिवर्तन गर्यौं। स्क्रिप्टमा लगानी गरौं। स्क्रिप्ट भए मात्र फिल्म राम्रो बन्छ।'
फिल्म सुरुमा २ घण्टा १० मिनेट लामो बन्यो। पछि उनीहरुले फिल्मलाई १ घण्टा ५० मिनेटको बनाएका छन्। निर्देशक आचार्य फिल्मको कन्टेन गम्भिर रहेको दावी गर्छन्। 'फिल्मको भित्री विषय बलियो छ। सलोन र बिनोदसँगै कथा बग्छ।'
फिल्मको प्रदर्शन मिति अघि सरेर मंसिर २८ मा पुगेको छ। फिल्मको लागि प्रचार धेरै समय रहेन। निर्देशक आचार्यले भने 'पब्लिसिटीमा चुकेका नै हौ।'